युक्रेनमा निर्वाचनको माग

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

केहीअघि बर्खास्त गरिएका युक्रेनका लोकप्रिय रक्षामन्त्रीले देशमा राष्ट्रपति चुनाव गराउन माग गरेका छन् । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गत महिना हटाएका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले निर्वाचन हुनुपर्ने माग गरेका हुन् ।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ चुनाव भएको छैन । सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएका जेलेन्स्कीको कार्यकाल मे सन् २०२४ मै सकिएको हो । तथापि, रुसले आक्रमण गरेको अवस्थामा देशमा ‘मार्सल ल’ लागू भएका कारण  निर्वाचन भएको छैन । 

मंगलबार राति एक भिडियो सन्देश जारी गर्दै फेदोरोभले ‘लामो युद्धबिच पनि युक्रेनले प्रजातान्त्रिक अभ्यास त्याग्न नहुने’ बताए । ‘हाम्रो लोकतन्त्रलाई रुसको बन्धक बनाउन दिनुहुँदैन । खासमा यो युद्ध नै हामी स्वतन्त्र युरोपेली राज्य हुन पाउनुपर्छ भनेर नै लडिरहेका हौँ,’ नौ मिनेट लामो भिडियोमा फेदोरोभले भनेका छन् । 

फेदोरोभले जेलेन्स्कीको नाम नलिए पनि वर्तमान राष्ट्रपतिले अत्यन्त खराब नेतृत्व गरिरहेको पनि आरोप लगाएका छन् । युक्रेनले संकटकालको समयमा पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उनले बताए । 

जुलाई महिनामा फेदोरोभलाई रक्षामन्त्रीबाट बर्खास्त गरेपछि युक्रेनमा ठुलो विरोध प्रदर्शन भएको थियो । युद्धभूमिमा नयाँ प्रविधिको विकास गर्न प्रेरित गरेको श्रेय पाएका लोकप्रिय मन्त्री फेदोरोभको पछिल्लो टिप्पणीले जेलेन्स्कीमाथि देशभित्रै थप दबाब पारेको छ । 

उनलाई हतियार खरिद र ड्रोन उत्पादन तीव्र पारेको तथा निकै अपारदर्शी मन्त्रालयको कर्मचारीतन्त्रमा सुधार ल्याएको श्रेय दिइन्छ । पछिल्ला महिनामा उनको मन्त्रालयले ठुलो संख्यामा उत्पादित ड्रोन प्रयोग गरेर आफूभन्दा ठुलो र बढी साधनस्रोत भएको रुसलाई अप्ठ्यारोमा पारेको मानिन्छ । ३५ वर्षीय फेदोरोभ गत जनवरीमा मात्र नियुक्त भएका थिए । तर, जेलेन्स्कीले फेदोरोभ र युक्रेनका शीर्ष जनरल ओलेक्सन्डर सिर्सकीबिच मतभेद बढेकाले मिलेर काम गर्न नसकेको भन्दै उनलाई हटाएका थिए ।

See More On

सुझावित समाचार