केन्द्रीय सदस्यहरूलाई रविको निर्देशन : बितेका ३५ वर्षको हिसाब गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुस्

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

मन्त्री, सांसद र पार्टी नेताहरूकै कतिपय गतिविधि र अभिव्यक्तिमा असन्तुष्ट सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले जनअपेक्षाअनुसार काम गर्न सिद्धान्तनिष्ठ राजनीतिक प्रतिबद्धता आत्मसात् गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।

नवनिर्वाचित केन्द्रीय सदस्यका लागि रास्वपाले आयोजना गरेको दुईदिने प्रशिक्षणको समापनमा आइतबार सम्बोधन गर्दै लामिछानेले पार्टी नीति र नेतृत्वका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका हुन् । साथै, उनले देशको भविष्य बदल्ने नेता बन्न पनि सुझाव दिएका छन् । सभापति लामिछानेले क्षमता, विज्ञता र योग्यताले मात्र नभई सफल राजनीतिज्ञ हुन त्यही स्तरको राजनीतिक प्रतिबद्धता खाँचो हुने बताए ।

‘नीति विचारमा सिद्धान्तनिष्ठ भएर काम गरौँ भन्ने सिंगो समाजको अपेक्षा छ । नेता चुनाव र पदकेन्द्रित हुँदै जाँदा त्यसको प्रभाव समाजमा परेको छ । प्रतिबद्धताको अभाव छ । क्षमता, विज्ञता र योग्यतामा धेरै अब्बल भए पनि राजनीतिक प्रतिबद्धता चाहिन्छ,’ लामिछानेले भने । आन्तरिक शक्तिसन्तुलनका नाममा रास्वपाको केन्द्रीय समितिमा गैरराजनीतिक व्यक्तिसमेत निर्वाचित वा मनोनीत भएको सन्दर्भमा सभापति लामिछानेले कसैको नाम नलिई उनीहरू लक्षित टिप्पणी गरेको देखिएको छ । 

परिवर्तनको राजनीतिक प्रतिबद्धताकै कारण आफूले ०७९ को संसद्मा प्रधानमन्त्रीको अफर अस्वीकार गरेको पनि लामिछानेले दाबी गरे । उनले यसलाई राजनीतिक प्रतिबद्धताको उदाहरणका रूपमा बुझ्नसमेत आग्रह गरे ।

‘एक समय यस्तो थियो, मलाई २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियो । भइदिऊँ त भन्दा त्यति गाह्रो थिएन । तर, त्यतिखेर एउटै कुरा दिमागमा आयो– यो आन्दोलन, यो आशा र भरोसा कहाँ जाने ? म दुई–चार महिना प्रधानमन्त्री बन्थेँ होला । धेरै नै धेरै भए सिंहदरबारमा एउटा तस्बिर झुन्डिन्थ्यो होला । तर, देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, परिवर्तन कुरेर बसेको थियो । यस्तो होनहार मान्छे कुरेर बसेको थियो । मसँग त्यो अधिकार थिएन,’ उनले भने, ‘साँचो नै भन्नुपर्दा, मलाई त्यतिखेर त्यो महसुस भएको थियो । आज म यहाँ गर्वका साथ भन्न सक्छु– त्यसपछि प्रधानमन्त्री पदलाई मैले हाँसी–हाँसी, किस्तीमा आएजस्तो गरेर नमस्कार गरेको हुँ । किनकि यो आन्दोलन र यो मोमेन्टलाई कुर्नु थियो । मैले यति कुरा त्यागी भनेर भन्न खोजेको होइन, यति प्रतिबद्धता चाहिन्छ भनेर भन्न खोजेको हुँ ।’ 

सभापति लामिछानेले जे–जसरी अहिले देशको जिम्मेवारी रास्वपाको काँधमा आएको छ, त्यो नेताहरूको लाभमा प्रयोग हुन नहुने बताए । यसका लागि पनि इमानदारिता, योग्यता र क्षमतासँगै राजनीतिक प्रतिबद्धता चाहिने उनको भनाइ थियो । राजनीति आफ्नै पोल्टामा आइसकेको भन्दै उनले त्यसलाई व्यक्तिगत लाभका लागि प्रयोग नगर्न नेतृत्वलाई सचेत गराए ।

