भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एकजनाको मृत्यु

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

बर्दियामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। गुलरिया–नेपालगन्ज  हुलाकी सडकखण्डमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा बढैयाताल गाउँपालिका–  २ का ५५ वर्षीय  गणेशप्रसाद पाण्डेको मृत्यु भएको हो।

हुलाकी सडकखण्डको बढैयाताल गाउँपालिका– ३ भोलागौडीमा भारतीय नम्बर प्लेटको बिआर ०२ सिबी २५२८ नम्बरको कारले भे.१४ प ८९८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर  मोटरसाइकलचालक पाण्डेको टाउको र पेटमा चोट लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

घाइते पाण्डेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेलबासेले बताए।

दुर्घटनामा संलग्न कारचालक बारबर्दिया नगरपालिका– ३ का २९ वर्षीय राघव ढकाललाई कारसहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

सुझावित समाचार