नेपालगन्ज नाकाबाट एक वर्षमा ८४ करोड २६ लाख ७४ हजार रुपैयाँबराबरको जडीबुटी निर्यात भएको छ । गत आर्थिक वर्ष ०८२/८३ मा नेपालगन्ज नाकाबाट ३७ लाख तीन हजार आठ सय ६१ किलोबराबरका विभिन्न प्रकारका जडीबुटी निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
जडीबुटी निर्यातको यो परिमाण अघिल्लो वर्षको तुलनामा केही बढी भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए । ‘नेपालगन्ज नाका मुलुककै सबैभन्दा बढी जडीबुटी निर्यात हुने नाकाका रूपमा स्थापित भएको छ,’ उनले भने । पछिल्ला केही वर्षयता जडीबुटीको निर्यात पुनः बढ्दै गएको उनले बताए । निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, संकलक र व्यवसायी उत्साहित भएको उनले बताए । आर्थिक वर्ष ०८१/८२ मा नेपालगन्ज नाकाबाट ८३ करोड ६४ लाख ७० हजार रुपैयाँबराबरको जडीबुटी निर्यात भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा ७९ करोड ४८ लाख ८२ हजार रुपैयाँबराबरको जडीबुटी निर्यात भएको उनले जानकारी दिए ।
नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले जडीबुटी निकासी प्रक्रिया सहज हुँदै गएपछि नेपालगन्ज नाकाबाट निर्यात क्रमशः बढेको बताए । ‘कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन तथा संकलन हुने जडीबुटीको भण्डारण तथा विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ,’ उनले भने ।