‘तपाईंको इमानदारिता, योग्यता र क्षमतालाई चुनौती दिन मसँग केही धेरै योग्यता छैन । तर, राजनीतिमा कतै न कतै त्यो प्रतिबद्धता, आँट, साहस र हिम्मत हामीसँग हुनुपर्छ । भोलि आउने चुनावमा यहाँ भएका साथीहरूले कुनै कारणले टिकट पाउनुभएन भने सबैभन्दा पहिले मलाई फेसबुकमा गाली गरेर केही निस्किनु पनि हुनेछ होला । त्यस्तो पनि हुन सक्छ । तर, त्यो धेरै हुन्छ कि हुँदैन भन्ने कुराले सताउँछ । जसोतसो राजनीति त हाम्रो पोल्टामा आइपुग्यो । तर, यो हाम्रो लाभमा प्रयोग नहोस्,’ लामिछानेले भने । 

सभापति लामिछानेले विगत ३५ वर्षमा के भयो भनेर दोषारोपण गर्नुभन्दा अबको ३५ वर्ष कस्तो बनाउने भन्ने योजना बनाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए । ‘हिजो हामीले दोष लगाउने कैयौँ मान्छेहरू थिए, कैयौँ नेता थिए, जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अलग देखाउन हामी सक्छौँ । आज कसलाई दोष देखाउने ? हामीले दोष देखाउनुपर्ने कुरा छैन,’ उनले भने, ‘अब यो ३५ वर्षको हिसाब गर्ने होइन । अबको ३५ वर्षको योजना ल्याउनुस् । अब बितेको ३५ वर्षका लागि उहाँहरूलाई कसुरत गर्ने ठाउँमा हामी छैनौँ । जति सक्यौँ, ग¥यौँ । धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने, हाम्रै हातमा छ ।’

सभापति लामिछानेले देशमा रहेका संस्थाहरूले आ–आफ्नो काम गरिरहेको भए पनि अबको ३५ वर्षमा देशलाई कहाँ लैजाने भन्ने स्पष्ट दृष्टिकोण र योजना आवश्यक रहेको बताए । शिक्षा नीति कस्तो हुने, आमनागरिकले आफ्नो नेतृत्वबाट के पाउने, विकास र वैदेशिक नीति कस्तो हुने, अर्थतन्त्रले कुन आकार ग्रहण गर्ने तथा सामाजिक लोकतन्त्रको अभ्यासबाट कस्ता उपलब्धि हासिल गर्ने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्ने समय आएको उनको भनाइ छ । लामिछानेले आगामी दिनका लागि स्पष्ट दृष्टिकोण, नीति र कार्ययोजना बनाउन नेतृत्वको ध्यान जानुपर्ने बताए । 

लामिछानेले आफ्नो कारणले पार्टीका कुनै पनि सदस्यको शिर झुक्न नदिने प्रतिबद्धता जनाउँदै केन्द्रीय सदस्यहरूबाट पनि त्यही प्रतिबद्धता खोजेको बताए । ‘इतिहासले दिएको यो जिम्मेवारीबाट हामी कतै विचलित त हुँदै छौँ ? जानेर वा नजानेर, झुकेर वा हामीबाट भएका क्रियाकलापले मुलुकको लोकतन्त्र कमजोर नबनोस् । यो हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने, ‘आफ्नो कारणले पार्टीका कुनै पनि सदस्यको शिर झुक्न दिन्नँ । स्थानीय तहको निर्वाचन आउनै लागिसक्यो । केन्द्रमा अलमलिनुभन्दा गाउँ–टोलमा गएर के काम गरिरहेका छौँ, अब के गर्नेछौँ भनेर जनतालाई जानकारी गराउनुस् । यो गरिएन भने धेरै कुरामा पछि पर्नुपर्ने अवस्था आउन सक्छ ।’

उनले सरकारजस्तै विपक्षी पनि बलियो रहेको बताए । ‘अहिले सरकार मात्र होइन प्रतिपक्षी झन् बलियो छ । बलियो प्रतिपक्षीसँग राजनीतिक तवरले काम गर्न सकेनौँ भने त्यसले अर्कै ठाउँमा लिएर जान्छ । यसपटक पनि वर्षाैँदेखि देखिएको सपना पूरा गर्न सकेनौँ भने मुलुक एउटा हिरासतमा पर्न सक्छ,’ उनले भने ।

