जनकपुरमा पनि साहुकारको ज्यादती : ६ लाख ऋणको एक करोड ६१ लाख तिर्दा पनि घर लिलाम

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

धनुषाका मिटरब्याजी साहुकार गोपाल साहले ६ लाख ऋणको एक करोड ६१ लाख तिर्दा पनि ऋणीको घर कब्जा गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका– ४ की ५० वर्षीया फूलकुमारी रजकले केही वर्षअघि श्रीमान्लाई विदेश पठाउन र छोराको विवाहका लागि साहसँग ६ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋणको ग्यारेन्टीस्वरूप जनकपुरधाम– ४ मा रहेको आठ धुर जग्गामा बनेको आठकोठे घर दृष्टिबन्धकमा राखेकी थिइन् । आफूले पटक–पटक गरी एक करोड ६१ लाख ८१ हजार ९३३ रुपैयाँ बुझाइसक्दा पनि घर फिर्ता नगरेको उनले बताइन् । 

ऋण तिरेको भर्पाइ (साहुको हस्ताक्षर र औँठाछापसहित) आफूसँग सुरक्षित रहेको रजकले बताइन् । यसअघि जिल्ला प्रशासन कार्यालयको अनुचित लेनदेन शाखामा छलफल भएको थियो । छलफलमा साहले सो घर जानकी फाइनान्समा धितो राखी ६० लाख ऋण लिएको र सो चुक्ता गरेर घर फिर्ता दिने आश्वासन दिएका थिए ।

तर, महिनौँ बित्दा पनि घर फिर्ता नगरेपछि रजकले प्रहरीमा ठगी मुद्दा दर्ता गराइन् । उनी पक्राउ पनि परे । सो मुद्दामा जिल्ला अदालत धनुषाले साहु गोपाल साहकै पक्षमा फैसला गरेपछि आफूहरू घरबारविहीन भएको उनले रुँदै बताइन् । ‘५–६ लाखको एक करोड ६१ लाखभन्दा बढी तिरेँ, तर जिन्दगीभरको कमाइ घर फिर्ता पाउन सकिनँ । आर्थिक अभावका कारण उच्च अदालतमा पुनरावेदन गर्न पनि सकिनँ । अब कहाँ जाने ? कसको सहारामा बस्ने ? त्यसैले बाँच्ने रहर छैन,’ उनले आक्रोश व्यक्त गरिन् । आर्थिक अभावका कारण आफूले उच्च अदालतमा पुनरावेदन गर्न नसकेको रजकले बताइन् ।

जनकपुरधामस्थित जिल्ला अदालत धनुषाअगाडि बुधबार दिउँसो एक मिटरब्याजपीडित महिलाले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी छिन् ।

बुधबार धुनषा जिल्ला अदालत परिसरअगाडि मिटरब्याजपीडितले नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका वेला रजकले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास पनि गरिन् । नजिकै तैनाथ प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई रोकेपछि सम्भावित दुर्घटना टरेको छ । आत्मदाह प्रयासपछि केही समय अदालतपरिसर तनावग्रस्त बनेको थियो ।

अदालतबाहिर प्रदर्शन गर्ने अन्य पीडितमा मिथिला नगरपालिका– ६ का कृष्णलाल दास र विदेह नगरपालिका– ८ का पूर्व वरिष्ठ प्रहरी गोविन्द साहलगायत थिए ।

अन्य पीडितको पनि उस्तै छटपटी, साहुकारविरुद्ध अदालतमा मुद्दा
साहु गोपाल साह, उनका दाजु बलराम साह, भाउजू रेखा साह र भतिजा हरेराम साहविरुद्ध रजकबाहेक अन्य नौजना पीडितले ठगी मुद्दा दर्ता गराएका छन् । २४ दिनअघि प्रहरीले गोपाल, रेखा र हरेरामलाई पक्राउ गरेको थियो भने बलराम फरार छन् । बुधबार उनीहरूविरुद्ध अदालतमा थुनछेक बहस भइरहेको थियो ।

साहुविरुद्ध मुद्दा दायर गर्नेमध्येका एक कृष्णलाल दासले आफूहरूले न्याय पाउनुपर्ने बताए । उनले छोरीको विवाहका लागि ०८१ वैशाखमा साढे १२ लाख ऋण लिँदा १३ धुर जग्गा ग्यारेन्टी राखेका थिए । दासले साढे १० लाख रुपैयाँ बुझाइसकेका छन् । बाँकी पैसा बुझाएर जग्गा फिर्ता माग्दा महाजनले सो जग्गा फाइनान्समा राखेर ऋण निकालेको थाहा पाएपछि उनले मुद्दा हालेका हुन् ।

त्यस्तै, दाससँगै बहरू राउत अमात्य पनि अदालत पुगेका छन् । पूर्वशिक्षकसमेत रहेका अमात्यले छोराको उपचारका लागि ०५७ मा दुईपटक गरी एक लाख दुई हजार रुपैयाँ ऋण लिएका थिए । अमात्यको ग्यारेन्टीबापत लगिएको ४६ कठ्ठा १३ धुर जमिन साहुले अन्यत्रै बेचिदिएका छन् । दुई लाखको कपाली तमसुकसमेत बनाएर छलछाम गरिएपछि उनको करिब १० करोड मूल्यबराबरको सम्पत्ति गुमेको छ । न्याय खोज्दाखोज्दै शिक्षण पेसा छुटेको र छोराहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको उनले बताए ।

धनुषाको विदेह नगरपालिका– ८ का गोविन्द साहले कामविशेषका लागि ०८१ मा साहसँग ९९ लाख रुपैयाँ ऋण लिएका थिए । जग्गा दृष्टिबन्धकमा राखी कपाली तमसुक गरेर उक्त ऋण लिएको प्रहरीका पूर्वएसएसपी साहले बताए । दृष्टिबन्धकमा रजिस्ट्रेसन गरिदिएको जग्गा महाजनले आफूहरूलाई जानकारी नै नदिई बैंकमा धितो राखी चार करोड रुपैयाँ ऋण लिएको गोविन्द साहले आरोप लगाए । मिटरब्याजी साह परिवारले विभिन्न कृषि फार्म खोलेर त्यसको नाममा कृषि ऋण लिने र चर्को ब्याजदरमा जग्गा रजिस्ट्रेसन पास गराएर ऋण दिने काम गर्दै आएको उनले आरोप लगाए । साह परिवारले आफूजस्तै दर्जनौँ परिवारलाई ऋण दिएर उठीवास लगाएको उनले आरोप लगाए ।

मिटरब्याजको समस्या समाधान, दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै पीडित लामो समयदेखि आन्दोलनमा छन् । साह परिवारविरुद्धको मिटरब्याजसम्बन्धी मुद्दाको थुनछेक बहस बिहीबार पनि जारी रहनेछ ।

See More On

सुझावित समाचार