पहिरोले सडक पुरेपछि १० दिनदेखि तातोपानी नाका बन्द

दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध हँुदा आयात–निर्यात ठप्प, ४० भन्दा बढी कन्टेनर अलपत्र

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

नेपाल–चीनको प्रमुख नाका तातोपानी पछिल्लो १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । १ साउनमा कोदारी क्षेत्रमा आएको इको पहिरो भासिएपछि दुई देशबिचको सडक सञ्जाल रोकिएको हो । सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयात–निर्यात ठप्प भएको छ ।

१ साउनको सामान्य बर्सातले नै इको पहिरो भासिएको थियो । ३ साउनबाट नियमित बर्सात हुन थालेपछि त बाह्रबिसे–लिपिङको २६ किलोमिटर सडकखण्ड जताततै भासिने तथा भत्कने हुन थाल्यो । जसले गर्दा १० साउनसम्म आइपुग्दा तातोपानी नाका पुग्ने सडक दर्जनभन्दा बढी ठाउँमा अवरुद्ध भएको छ । 

पहिरोले सडक पुरेर नाका ठप्प भएको १० दिन बित्दा पनि राज्यले थाहा नपाएको जस्तो गरेको स्थानीय व्यवसायीको गुनासो छ । जताततै सडक अवरुद्ध भएपछि भन्सार पास भएका ४० भन्दा बढी कन्टेनर पहिरोआसपास अलपत्र परेर बसेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए । 

पहिरो पन्छाएर साध्य नलाग्ने अवस्थामा पुगेपछि सरकारका दुई मन्त्री स्थलगत निरीक्षणमा पुगेका छन् । सडक डिभिजनका महानिर्देशक डा. विजय जैसीसहित तातोपानी सीमा पुगेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल र कानुनमन्त्री सोबिता गौतमले केहीबेर सडकको दुरावस्था हेरेर फर्किएका छन् ।

सडक अवरुद्ध खुलाउन छिटोभन्दा छिटो पहल गर्न सम्बन्धित निकायलाई उनले सोही स्थानबाट निर्देशन पनि दिए । तर, कोदारी सडक तत्काल सुचारु हुने अवस्था भने छैन । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले दिएको जानकारीअनुसार सडकलाई पहिरोले पुरेको छ । पहिरोमाथि स्थानीयको बस्ती छ । पहिरो चलाउँदा गाउँ बग्ने चिन्ता रहेको उनले बताए ।

‘सधैँ बल्झिरहने इको पहिरो भासिएर तत्काल बनाउन सकिने अवस्थामा छैन । भासिएको जमिनमाथि कोदारी थामी गाउँ छ । जहाँ ६० परिवार बस्छन् । जमिन जति–जति भासिन्छ, बस्ती उति जोखिममा पर्छ । भासिएको हिलो भोटेकोशी नदीले बगाएर लान्छ,’ उनले भने ।

त्यस्तै वडा नं ४ को चारकिलोमा केही दिनयता पहिरो बगिरहेको छ । पहिरोमाथि पन्थली गाउँ छ । त्यहीँ पनि ५० घर छन् । धमाधम पहिरो गइरहेकाले ठुला मेसिन प्रयोग गरेर पहिरो पन्छाउन स्थानीय सहमत नभएका अध्यक्ष शेर्पाले बताए । उनले भने, ‘ठुला मेसिनको थर्कावटले गाउँ बग्ने जोखिम छ । तलबाट उठाएर सडक बनाउने ठाउँ छैन । बाह्रबिसेबाट तातोपानी पुग्दासम्म दर्जनभन्दा बढी पहिरोको अवरोध छिचोल्नुपर्छ । तर, चारकिलो र इको पहिरो छिचोल्ने सम्भावना छैन ।’ सडक डिभिजन कार्यालय चरिकोटले खटाएका मेसिन र कर्मचारीले काम गरेर सडक बन्ने सम्भावना नरहेको उनले प्रस्ट्याए ।

यही विषयमा आइतबार मन्त्रीद्वय लम्साल, गौतम, सडक विभाग, भन्सार, अध्यागमन, सिन्धुपाल्चोक प्रशासन र सुरक्षा अंग सम्मिलित मिटिङ तातोपानी भन्सारमा सम्पन्न भएको छ । तर, सडक सुचारु गर्न के गर्ने भन्ने विषयमा ठोस प्रगति भएन । स्थानीयले सडक उत्खनन गर्न नदिने भनेपछि मन्त्रीको टोली उसै फर्केको छ । सडक ठप्प हुँदा सामान बोकेका धेरै कन्टेनर पहिरोको जोखिमबिच बिचबाटोमा अलपत्र परेका छन् । 

