बागमती प्रदेश सरकारमा रहेका तीनजना विनाविभागीयमन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमाले सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रिक्त रहेका मन्त्रालयमा नयाँ जिम्मेवारी तोकेका हुन्।
मुख्यमन्त्री बानियाँले कांग्रेसका विनाविभागीयमन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। मुख्यमन्त्रीले कार्यविभाजनसहितको सिफारिस प्रदेश प्रमुखसमक्ष पठाएका छन्।
यसअघि कांग्रेसबाट कञ्चनचन्द्र बादे स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री र प्रभात तामाङ आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा छन्।
बुधबार एमालेका ६ मन्त्रीले सामूहिक राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए। त्यसपछि रिक्त भएका मन्त्रालयको जिम्मेवारी कांग्रेसका विनाविभागीय मन्त्रीहरूलाई दिइएको हो।
एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। नयाँ जिम्मेवारी बाँडफाँटसँगै सरकारले दैनिक प्रशासनिक कामलाई निरन्तरता दिने प्रयास गरेको छ भने प्रदेशको नयाँ सत्तासमीकरणबारे राजनीतिक दलहरूबिच छलफल पनि तीव्र बनेको छ।