बागमतीमा ६ मन्त्री नियुक्त, दुई मन्त्रालय मुख्यमन्त्रीमातहत

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार एमाले, नेकपा र राप्रपाबाट ६ मन्त्री नियुक्त गरेका हुन्। नियुक्तिपछि प्रदेश प्रमुख देवकोटाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

नयाँ सत्तागठबन्धनअन्तर्गत एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री नियुक्त भएका छन्।

मन्त्रालयको जिम्मेवारी बाँडफाँटअनुसार भरतबहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गर्ने भएका छन्। नेकपाका सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। राप्रपाका गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

एमालेका ज्ञानबहादुर तामाङलाई भने तत्कालका लागि विनाविभागीयमन्त्री बनाइएको छ। प्रदेश सरकारका आठ मन्त्रालयमध्ये कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री थापाले आफूमातहत नै राखेका छन्।

नयाँ सरकारमा एमालेले दुई, नेकपाले एक र राप्रपाले तीन मन्त्रालय पाएका छन्। बाँकी मन्त्रालयको जिम्मेवारी तथा सरकार विस्तारबारे सत्तागठबन्धनभित्र थप छलफल हुने जनाइएको छ।

सुझावित समाचार