तेस्रो हारसँगै नेपालको सेमिफाइनल सम्भावना सकियो

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल ‘ए’ले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० सिरिजमा तेस्रो हार व्यहोरेको छ । बिहीबार भएको खेलमा नेपाल किंग्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो।

बिहीबार डार्बिनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको किंग्समेनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९८ रनको लक्ष्य दियो । प्रत्युत्तरमा नेपाल १९.२ ओभरमा अलआउट हुँदा मात्र १६६ रन बनाउन सक्यो । 

यो हारसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको छ । तेस्रो हार व्यहोरेको नेपाल पाँच खेलबाट चार अंकका साथ सातौँ स्थानमा छ । जित निकालेको किंग्समेन समान खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लियो । 

सुरुआती दुई खेलमा नर्दन टेरिटोरी स्टाइक र बंगलादेश हाई प्रफर्मेन्स टोलीसँग पराजित नेपालले त्यसपछि होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

यता, पहिलो खेलमा अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको किंग्समेनले त्यसपछि भिक्टोरिया क्रिकेट संघ र नर्दन टेरिटोरीसँगको खेल गुमाएको थियो ।  किंग्समेनले पछिल्लो खेलमा भने न्युजिल्यान्ड ‘ए’लाई पराजित गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान गरे । उनले ४६ बलमा ६ चौका र चार छक्का प्रहार गरेका हुन् । लोकश बमले ३८, नारायण जोशीले १२, रासिद खान र कप्तान अनिलकुमार साहले ११–११ तथा विपिन खत्रीले १० रन बनाए । 

किंग्समेनका स्कट कुगेलाइन र उस्मान मिरले समान तीन, अली शेखले दुई तथा उमर खान र कप्तान हम्माद अजामले समान एक विकेट लिएका थिए । 

यसअघि किंग्समेनका सेहन जयसूर्याले सर्वाधिक ६७ रनको योगदान गरे । उनले ४४ बलमा पाँच छक्का र चार चौका प्रहार गरे ।  सेहन जहाँगिरले २७, हम्माद अजामले अविजित २६, मिलिन्द कुमारले २५, तैयब आरिफले २३ र अली शेखले २२ रन बनाए । 

नेपालका नारायण जोशीले दुई तथा रासिद खान, पवन सर्राफ र कुशल भुर्तेलले  समान एक विकेट लिएका थिए ।

सुझावित समाचार