सडक डिभिजनका महानिर्देशक डा. विजय जैसीले बर्खाको समयमा सडकका विभिन्न स्थानमा ठुला–ठुला पहिरो गएका कारण तत्काल स्थायी समाधान गर्न नसकिने बताए । बर्खा कम हुँदै गएपछि घाम लाग्न सुरु गरेपछि स्काभेटर प्रयोग गरेर अस्थायी रूपमा सडक खुलाउन सकिने उनको भनाइ छ । उनले भने, ‘इको पहिरोको व्यवस्थापन चिनियाँ पक्षले गर्ने हो । अहिले त्योभन्दा पनि ठुलो पहिरो चारकिलो भन्ने ठाउँमा गएको छ । पहिरोमाथि ५० भन्दा बढी घर भएको ठुलो गाउँ छ । सडकमा ठुलो उपकरण प्रयोग गर्दा गाउँ बग्ने डरले स्थानीय गाउँलेले स्काभेटरहरू प्रयोग गर्न पनि दिएका छैनन् । सोही कारण सडकको विषयमा अहिले केही भन्न सकिँदैन ।’ 

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले दिएको जानकारीअनुसार भन्सार पास भएका ४० कन्टेनर पहिरोआसपास अलपत्र परेका छन् । फलफूल बोकेका पाँच कन्टेनर सीमा क्षेत्रमा रोकिएका छन् । रेडिमेड सामान बोकेका एक सय ५० कन्टेनर सीमानजिक चिनियाँ क्षेत्रमा छन् । झन्डै दुई सय विद्युतीय गाडी भन्सार यार्डमा थन्किएका छन् । सिन्धुलीमा निर्माणाधीन एक उद्योगका लागि ल्याइएका पाँच गाडी उपकरण पनि सीमामा रोकिएका छन् ।

१० दिनदेखि नाका ठप्प हुँदा सरकारले चासो नदेखाएको भन्दै बस्नेतले प्रेस विज्ञप्ति जारी गरेर व्यापारी वर्ग हतोत्साही भएको र यसको प्रत्यक्ष मार उपभोक्ताले व्यहोर्नुपर्ने उल्लेख गरेका छन् । बाटो बन्द हुँदा सीमा पास भएका कन्टेनर भन्सार आइपुगेका छैनन् । खासामा रहेका कन्टेनर रसुवा नाकातर्फ केरुङमा स्थान्तरण हुन लागेको सुन्नमा आएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रमेशबहादुर शाहले बताए । जसले गर्दा एकातर्फ व्यापार लागत बढ्नेछ तथा तातोपानीको भन्सार राजस्वको लक्ष्यमा असर पर्ने उनले बताए ।

स्थानीयको अवरोधले तत्काल सडकको विषयमा केही भन्न सकिन्न
 डा. विजय जैसी, महानिर्देशक,सडक डिभिजन कार्यालय

बर्खाको समयमा सडकका विभिन्न स्थानमा ठुला–ठुला पहिरो गएका कारण तत्काल स्थायी समाधान गर्न सकिने अवस्था छैन । बर्खा कम हुँदै गएपछि घाम लाग्न सुरु गरेपछि एक्स्काभेटर प्रयोग गरेर अस्थायी रूपमा सडक खुलाउन सकिन्छ । इको पहिरोको व्यवस्थापन चिनियाँ पक्षले गर्ने हो । अहिले त्योभन्दा पनि ठुलो पहिरो चारकिलो भन्ने ठाउँमा गएको छ । पहिरोमाथि ५० भन्दा बढी घर भएको ठुलो गाउँ छ । सडकमा ठुलो उपकरण प्रयोग गर्दा गाउँ बग्ने डरले स्थानीय गाउँलेले एक्स्काभेटरहरू प्रयोग गर्न पनि दिएका छैनन् । सोही कारण सडकको विषयमा अहिले केही भन्न सकिँदैन । 

अहिले पहिरो छिचोल्ने सम्भावना छैन 
 पासाङ नुर्पु शेर्पा, अध्यक्ष, भोटेकोशी गाउँपालिका

इको पहिरो भासिएर तत्काल बनाउन सकिने अवस्था छैन । भासिएको जमिनमाथि कोदारी थामी गाउँ छ । जहाँ ६० परिवार बस्छन् । जमिन जति–जति भासिन्छ, बस्ती उति जोखिममा पर्छ । भासिएको हिलो भोटेकोशी नदीले बगाएर लान्छ । चारकिलोको पहिरोमाथि पनि पन्थली गाउँ छ । त्यहीँ ५० भन्दा बढी घर छन् । ठुला मेसिनको थर्कावटले गाउँ बग्ने जोखिम छ । तलबाट उठाएर सडक बनाउने ठाउँ छैन । बाह्रबिसेबाट तातोपानी पुग्दासम्म दर्जनभन्दा बढी पहिरोको अवरोध छिचोल्नुपर्छ । अहिले चारकिलो र इको पहिरो छिचोल्ने सम्भावना छैन । सडक डिभिजन कार्यालय चरिकोटले खटाएका मेसिन र कर्मचारीले काम गरेर सडक बन्ने सम्भावना छैन ।

सुझावित समाचार