मेटलाइफ फाउन्डेसनले डब्लुडब्लुएफ नेपाललाई एक लाख २० हजार अमेरिकी डलर सहयोग गरेको छ । फाउन्डेसनले बर्दियाको राजापुर नगरपालिकामा स्थानीय समुदायको पारिस्थितिक प्रणाली संरक्षण, जीवनस्तर सुधार तथा वैकल्पिक जीविकोपार्जन प्रवर्द्धन गर्ने परियोजना सञ्चालनका लागि सो सहयोग गरेको हो ।
फाउन्डेसनका अनुसार उक्त सहयोगमा बर्दियाको तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोवास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई लक्षित गरी एक वर्षे परियोजना सञ्चालन हुनेछ । यस क्षेत्रका बासिन्दा बाढी, नदी कटान तथा माछाको घट्दो संख्याका कारण जीविकोपार्जन र खाद्य सुरक्षाको समस्याबाट प्रभावित हुँदै आएका छन् ।
परियोजनामार्फत करिब १४० न्यून आय भएका घरपरिवारको जलवायुजन्य जोखिम सामना गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै आय–आर्जनका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
डब्लुडब्लुएफ नेपालले बाढीको जोखिम न्यूनीकरण गर्न, कृषि भूमि र बस्तीलाई डुबानबाट जोगाउन, जैविक तटबन्ध, हरितपट्टी निर्माण तथा खोल्सा पुनर्स्थापनाजस्ता प्रकृतिमा आधारित उपाय कार्यान्वयन गर्ने जनाइएको छ ।
यसका साथै होमस्टेमा आधारित पर्यापर्यटनको विकास, पशुपालन र कुखुरापालनमा सहयोग तथा उत्पादनको बजार पहुँच विस्तार गरी समुदायको जीविकोपार्जनलाई दिगो र विविधीकरण गरिनेछ । मेटलाइफका कर्मचारीहरूले स्वयंसेवी रूपमा वित्तीय साक्षरता, बजेट व्यवस्थापन तथा साना व्यवसाय सञ्चालनसम्बन्धी तालिमसमेत प्रदान गर्ने जनाइएको छ ।