सरकारको नियत र नीतिमा समस्या नरहेको भन्दै सभापति लामिछाने सुशासनको मुद्दा उठाएको रास्वपा सरकारले कुनै एक ठाउँमा अनियमितता गरेको प्रश्न नउठेको र यो सबैभन्दा ठुलो कुरा भएको बताए । ‘आज तिमीहरूले भ्रष्टाचार गर्यौ, तिमीहरूको यो काण्ड भयो, तिमीहरूले यहाँ अनियमितता गर्यौ भनेर एकजनाले पनि भन्न सकेका छैनन् । यो दिन हाम्रा लागि सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने । 

हप्ता–दश दिनमा आफू मधेश जान लागेको र अन्य नेताहरूले जनताको गुनासो सुन्न देशैभरि जाने सभापति लामिछानेले बताए । ‘हामी देशैभरि जानेछौँ । पार्टी पूर्ण चलायमान हुनेछ । यसबिचमा सरकारका कामकारबाहीमा आमनागरिकले सोधेका हरेक प्रश्नको जवाफ र समाधान हामीसँग हुनुपर्छ । त्यसका लागि तयार रहनुहोला,’ उनले निर्देशन दिए । 

लामिछानेले सरकारको पहिलो वर्षको कामलाई लिएर आमनागरिकबाट धेरै गुनासो नआएको दाबी गरे । ‘ती नागरिक, जसले घरमा परिवारसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू सरकारले भ्रष्टाचार गरेको छैन भनेर नबोली बसिरहेका छन् । उनीहरू बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ,’ उनले भने, ‘उनीहरूलाई बोल्ने दिन आउन नदिनु जिम्मेवारी तपाईंहरूको हो ।’ 

उनले स्थानीय तह निर्वाचनमा ‘क्लिन क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अक्षरशः पालना गरेर उम्मेदवार छनोट गरिने स्पष्ट पारे । ‘पार्टीले अनुमोदन गरेका दस्ताबेजको अक्षरशः पालना हुन्छ । पार्टीले बनाएको विधि, निर्देशिका र नियमावलीको अक्षरशः पालना हुन्छ । विभिन्न बहानामा बाहिर जान सक्दैनौँ,’ उनले भने । आगामी निर्वाचनमा व्यक्तिगत पहुँच वा सिफारिसका आधारमा उम्मेदवारी पाउने भ्रममा नपर्न पनि उनले चेतावनी दिए । ‘आउने चुनावमा तपाईं उम्मेदवार हो भनेर कसैले भनेको छ भने त्यसले नराम्रोसँग ठग्दै छ । असाध्यै नराम्रोसँग । अझ त्यसका लागि कसैले झुक्याएर केही लेनदेन गरेको छ भने तपाईंको लगानी नराम्रोसँग डुब्छ,’ उनले भने ।

  • हिजो हामीले दोष लगाउने कैयौँ मान्छेहरू थिए । कैयौँ नेता थिए, जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । आज कसलाई दोष देखाउने ?बितेका ३५ वर्षको हिसाब गर्ने होइन । अबको ३५ वर्षको योजना ल्याउनुस् । 
  • मलाई २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियो । भइदिऊँ त भन्दा त्यति गाह्रो थिएन । तर, त्यतिखेर एउटै कुरा दिमागमा आयो– यो आन्दोलन, यो आशा र भरोसा कहाँ जाने ? म दुई–चार महिना प्रधानमन्त्री बन्थेँ होला । धेरै नै धेरै भए सिंहदरबारमा एउटा तस्बिर झुन्डिन्थ्यो होला । तर, देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, परिवर्तन कुरेर बसेको थियो । त्यसपछि प्रधानमन्त्री पदलाई मैले हाँसी–हाँसी, किस्तीमा आएजस्तो गरेर नमस्कार गरेको हुँ । 
  • ती नागरिक, जसले घरमा परिवारसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू सरकारले भ्रष्टाचार गरेको छैन भनेर नबोली बसिरहेका छन् । उनीहरू बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ । उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मेवारी तपाईंहरूको हो ।
  • आउने चुनावमा तपाईं उम्मेदवार हो भनेर कसैले भनेको छ भने त्यसले नराम्रोसँग ठग्दै छ । असाध्यै नराम्रोसँग । अझ त्यसका लागि कसैले झुक्याएर केही लेनदेन गरेको छ भने तपाईंको लगानी नराम्रोसँग डुब्छ ।

सुझावित समाचार