पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूहरूले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको बताएका छन्। सिंगापुरबाट स्वदेश फर्किएपछि वक्तव्य जारी गर्दै देउवाले यस्तो बताएका हुन्।
‘मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु। म स्पष्ट रूपमा भन्न चाहन्छु– नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ। विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ।
जेन–जी आन्दोलनका क्रममा आफूले भौतिक पीडा सहे पनि आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा त्यतिवेला नै राखेको देउवाले स्मरण गराएका छन्।
तर, परिवर्तनको अर्थ विगत खराब थियो भन्ने नभएको प्रस्ट पार्दै उनले भनेका छन्, ‘परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रा पुस्ताको त्याग, बलिदान र संघर्ष खराब थियो भन्ने होइन। हाम्रो पुस्ताले लामो समय लोकतन्त्र, स्वतन्त्रता, विभिन्न जातजाति, क्षेत्र, समुदायको अधिकारका लागि लड्नुपर्याे। मुलुकमा पद्धति बनाउन समय खर्चिनुपर्याे। विगतका यी ऐतिहासिक कामलाई नकारात्मकता फैलाउने भाष्य कोही पनि सच्चा नागरिकका लागि स्वीकार्य हुँदैन।’
देउवाले आफूहरूबाट भएका कमी–कमजोरीलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो आवश्यक रहेको धारणा राखेका छन्। ‘लोकतन्त्रमा सत्ता अस्थायी हुन्छ, तर जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुन्छ,’ उनले भनेका छन्।