ग्यास नपाएर भौँतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै

एकैपटक ४० लाख सिलिन्डर बजारमा आउँदा असहज

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण
  • उद्योगबाटै ग्यास खरिद गर्ने उपभोक्तालाई डिलर कमिसन ५० र ढुवानी खर्च ४० गरी प्रतिसिलिन्डर ९० रुपैयाँ छुट हुनुपर्थ्यो, तर उद्योगहरूले खुद्रा मूल्य २०६० मै बेचेर ठगी गरिरहेका छन्
  • टेकुमा नेपाल, एभरेस्ट, सुगम, एचपी र श्रीराम ग्यासको अस्थायी डिपो तथा बालाजु उद्योगपरिसरबाटै नेपाल ग्यास बिक्री

डिलरबाट ग्यास पाउन नसकेर भौँतारिएका उपभोक्तालाई उद्योगहरूले ठगी गरेका छन् । बजारमा ग्यास अभाव भएपछि उपभोक्ताहरू ग्यास खरिद गर्न सिधै उद्योगपरिसरमा पुग्न थालेका छन् । उद्योगहरूले पनि आफ्नो बिक्री केन्द्रमार्फत खुद्रा पसलेकै मूल्यमा प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ शुल्क असुल गरेर उपभोक्तालाई ग्यास बिक्री गरिरहेका छन् ।

उद्योगको गेटबाटै परल मूल्यमा ग्यास बिक्री गरेर उद्योगहरूले उपभोक्तालाई ठगी गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । यदि उद्योगको गेटमै पुगेर कुनै उपभोक्ताले ग्यास खरिद गर्छन् भने प्रतिसिलिन्डर कम्तीमा ९० रुपैयाँ छुट पाउनुपर्ने उनको भनाइ छ । ‘आपूर्ति सहजताको बहानामा उद्योगीले डिलर कमिसन र ढुवानी खर्चबापतको रकम नघटाई उद्योगको गेटबाटै खुद्रा मूल्यमा उपभोक्तालाई ग्यास बेच्ने कुरा गलत हो,’ उनले भने, ‘सरकारको अनुगमनकारी निकाय र आयल निगमले यो विषयमा तत्काल हस्तक्षेप गरी उपभोक्तालाई मूल्यमा पनि राहत दिनुपर्छ ।’

उनको भनाइमा ग्यास विक्रेता महासंघका उपाध्यक्ष विष्णु दुलालले पनि सहमति जनाएका छन् । खुद्रा मूल्यमा नै उद्योगहरूले आफ्नो परिसरबाट ग्यास बिक्री गर्नु गलत भएको ग्यास विक्रेता महासंघका उपाध्यक्ष विष्णु दुलालले बताए । ‘प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ मूल्य निर्धारण गर्दा डिलर कमिसनबापतको २.७५ प्रतिशत पनि जोडेर मूल्य तय भएको हुन्छ । यो भनेको भ्याट कटाएर प्रतिसिलिन्डर ५० रुपैयाँ हुन आउँछ,’ उनले भने, ‘उद्योगले सोझै उपभोक्तालाई ग्यास बिक्री गर्दा डिलर कमिसनबापतको रकम घटाएर दुई हजार १० रुपैयाँ प्रतिसिलिन्डर लिनुपर्ने हो । तर, उद्योगले उपभोक्तालाई लामो लाइन लगाएर बढी रकम असुलिरहेको छ ।’

काठमाडौंको टेकुमा नेपाल, एभरेस्ट, सुगम, एचपी र श्रीराम ग्यासको अस्थायी डिपो राखेर ग्यास बिक्री भइरहेको छ । त्यहाँ उद्योगबाट सोझै ग्यास ल्याएर बिक्री भइरहेका कारण उपभोक्ताले प्रतिसिलिन्डर ५० रुपैयाँ छुटमा खरिद गर्न पाउनुपर्ने दुलालले बताए । त्यस्तै, बालाजु औद्योगिक क्षेत्रभित्र नेपाल ग्यास उद्योगपरिसरबाटै उपभोक्ताले खरिद गर्ने ग्यासमा पनि प्रतिसिलिन्डर ५० रुपैयाँ छुट हुनुपर्ने हो । यति मात्र होइन, उद्योगदेखि ग्यास डिलरसम्म ‘स्थानीय ढुवानी खर्च’बापत प्रतिसिलिन्डर करिब ४० रुपैयाँ हुन आउने रकम पनि छुट नदिई उद्योगीले उपभोक्तालाई परल मूल्यमा ग्यास बेचेर लाभ लिइरहेका छन् । आयल निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले अहिले जसरी पनि ग्यास आपूर्ति सहज गर्ने दिशामा मात्रै ध्यान दिइरहेको बताए । ‘उद्योगको गेटमा वा डिलर जहाँबाट भए पनि उपभोक्तालाई अहिले ग्यास दिइहाल्नुपर्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘अहिले मूल्यमा हस्तक्षेप गर्ने वेला पनि होइन ।’

