प्रेरक प्रसंग : बर्नार्ड साको ठट्टा

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

जर्ज बर्नार्ड सा अंग्रेजी साहित्यका सिद्धहस्त सर्जक हुन् । हत्तपत्त कसैको निम्तो स्विकारेर भोजमा सरिक हुने स्वभाव उनको थिएन । उनी शाकाहारी थिए । अधिकांश भोजमा मासुका अनेकथरी परिकार सजाइएका हुन्थे । त्यसैले, उनी सकभर यस्ता भोजमा सहभागी बन्नबाट उम्किने उपाय निकालिहाल्थे । सकभर धेरैजसो अनुरोध हाँसेरै टारिदिने उनको स्वभावै बनिसकेको थियो ।

एक सज्जनले एउटा भोजमा सहभागी भइदिन सालाई पटकपटक अनुरोध गरे । ती सज्जनले बारम्बार गरेको आग्रह टार्न उनलाई कठिन भयो । त्यसैले, बर्नार्डले ती सज्जनको आग्रह स्विकारेर उनले आयोजना गर्ने भोजमा सहभागी बन्न स्वीकृति दिए । तर, भोजको दिन आउनुअघि नै बर्नार्डले पहिल्यै स्पष्ट गरिदिए कि उनी मांसाहारी हुन् । यसका साथै, उनले मांसाहारीसँगै एउटा टेबलमा बसेर पनि आफूले खाना नखाने प्रस्ट पारिदिए । उनले आफूजस्तै शाकाहारीका लागि अलग्गै टेबलको व्यवस्था गरिदिन ती सज्जनलाई आग्रह गरे । सज्जनले उनको इच्छालाई ध्यानमा राख्ने आश्वासन दिए ।

अन्ततः भोजको दिन आइपुग्यो । निर्धारित समयमै सा भोज आयोजना स्थलमा पुगे । उनी अरू शाकाहारीसित मिलेर टेबलमा राखिएका खाना खान थाले । उनलाई ध्यानपूर्वक हेरिरहेका एक मांसाहारी सज्जनले उनलाई चोट पुर्याउने ध्येयले भने, ‘महोदय, तपाईं त घाँसपात पो खाइरहनुभएको छ त । जनावरले खाने घाँसपात तपाईं किन खाइरहनुभएको छ ? कुखुरा खानुस् न, कुखुरा ।’ हाजिरजबाबीमा सा पोख्त थिए । उनले मौका नगुमाई ती मांसाहारी सज्जनलाई जवाफ दिए, ‘हेर्नुस् महासय, मेरो पेट कुनै चिहान होइन । त्यसैले, म यसमा किन कुनै मुर्दालाई राखूँ ?’ साको तिखो जवाफपछि ती सज्जन निरुत्तर भए भने भोजमा आएका बाँकी मानिस भने मन खोलेर हाँस्न थाले ।

सुझावित समाचार