- सामाजिक सञ्जाल र सडकमा देखिने युवाको असन्तुष्टिलाई केवल ‘भाइरल लहर’का रूपमा हेर्नु राजनीतिज्ञका लागि प्रत्युत्पादक साबित हुनेछ
सन् १९९७ मा ओडिसा राज्यमा कांग्रेस नेतृत्वको सरकार थियो । शिक्षामन्त्री थिए— तत्कालीन प्रभावशाली राजनीतिज्ञ भागवतप्रसाद मोहन्ती । कुनै समय प्रजा समाजवादी पार्टीमा आबद्ध भागवतप्रसाद केही समयअघि कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । सन् १९८० र १९९० को दशकमा दुईपटक ओडिसा विधानसभामा निर्वाचित उनको दोस्रो कार्यकालको प्रसंग अहिले भारतमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र विद्यार्थीहरूको आन्दोलनसँग धेरै हदसम्म मेल खान्छ ।
त्यतिवेला उनी शिक्षामन्त्री हुँदा ओडिसाको शिक्षा क्षेत्रमा एउटा ठुलै हंगामा मच्चियो । कक्षा १२ को बोर्ड परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणले देशको राष्ट्रिय राजनीतिमा कम्पन ल्याइरहेको थियो । चुहावटको विरोध र शिक्षामन्त्री मोहन्तीसँग जवाफदेहिताको माग गर्दै भुवनेश्वरमा भेला भएका १,५०० जनामध्ये एक जोशिला युवा अग्रपंक्तिमा थिए । उनले आन्दोलको मोर्चा सम्हालेका थिए । सो घटनाको करिब तीन दशकपछि सामाजिक सञ्जालबाट उदाएको कक्रोच जनता पार्टी (सिजेपी)ले देशव्यापी आन्दोलन गरेर उनै चर्चित राजनीतिज्ञलाई पदच्युत गर्यो । अर्थात् २०२६ को निट परीक्षामा भएका अनियमितताविरुद्धको आन्दोलनकै कारण केन्द्रीय शिक्षामन्त्रीले राजीनामा दिए । दुवै घटनाका एउटै पात्र थिए उनै धर्मेन्द्र प्रधान ।
उत्कल विश्वविद्यालयमा धर्मेन्द्रका सहपाठी रहेका प्रशान्त राउतले एनडिटिभीलाई बताएअनुसार अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी)को अगुवाइमा विद्यार्थीहरू प्रदर्शनमा ओइरिएका थिए । ‘धर्मेन्द्र आन्दोलनको अग्रपंक्तिमा थिए । हामीले ओडिसा सरकारविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थियौँ । यसमा करिब १,५०० विद्यार्थी सहभागी थिए,’ राउतको भनाइ उद्दृत गर्दै एनडिटिभीले लेखेको छ । राउत अहिले आरएमडी डिग्री कलेजमा अध्यापन गर्छन् । सन् २०२६ सम्म आइपुग्दा परिस्थितिमा उल्टो परिवर्तन आएको छ । दुईपटक केन्द्रीय शिक्षामन्त्री भइसकेका धर्मेन्द्रले ५ मेमा सञ्चालित निट परीक्षा र त्यससँग सम्बन्धित अनियमितता प्रक्रियामा देखिएका समस्याका कारण आफ्नो राजीनामा माग गर्दै गरिएका हप्तौँ लामो विरोध प्रदर्शनको सामना गरे । जुन मुद्दा उठाएर उनले आन्दोलन गरेका थिए सत्तामा पुगेपछि त्यसलाई बेवास्ता गरे । जसरी उनले तत्कालीन शिक्षामन्त्री भागवतविरुद्ध उभिएका थिए, त्यसैगरी उनीविरुद्ध विद्यार्थी उत्रिए । अन्ततः आन्दोलनकारीसामु प्रधानले घुँडा टेके । तीन दशकको राजनीतिक यात्रामा उनलाई सबैभन्दा ठुलो राजनीतिक झट्का लाग्यो । लगातारको आन्दोलन र विद्यार्थीको शक्तिसामु मोदीको सत्ता डगमगायो ।
प्रतिबद्धताप्रति हुँदैनन् गम्भीर
