फिफा विश्वकपको ‘ड्रिम इलेभेन’ सार्वजनिक : केप भार्डेका गोलरक्षक भाजिन्होदेखि हालान्डसम्म टोलीमा

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिका, क्यानडा र मेक्सिकोको आयोजनामा सम्पन्न पुरुष विश्वकप, २०२६ ड्रिम ११ सार्वजनिक गरेको छ । फिफाले यसपटक समर्थकको मतदानका आधारमा ड्रिम ११ घोषणा गरेको हो । फिफाले ४–३–३ को फर्म्याटमा ११ सदस्यीय टोली बनाएको हो । अन्तर्राष्ट्रिय खेलकुदमा फुटबल र क्रिकेटको विश्वकप प्रतियोगितापछि ड्रिम ११ निकाल्ने चलन छ ।

फिफाले पहिलेदेखि फाइनलसम्म खेलाडीको प्रदर्शनका आधारमा छनोट गरिएको जनाएको छ । विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । सहभागी संख्या बढ्दा खेल पनि १०४ सम्म पुगेको थियो । ३९ दिनसम्म चलेको विश्वकपको ड्रिम टिममा ६ राष्ट्रका खेलाडी परेका छन् । ४२ राष्ट्रका खेलाडीले ड्रिम टिममा स्थान बनाउन सकेनन् । स्पेन, फ्रान्स र अर्जेन्टिना, इंग्ल्यान्ड, नर्वे र केप भार्डेका खेलाडी टोलीमा छन् । 

स्पेन र फ्रान्सबाट समान तीन खेलाडी परेका छन् । उपविजेता अर्जेन्टिनाबाट दुई खेलाडीले ड्रिम टिममा स्थान सुरक्षित गरे । इंग्ल्यान्ड, नर्वे र केप भार्डेबाट एक–एकजना खेलाडी छानिएका छन् । गत आइतबार अमेरिकाको मेट लाइफ रंगशालामा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि विश्वकप उपाधि जितेको थियो । इंग्ल्यान्डले फ्रान्सलाई ६–४ को हाई स्कोरमा हराउँदै तेस्रो स्थान रक्षा गरेको थियो । 

फिनिसिङमा मेसी, एम्बाप्पे र हाल्यान्ड
फिफाले फिनिसिङ लाइनमा तीन खेलाडीलाई राखेको छ । यस सूचीमा लियोनेल मेसी (अर्जेन्टिना), केलियन एम्बाप्पे (फ्रान्स) र अर्लिङ हालान्ड (नर्वे) परेका छन् । विश्वकपमा मेसीले सेमिफाइनलसम्म प्रेरणादायी प्रदर्शन गरेका थिए । उनले प्रतियोगितामा आठ गोल गरे । मेसीले सेमिफाइनल र फाइनलमा मात्र गोल गर्न सकेनन् । विश्वकपमा लगातार दोस्रोपटक गोल्डेन बुट जितेका फ्रान्सका एम्बाप्पे पनि फाइनल थर्डमा रहे । उनले विश्वकपमा कीर्तिमानी रूपमा १० गोल गरेका थिए ।

विश्वकप इतिहासमा पश्चिम जर्मनीका गड मुलरपछि एकै संस्करणमा १० गोल गर्ने उनी दोस्रो खेलाडी बनेका छन् । इंग्ल्यान्डविरुद्धको तेस्रो खेलमा एम्बाप्पेले दुई गोल गरेका थिए । यसै गोलका कारण उनीले सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा रहेका मेसीलाई पछि पारेका थिए । साथसाथै एम्बाप्पले मेसीको नाममा रहेको सर्वाधिक २१ गोलको रेकर्ड पनि तोडे । एम्बाप्पेले तीनवटा विश्वकपमा सर्वाधिक २२ गोल संख्या पुर्याएका छन् । विश्वकपमा हाल्यान्ड चर्चित खेलाडीमा परेका थिए । आफ्नो डेब्यु विश्वकपमै सनसनी प्रदर्शन गर्दै उनले ६ गोल गरेका थिए । क्वार्टरफाइनलमा इंग्ल्यान्डबाट पराजित हुँदा हाल्यान्डको यात्रा पनि टुंगिएको थियो ।

मध्यक्रमको जिम्मेवारी  बेलिंघमले पाए
इंग्ल्यान्डले सन् १९६६ पछि विश्वकपमा उत्कृष्ट नतिजा निकाल्ने क्रममा मध्यक्रमका जुड बेलिंघमको प्रदर्शन मुख्य रह्यो । मिडफिल्डरका रूपमा उनले इंग्ल्यान्डका लागि सात गोल गरेका थिए । विश्वकप इतिहासमा मिडफिल्डरले पहिलोपटक सात गोल गरेका हुन् । 

