नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गरेका कमजोरीको जिम्मा प्रधानमन्त्रीको मात्र नहुने बताएका छन्।
३५ वर्षको नाममा अरू पार्टीका सबैलाई दोष दिएर रास्वपाले वर्तमान सरकारको कमजोरीमा प्रधानमन्त्रीलाई मात्र देखाएको भन्दै थापाले यस्तो बताएका हुन्।
‘केही कुरा बोल्दै गर्दा हामीले ३५ वर्षको जिम्मा लिनुपर्ने। तर, अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुँदा प्रधानमन्त्रीले मात्र जिम्मा लिनुपर्ने?’ पार्टीको केन्द्रीय समिति बैठकमा थापाले प्रश्न गरे, ‘त्यहाँचाहिँ प्रधानमन्त्री भएकाले मात्र जिम्मा लिनुपर्ने, हामीचाहिँ सबैले लिनुपर्ने?’
कांग्रेस आफ्नो पालामा भएका कमजोरीको जिम्माबाट नभाग्ने सभापति थापाले प्रस्ट्याए। चार महिनामा सरकारको काम मात्र नभई प्रतिपक्षका रूपमा कांग्रेसले गरेका कामको समेत समीक्षा हुने उनको भनाइ छ।