दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औँ संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन् । काठमाडौंमा आइतबार सुरु भएको तीनदिने सम्मेलनमा अभियन्ताहरू सम्मानित भएका हुन् ।
इन्टरनेट सेवालाई सार्वजनिक पहुँचमा विस्तार गर्न योगदान दिएका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र भुटानका अभियन्ताहरू सम्मानित भएका हुन् । सम्मानित अभियन्तामा नेपालका दिलीप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर र भुटानका जिचेन थिन्ले छन् ।
इन्टरनेट इनेबलर्सका अनुसार यी अभियन्ताले इन्टरनेट दैनिक जीवनको हिस्सा बन्नुअघिदेखि नै सर्वसाधारणमा इन्टरनेटको पहुँच पुर्याउन र इन्टरनेटको व्यावसायिक सेवा विस्तारमा ममहत्वपूर्ण योगदान दिएका छन् । इन्टरनेट इनेबलर्सले यसअघि नै नेपालका गौरवराज उपाध्यायलाई एसिया प्रशान्त क्षेत्रका अभियन्ताका रूपमा सम्मानित गरिसकेको छ । उपाध्याय सानोगका संस्थापक हुन् ।