यसैगरी फ्रान्सका माइकल ओलिसेले पनि एम्बाप्पेलाई गतिलो साथ दिएका थिए । स्पेनलाई दोस्रोपटक उपाधि दिलाएका स्पेनका कप्तान रोड्रीले पनि ड्रिम ट्रिममा स्थान बनाए । गोल्डेन बलसमेत जितेका उनले प्रतियोगितामा सर्वाधिक ८०३ पास मिलाएका थिए । 

म्यानचेस्टर सिटीका रोड्रीको एक्युरेसी ९४ प्रतिशत थियो । उनी फाइनलमा अर्जेन्टिनाका मेसी, सेमिफाइनलमा एम्बाप्पे र माइकल ओलिसे तथा औसमाने डेम्बेलेलाई गोल गर्न रोक्न सफल रहे । यसैगरी फ्रान्सका ओलिसे पनि मिडफिल्डमा परेका छन् । विश्वकपमा उनले फ्रान्सका लागि मिडफिल्डमा सटीक प्रदर्शन गरको थिए । 

डिफेन्समा दुईजना स्पेनिस 
फिफाको ड्रिम ११ मा चारजना डिफेन्डर छन् । स्पेनलाई विश्वविजेता बनाउन रक्षापंक्तिमा जबर्जस्त प्रदर्शन गरेका मार्क कुकुरेया र पेड्रा पोरो परेका छन् । यी दुई खेलाडीले फाइनलसम्म एकनासको प्रदर्शन गरेका थिए । यसैगरी, फ्रान्सका डायो उपमेकानो र अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजलाई फिफाले डिफेन्स खेलाडीका रूपमा चुनेको छ । 

गोलरक्षकमा भोजिन्हा 
यसपटक विश्वकपमा गोलरक्षकको भूमिकामा केप भार्डेका भोजिन्हा सबैभन्दा चर्चित बने । पहिलोपटक विश्वकपमा सहभागी भार्डेका गोलरक्षक भोजिन्हाले खेलेका चारै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । डेब्यु विश्वकपकै पहिलो खेलमा भार्डेले स्पेनको सामना गरेको थियो । टिकी–टाका शैलीमा खेल अवधिभर स्पेनले भार्डेमाथि दबाब बनाएको थियो । तर, स्पेनका विश्वस्तरीय खेलाडीले एक गोल पनि गर्न सकेनन् । भोजिन्हा पोस्टमा पहाडझैँ उभिँदा स्पेनले पहिलो खेलमै गोलरहित बराबरी नतिजा निकाल्यो । विश्व च्याम्पियन स्पेनले गोल गर्न नसकेको केप भार्डेविरुद्ध मात्र थियो । विश्वकपमा भोजिन्हाको प्रदर्शनमा सबै दंग परे । यसै प्रदर्शनका कारण उनी अप्रत्याशित रूपमा फिफाको ड्रिम ११ मा परेका हुन् । राउन्ड अफ ३२ मा केप भार्डेले अर्जेन्टिनाविरुद्ध खेलेको थियो । खेलको अन्तिम समयमा संयमित हुन नसक्दा भार्डेले खेल गुमाएको थियो । तर, भोजिन्हाले अर्जेन्टिनाविरुद्ध पनि त्यतिकै उत्कृष्ट खेल देखाए । 

स्टार खेलाडी परेनन्
फिफाको ड्रिम ११ मा थुप्रै प्रभावशाली खेलाडी परेनन् । यसमध्ये ६ पटक विश्वकपमा सहभागी जनाएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि हुन् । ४१ वर्षको उमेरमा लगातार छैटौँपटक विश्वकप खेलेका रोनाल्डोले पाँच खेलमा तीन गोल गरेका थिए । उनले उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए । पोर्चुगल अन्तिम १६ को खेलमा स्पेनसँग १–० ले पराजित हुँदा उनको विश्वकप यात्रा समाप्त भएको थियो । स्पेनलाई विश्वकप दिलाउन गोलरक्षकको भूमिकामा उत्कृष्ट खेल देखाएका सिमोन पनि ड्रिम ११ मा अटाएनन् । उनी विश्वकपकै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । उनले प्रतियोगितामा एक गोल मात्र व्यहोरेका थिए । विश्वकपमा उनले लगातार ६ खेलसम्म क्लिन सिट राखेका थिए । 

यसका साथै १७ वर्षीय युवा लामिन यामल पनि टोलीमा छैनन् । ब्राजिलियन भिनिसियस जुनियर र कासेमेरो पनि ड्रिम ११ मा अटाउन सकेनन् । इंग्ल्यान्डलाई तेस्रो स्थान दिलाएका कप्तान ह्यारी केन र विंगर बुकायो साका बाहिरै रहे । बेल्जियमका मिडफिल्डर डी ब्रुएना पनि उत्कृष्ट ११ मा पर्न असफल भए ।

सुझावित समाचार