विद्युत् नियमन आयोगले घरायसी उपभोक्ता वर्गलाई पनि समय र मौसमअनुसार फरक–फरक विद्युत् महसुल लगाउन निर्देशन जारी गरेको छ । आयोगले शुक्रबार ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ जारी गर्दै मौसमी महसुल दर निर्धारण गर्न भनेको हो ।
यो निर्देशनसँगै अब नेपाल विद्युत् प्राधिकरण र बुटवल पावर कम्पनीले मौसमी दरसहितको नयाँ महसुल दर अनुमोदनका लागि विद्युत् नियमन आयोगमा पेस गर्नुपर्नेछ । त्यसपछि आयोगले सार्वजनिक सुनुवाइसमेत गरेर त्यो स्वीकृति गर्नेछ । नेपालमा विद्युत् महसुल दर निर्धारण गर्ने अधिकार आयोगलाई छ । यद्यपि, त्यसमा प्राधिकरण र बुटवल पावर कम्पनीले दर प्रस्ताव गर्नुपर्छ ।
नेपालमा प्राधिकरणले नै उपभोक्तालाई विद्युत् बिक्री गर्दै आएको छ । यद्यपि, बुटवल पावरले पनि स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लाका केही सामुदायिक क्षेत्रमा विद्युत् बिक्री गर्दै आएको छ । ‘अनुमतिप्राप्त व्यक्ति (प्राधिकरण र बुटवल पावर)को वार्षिक आवश्यक आयबमोजिम विद्युत्को औसत आपूर्ति लागत गणना गरी सोको पूर्ण असुली सुनिश्चित हुने गरी विभिन्न उपभोक्ता (सामुदायिक उपभोक्तासमेत) वर्ग समयावधि, मौसम तथा भोल्टेज स्तरअनुसार महसुल दर निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकाको दफा ६ को उपदफा ३ मा भनिएको छ, ‘यसरी महसुल दर निर्धारण गर्दा आयोगले नेपाल सरकारको नीति तथा प्राथमिकताबमोजिम हुने गरी निश्चित उपभोक्ता वर्ग, समयावधि, मौसम तथा भोल्टेजस्तरका आधारमा विद्युत् उत्पादनको दीर्घकालीन सीमान्त लागत सिद्धान्त क्रमिक रूपमा अवलम्बन गर्दै लैजाने नीति अपनाउनेछ ।’
आयोगको अध्यक्ष रामप्रसाद धितालले घरायसी उपभोक्तालाई मौसमी दर लागू गर्ने गरी निर्देशिका जारी गरेको बताए । ‘अब उपभोक्तालाई पनि मौसमी दर लागू गर्नुपर्छ । यो आवश्यक पनि छ । तसर्थ, यो निर्देशिकमार्फत मौसमी दर अनिवार्य गरेका छौँ,’ उनले भने, ‘अब यहीअनुसार विद्युत् प्राधिकरण र बुटवल पावरले नयाँ महसुल दर प्रस्ताव गर्नुपर्छ । त्यसपछि सार्वजनिक सुनुवाइ गरेर त्यो हामी अनुमोदन गर्छाैँ ।’
हाल व्यापारिक तथा उद्योगहरूका लागि मौसमी दर कार्यान्वयन भइरहेको छ । उनीहरूका लागि हिउँद र बर्खामा फरक–फरक महसुल दर छ । त्यसमा पनि साँझ पिक आवर, राति र दिनका लागि फरक–फरक दर छ । तर, घरायसी उपभोक्तालाई भने सदाबहार एउटै दर लागू गरिएको छ । अब सोही मोडेलमा घरायसी ग्राहकलाई पनि मौसमी दर लागू गरिनेछ ।
अब हिउँद र बर्खाका लागि फरक–फरक महसुल दर हुनेछ । त्यसमा पनि दिन (बिहान ५ देखि साँझ ५ बजेसम्म), साँझ (पिक आवर ५ देखि ११ बजेसम्म) र रात (११ देखि ५ बजेसम्म)का लागि फरक–फरक महसुल दर लगाइनेछ । यता नेपाल विद्युत् प्राधिकरणले मौसमी दर लागू गर्न अध्ययन कमिटी बनाइसकेको छ । गत १३ साउनमा प्राधिकरणको सञ्चालक समितिले सञ्चालक सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । समितिलाई १५ दिनको समय दिइएको छ । सोही समितिको प्रतिवेदनका आधारमा मौसमी दर समावेश गरेर अनुमोदनका लागि विद्युत् नियमन आयोग पठाउने प्राधिकरणको तयारी छ । उपभोक्तालाई पनि मौसमी दर लागू हुने गरी नयाँ महसुल निर्धारण प्रस्ताव गरिने सञ्चालक शाहीले बताए ।
यस्तै, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, ०८३, सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची, आव ०८३÷८४ को सरकारको नीति तथा कार्यक्रमलाई समेत आधार बनाएर नयाँ महसुल निर्धारण गर्नुपर्ने बताइएको छ । सरकारले त्यस्ता दस्तावेजमार्फत विद्युत् खपत बढाउने नीति ल्याएको छ । तसर्थ, विद्युत् खपत बढ्ने गरी नयाँ महसुल दर निर्धारण गर्नुपर्ने आयोगका अध्यक्ष धितालले बताए ।प्राधिकरण तथा बुटवल पावर कम्पनीले आफ्नो वित्तीय अवस्था नबिग्रिने गरी नयाँ महसुल दर प्रस्ताव गर्नुपर्नेछ ।
कम्तीमा तीन वर्षमा महसुल दर पुनरवलोकन गर्नुपर्ने
आयोगले कम्तीमा तीन वर्षमा महसुल दर पुनरवलोकन गर्नुपर्ने व्यवस्था गरेको छ । नेपालमा पछिल्लोपटक ०७७ असारमा नयाँ महसुल दर लागू भएको थियो । तर, ६ वर्ष बितिसक्दा पनि त्यो पुनरवलोकन भएको छैन । अब कम्तीमा तीन वर्षमा महसुल दर पुनरवलोकन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
‘वितरण अनुमतिप्राप्त व्यक्तिले महसुल लागू भएको कम्तीमा तीन वर्षमा महसुल निर्धारण निवेदन पेस गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘वितरण अनुमतिप्राप्त व्यक्तिले एक आर्थिक वर्षमा एकपटक मात्र महसुल निर्धारण निवेदन पेस गर्न सक्नेछ ।’
यस्तै, आर्थिक वर्ष सुरु हुनुभन्दा १२० दिनअघि महसुल दर पुनरवलोकनका लागि आयोगमा प्रस्ताव दिनुपर्नेछ । तर, यो चालू आवको हकमा लागू नहुने निर्देशिकामा उल्लेख छ ।
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल भन्छन्– अब उपभोक्तालाई पनि मौसमी दर लागू गर्नुपर्छ । यो आवश्यक पनि छ । तसर्थ, यो निर्देशिकामार्फत मौसमी दर अनिवार्य गरेका छौँ । अब यहीअनुसार विद्युत् प्राधिकरण र बुटवल पावरले नयाँ महसुल दर प्रस्ताव गर्नुपर्छ ।