जर्नल अफ थ्योरेटिकल पोलिटिक्स’मा प्रकाशित एक शोधपत्रमा वासिङटन विश्वविद्यालयका अनुसन्धानकर्ताद्वय स्नाकेनबर्ग दाजिन किम र गेचुन लिनले निर्वाचनपछि राजनीतिज्ञ आफ्ना प्रतिबद्धताप्रति गम्भीर नभएको बताउँछन् । उनीहरूका अनुसार केही राजनीतिज्ञले निर्वाचनमा असम्भव वाचा बोकेर मतदातासमक्ष पुग्छन्, चुनाव जितेर जान्छन्, अनि शक्तिमा पुगेपछि निरन्तर बेवास्ता गर्छन् । यसले आमजनतामा निराशा मात्रा होइन, आक्रोश र अविश्वास बढ्छ र सर्वसाधारण मानिस डिजिटल माध्यममार्फत नेताविरुद्ध खनिन्छन् । यहाँ निर्वतमान शिक्षामन्त्री धर्मेन्द्र प्रधान र उनीविरुद्धको कक्रोच आन्दोलको उदाहरण काफी छ । सन् १९९७ को निट प्रकरणमा उनले नै विद्यार्थी आन्दोलनको नेतृत्व गरे र प्रहरी दमनमा गम्भीर घाइते भए । आन्दोलनका बलमा स्थापित नेता बनेका उनी शक्तिमा पुगेपछि आफ्ना संघर्ष ती दिन चटक्कै बिर्सिए । अर्को कुरा राजनीतिक वृत्तमा आवश्यकताभन्दा बढी वा अवास्तविक वाचा गर्ने प्रवृत्ति एक अन्तर्राष्ट्रिय अभ्यास बनेको छ । आफू सत्ताबाहिर हुँदा पूरा गर्न नसिकने वाचा वा आश्वासन दिलाएर जनताको सहानुभूति बटुल्न खोज्ने राजनीतिज्ञको अग्निपरीक्षा शक्तिमा पुगेपछि वास्तविक रूपमा सुरु हुन्छ, जुन पास गर्न कतिपय नेतालाई हम्मे पर्छ । केहीले शक्तिमा पुगेपछि युवाहरूको आवाजलाई बेवास्ता गरेका छन् । धर्मेन्द्र प्रधानको राजीनामा प्रकरण यसको पछिल्लो उदाहरण हो । ‘राजनीतिक वृत्त र सरकारका हरेक तहमा आवश्यकताभन्दा बढी वाचा गर्ने प्रवृत्ति सामान्य छ, जसले जुनसुकै वेला अप्रिय परिणाम निम्त्याउन सक्छ,’ स्नाकेनबर्ग भन्छन् ।
नेतृत्वविरुद्ध खनिँदै छ जेन–जी पुस्ता
अहिले संसारका विभिन्न देशमा सरकारविरुद्ध युवाहरूको आक्रोश बढ्दो रूपमा सामाजिक सञ्जालमा पोखेको पाइन्छ । परिवर्तनको माग गर्न, आक्रोश व्यक्त गर्न र अन्यायपूर्ण नियम सच्याउन सरकारविरुद्ध प्रदर्शन गर्ने युवाशैली अनौठो छ । सरकारी भ्रष्टाचार, जीवनयापनको उच्च लागत र आधारभूत स्वतन्त्रतामाथि बन्देजलगायतका विषयमा अनलाइनमार्फत आक्रोश पोख्नु सामान्य बनेको छ । यस्तो आक्रोश बंगलादेशदेखि नेपाल, इन्डोनेसिया, मोरोक्को, पेरु, फिलिपिन्स, क्यामरुन, मदागस्कर हुँदै अहिले भारत पुगेको छ । रोजगारीको अभावले जीवनयापनमा कठिन भइरहेका वेला सार्वजनिक जीवनयापन गरेका व्यक्तिले विलासी जीवन बिताउँदा सर्वसाधारण क्रुद्ध हुनु स्वाभाविक हो । त्यस्तै स्वास्थ्य, शिक्षाजस्ता आधारभूत कुराको अभावका कारण सर्वसाधारणको निराशा आक्रोशमा व्यक्त हुन थालेको छ, जुन विश्वका जुनसुकै सरकारका लागि चुनौती बनेको छ । अहिलेका युवाले इन्टरनेटमा रोक लगाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने वा नागरिकको आवाज दबाउने खालका कठोर कानुनविरुद्ध औँला तेर्साउने गरेका छन् । अस्थिर राजनीतिको पृष्ठभूमिमा सामाजिक सञ्जाल र सडकमा देखिने युवाको असन्तुष्टिलाई केवल अर्को एउटा ‘भाइरल लहर’का रूपमा हेर्नु राजनीतिज्ञका लागि प्रत्युत्पादक साबित हुनेछ ।
(एजेन्सीहरूको सहयोगमा)