पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चल्न नसकेका होलान् ?
कुनै पनि आयोजना सम्पन्न भएपछि सञ्चालन हुन र प्रतिफल दिन त्यसको ‘प्लानिङ’ निकै चुस्त हुनुपर्छ । पोखरा र गौतम बुद्ध विमानस्थलको हकमा हेर्दा ‘टेक्निकल प्लानिङ’ राम्रो बनेको तर ‘बिजनेस प्लानिङ’ भने खासै नबनेकोजस्तो देखियो । यसरी प्रस्ट बिजनेस प्लानिङविनै आयोजना अघि बढाउनु दुस्साहस हो । यस्तो दुस्साहसले कहिलेकाहीँ त राम्रै परिणाम पनि दिन सक्छ । तर, कहिलेचाहिँ दुःखद परिणाम ननिम्त्याउला भन्न सकिन्न । विमानस्थल बनिसकेपछि सञ्चालनका लागि ‘एयर रुट’ चाहिन्छ भन्ने सबैलाई पहिल्यै थाहा थियो । त्यसका लागि पहिल्यै किन कूटनीतिक पहल गरिएन ? अनि, गौतम बुद्ध विमानस्थल बनिसकेपछि श्रमिकले श्रम गन्तव्यमा जानुभन्दा पहिले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका लागि आवश्यक ‘डेस्क’ भैरहवामै किन व्यवस्था गरिएन ? सबै प्रक्रिया काठमाडौंबाटै पूरा गर्नुपर्ने भएपछि को जान्छ उड्नका लागि मात्र भैरहवा ?
यी विमानस्थल चल्न सक्दैनन् भन्ने पूर्वानुमान किन नगरिएको होला ?
पूर्वानुमान गर्नैपर्ने हो । पूर्वानुमानविना आयोजना अघि बढाउँदा यस्तै समस्या आउन सक्छ । सामान्यतः कुनै पनि आयोजना कति वर्षका लागि बनाउने ? कस्तो बनाउने, कति क्षमताको बनाउने, बनिसकेपछि कसरी सञ्चालन गर्ने, त्यसका लागि प्राविधिकलगायत विविध पाटामा केकस्ता समस्या आउन सक्छन्, विदेशी विमान कम्पनीलाई आकर्षित गर्न सकिन्छ कि सकिन्न ? यी सबै पाटामा राम्ररी अध्ययन गरी तयारी गरिनुपर्थ्यो । तर, यहाँ यी पाटामा त्यति ध्यान पुगेको देखिएन ।
पोखरा र गौतमबुद्ध विमानस्थलको नियति भविष्यमा अन्य आयोजनाले भोग्नुपर्ने अवस्था आउन नदिन के गर्नुपर्ला ?
कुनै पनि आयोजना निर्माणपूर्व त्यसका प्राविधिक, सामाजिक, वातावरणीय, व्यापारिकलगायत सबै पक्षमा ध्यान दिनुपर्छ । आफ्नो पालामा बनेको भनेर शिलालेखमा नाम लेखाउने हुटहुटी पूरा गर्न मात्र आयोजना अघि बढाउनु हुँदैन । आयोजना बनिसकेपछिको बिजनेस प्लान राम्रो बनाउने हो भने यस्तो समस्या आउँदैन ।