बर्दियामा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने भएको छ। राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रको सेवा दिने व्यवस्था गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय दैनिक दुई सयभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन्। राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा शनिबार र आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने, तर अन्य नियमित सेवाहरू भने सञ्चालन नहुने बताए । उनले भने, ‘सार्वजनिक बिदा परे पनि ९ गतेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएका छौँ। अर्को सूचना प्रकाशित नभएसम्म यो सेवा निरन्तर सञ्चालन हुनेछ। आवश्यक कागजातसहित तोकिएको समयमा कार्यालयमा उपस्थित भई सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाउन सक्नुहुन्छ ।’