एकैपटक ४० लाख सिलिन्डर बजारमा आउँदा असहज
आयल निगमको व्यवस्थापकीय अक्षमताले काठमाडौं उपत्यकासहित देशभर ग्यास आपूर्ति झन् कठिन बन्दै गएको छ । बजार मागको विश्लेषण नगरी निगमले ३१ असारबाट पूर्ण तौलको सिलिन्डर प्रयोगमा ल्याउँदा अहिले सामान्य अवस्थाको भन्दा बढी ग्यास आयात हुँदा पनि आपूर्ति असहज बनेको हो ।

पूर्ण तौलको सिलिन्डर प्रयोगमा आउनासाथ ग्यासको माग दोब्बर भएको छ । २९ माघदेखि ३१ असारसम्म आधा किलो तौलको ग्यास सिलिन्डर मात्र बजार पठाइएको थियो । जसकारण ४० लाख सिलिन्डर खाली भएर बसेको ग्यास उद्योगी राजेन्द्र डल्लाकोटीले बताए । साईबाबा र श्रीकृष्ण ग्यास उद्योगका सञ्चालक डल्लाकोटीले चार महिनामा खाली भएर बसेका ४० लाख सिलिन्डर एकैपटक बजार आउँदा अहिले समस्या भएको बताए । ‘यति ठुलो संख्यामा ग्यास सिलिन्डर बजार आउनुपर्ने होइन । अहिले बजारमा आएका खाली सिलिन्डर आवश्यकताले भन्दा पनि मौज्दात गर्ने प्रयोजनका लागि हुन्,’ उनले भने, ‘उपभोक्ता नअत्तालिने हो भने अहिले आयात भइरहेको परिमाणले मज्जाले पुग्छ ।’ उनले साईबाबा र श्रीकृष्ण ग्यासका लागि विगतमा भन्दा बढी लोडिङ पाइरहेको र अन्य उद्योगले पनि तुलनात्मक रूपमा धेरै ग्यास ल्याइरहेको बताए ।

नेपाली बजारमा डेढ करोडभन्दा बढी ग्यास सिलिन्डर प्रचलनमा रहेको नेपाल आयल निगमको तथ्यांक छ । उपभोक्ताले आगामी दिनमा आपूर्ति झन् अहसज हुने संशय राख्दै घरमा रहेका खाली सिलिन्डर साट्न अत्तालिँदै जहाँ ग्यास पाउने सूचना आउँछ, त्यहीँ लाइन लाग्न पुग्ने गरेका छन् । जसकारण अहिले सामान्य अवस्थासँग तुलना गरेर थोरै बढी मात्र ग्यास आयात गर्दा पनि माग धान्न सकिने अवस्था नरहेको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । तैपनि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग समन्वय गरी जतिसक्दो धेरै ग्यास आयात भइरहेको उनले जानकारी दिए । ‘आयातमा कुनै समस्या छैन । भोलिका दिनमा पनि सहज रूपमा आयात हुन्छ,’ उनले भने, ‘तर, उपभोक्ताको मनोविज्ञान भने घरमा रहेका सबै खाली सिलिन्डर यही वेला भरेर राख्नुपर्छ भन्ने भयो । जसकारण आपूर्ति असहजता निम्तिरहेको छ ।’ 

गत पुस अन्तिम सातादेखि यसरी नै माग वृद्धि भएपछि आयल निगमले २९ माघदेखि लागू हुने गरी आधा ग्यास (७.२ किलोग्राम) भरेर मात्रै सिलिन्डर बजारमा पठाउने व्यवस्था गरेको थियो । जसकारण तत्कालै दोब्बर संख्यामा ग्यास भएको सिलिन्डर बजारमा आपूर्ति हुँदा तत्कालको असहजता हटेको थियो । आधा ग्यास भरिएका सिलिन्डर चार महिनासम्म बिक्री गर्ने व्यवस्था मिलाएर गत ३१ असारबाट पूर्ण तौलको सिलिन्डर लागू गर्दा भने निगमले पूर्वतयारी नगरेको अधिकारकर्मी तिमिल्सिना बताउँछन् ।

See More On

सुझावित समाचार