सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तालाई तीव्रता दिएको दाबी गरे पनि प्रगति भने नगन्य देखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघले समस्याग्रस्त घोषणा गरेका २३ सहकारीमा ७६ हजार ३९९ बचतकर्ताको रकम फसे पनि नयाँ सरकार गठनयता १० हजारसम्म बचत भएका तीन हजार १७८ जनाले मात्रै फिर्ता पाएका छन् । यो कुल बचतकर्ताको ४.१५ प्रतिशत मात्रै हो ।
फिर्ता हुनुपर्ने रकमको तथ्यांक हेर्दा प्रगति विवरण झन् नाजुक छ । समितिका अनुसार समस्याग्रस्त सहकारीमा बचतकर्ताको ४५ अर्ब पाँच करोड ४५ लाख रुपैयाँ फसेकोमा हालसम्म चार करोड २० लाख ५३ हजार आठ सय मात्रै फिर्ता भएको छ । जुन कुल फिर्ता गर्नुपर्ने रकमको ०.०९ प्रतिशत मात्रै हो ।
समिति अध्यक्ष डिल्लीराज आचार्यले सहकारीपीडितको बचत रकम फिर्ता गर्ने कार्यले उल्लेख्य प्रगति गरेको बताए । ‘समितिले छोटो अवधिमै तीन हजारभन्दा धेरै बचतकर्ताको रकम फिर्ता गरेको छ । अब उनीहरूको सबै हिसाब चुक्ता भइसक्यो । उनीहरूलाई १० हजारका दरले बचत रकम फिर्ता गरेका हौँ । अब बचत रकम फिर्ता पाउनुपर्ने बचतकर्ता कति छन् ? त्यस विषयमा नसोध्नुहोस् । तैपनि सोधिहाल्नुभयो । मलाई यकिन तथ्यांक त याद छैन । मेरो विचारमा त्यस्तै ७४ हजारजति होलान् ।’
समितिको तथ्यांकअनुसार यस अवधिमा २४४ ऋणीबाट जम्मा ६ करोड ६९ लाख १३ हजार २३८ रुपैयाँ असुल भएको छ । तर, ऋण असुल गर्नुपर्ने ऋणी २६ हजारभन्दा धेरै रहेका छन् । समितिले ठुला ऋणी पहिचान गरेर ऋणी, जमानीकर्ता र परिवारका सदस्यको बैंक खाता रोक्का गर्ने कार्यलाई तीव्रता दिएको छ । तर, आशातीत प्रगति भने हुन सकेको छैन ।
समिति अध्यक्ष आचार्यले भने, ‘समस्याग्रस्त सहकारीका वास्तविक ऋणी कति छन् ? मसँग त्यसको यकिन तथ्यांक त छैन । २६–२७ हजारजति होलान् । यस अवधिमा ऋण असुली पनि तीव्र रूपमा भइरहेको छ । केही सातामा हामी यकिन तथ्यांकसहित पुस्तक नै निकाल्छौँ ।’
सरकारले १५ जेठदेखि समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको थियो । त्यसयता ६ लटमा चार करोड २० लाख ५३ हजार आठ सय रुपैयाँ बाँडिएको छ । सहकारी तथा वित्तीय समस्या समाधान राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीले बचतकर्ताको १० हजार रुपैयाँ फिर्ता गरेर खास पीडितको समस्या समाधान नहुने बताए ।
‘सरकारले अहिलेसम्म १० हजार रुपैयाँका दरले तीन हजारभन्दा धेरै बचतकर्ताको रकम फिर्ता गरेको भन्दै आएको छ । संख्या हेर्दा त यो निकै ठुलो देखिन्छ । तर, वास्तविकता त्यस्तो होइन । समितिकै तथ्यांक हेर्दा समस्याग्रस्त सहकारीका मात्रै ७६ हजारभन्दा धेरै पीडित छन् । उनीहरूको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी छ । तर, अहिलेसम्म जम्मा चार करोड फिर्ता भएकाले खास समस्या समाधान हुन सकेको छैन ।’
विगतका सरकारले एक हजार २१९ बचतकर्ताको ८३ करोड ६५ लाख २० हजार ८७४ रुपैयाँ फिर्ता गरेका थिए भने ५३ करोड ७१ लाख ७३ हजार १४३ रुपैयाँको हिसाब मिलान गरिएको थियो । अहिलेसम्म सबै गरी फिर्ताको प्रगति विवरण जम्मा २.०९ प्रतिशत मात्रै छ ।