एकैपटक ४० लाख सिलिन्डर बजारमा आउँदा असहज

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

आयल निगमको व्यवस्थापकीय अक्षमताले काठमाडौं उपत्यकासहित देशभर ग्यास आपूर्ति झन् कठिन बन्दै गएको छ । बजार मागको विश्लेषण नगरी निगमले ३१ असारबाट पूर्ण तौलको सिलिन्डर प्रयोगमा ल्याउँदा अहिले सामान्य अवस्थाको भन्दा बढी ग्यास आयात हुँदा पनि आपूर्ति असहज बनेको हो ।

पूर्ण तौलको सिलिन्डर प्रयोगमा आउनासाथ ग्यासको माग दोब्बर भएको छ । २९ माघदेखि ३१ असारसम्म आधा किलो तौलको ग्यास सिलिन्डर मात्र बजार पठाइएको थियो । जसकारण ४० लाख सिलिन्डर खाली भएर बसेको ग्यास उद्योगी राजेन्द्र डल्लाकोटीले बताए ।

साईबाबा र श्रीकृष्ण ग्यास उद्योगका सञ्चालक डल्लाकोटीले चार महिनामा खाली भएर बसेका ४० लाख सिलिन्डर एकैपटक बजार आउँदा अहिले समस्या भएको बताए । ‘यति ठुलो संख्यामा ग्यास सिलिन्डर बजार आउनुपर्ने होइन । अहिले बजारमा आएका खाली सिलिन्डर आवश्यकताले भन्दा पनि मौज्दात गर्ने प्रयोजनका लागि हुन्,’ उनले भने, ‘उपभोक्ता नअत्तालिने हो भने अहिले आयात भइरहेको परिमाणले मज्जाले पुग्छ ।’ उनले साईबाबा र श्रीकृष्ण ग्यासका लागि विगतमा भन्दा बढी लोडिङ पाइरहेको र अन्य उद्योगले पनि तुलनात्मक रूपमा धेरै ग्यास ल्याइरहेको बताए ।

नेपाली बजारमा डेढ करोडभन्दा बढी ग्यास सिलिन्डर प्रचलनमा रहेको नेपाल आयल निगमको तथ्यांक छ । उपभोक्ताले आगामी दिनमा आपूर्ति झन् अहसज हुने संशय राख्दै घरमा रहेका खाली सिलिन्डर साट्न अत्तालिँदै जहाँ ग्यास पाउने सूचना आउँछ, त्यहीँ लाइन लाग्न पुग्ने गरेका छन् । जसकारण अहिले सामान्य अवस्थासँग तुलना गरेर थोरै बढी मात्र ग्यास आयात गर्दा पनि माग धान्न सकिने अवस्था नरहेको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

तैपनि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग समन्वय गरी जतिसक्दो धेरै ग्यास आयात भइरहेको उनले जानकारी दिए । ‘आयातमा कुनै समस्या छैन । भोलिका दिनमा पनि सहज रूपमा आयात हुन्छ,’ उनले भने, ‘तर, उपभोक्ताको मनोविज्ञान भने घरमा रहेका सबै खाली सिलिन्डर यही वेला भरेर राख्नुपर्छ भन्ने भयो । जसकारण आपूर्ति असहजता निम्तिरहेको छ ।’ 

गत पुस अन्तिम सातादेखि यसरी नै माग वृद्धि भएपछि आयल निगमले २९ माघदेखि लागू हुने गरी आधा ग्यास (७.२ किलोग्राम) भरेर मात्रै सिलिन्डर बजारमा पठाउने व्यवस्था गरेको थियो । जसकारण तत्कालै दोब्बर संख्यामा ग्यास भएको सिलिन्डर बजारमा आपूर्ति हुँदा तत्कालको असहजता हटेको थियो । आधा ग्यास भरिएका सिलिन्डर चार महिनासम्म बिक्री गर्ने व्यवस्था मिलाएर गत ३१ असारबाट पूर्ण तौलको सिलिन्डर लागू गर्दा भने निगमले पूर्वतयारी नगरेको अधिकारकर्मी तिमिल्सिना बताउँछन् ।

See More On

सुझावित समाचार