सुर्खेत र रुकुम पश्चिममा डेंगु संक्रमण बढ्दो

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेशका दुई जिल्लामा डेंगुको जोखिम उच्च देखिएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र रुकुम पश्चिममा डेंगु संक्रमणको जोखिम बढेको हो । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ०८२ साउनदेखि ०८३ असारसम्म प्रदेशभर तीन हजार ९८३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुर्खेतका तीन हजार ५७९, रुकुम पश्चिममा ३५७, दैलेखमा २८, सल्यानमा २८, कालीकोटमा नौ, मुगुमा चार, जाजरकोटमा तीन, जुम्लामा तीन, डोल्पामा तीन र हुम्लामा दुईजनामा डेंगु संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रशासन शाखा अधिकृत श्यामलाल आचार्यले बताए ।

उनले प्रदेशका सबै जिल्लामा डेंगुका बिरामी भेटिए पनि सुर्खेत र रुकुम पश्चिममा संक्रमणको दर तुलनात्मक रूपमा बढी रहेको जानकारी दिए ।  रुकुम पश्चिममा पछिल्लो चरणमा डेंगुको जोखिम थप बढ्दै गएको र ठुलो संख्यामा घरमा डेंगु सार्ने लामखुट्टेको उपस्थिति भेटिनुले जिल्लामा संक्रमणको जोखिम उच्च रहेको देखिएको आचार्यले बताए । 

सुर्खेतमा पनि डेंगुका बिरामीको संख्या बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेंगु संक्रमण नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा आवश्यक सचेतना तथा रोकथामका कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले डेंगु नियन्त्रणका लागि सरकारी निकायको प्रयाससँगै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

‘डेंगुबाट बच्न घरआँगन तथा वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र लामखुट्टेको बासस्थान नष्ट गर्न आवश्यक हुन्छ,’ उनले भने, ‘लामखुट्टेको वृद्धि हुने सम्भावित स्थान पहिचान गरी पानी हटाउने, भाँडाकुँडा सफा गर्ने तथा समुदायस्तरमा सरसफाइ अभियान सञ्चालन गर्न सके संक्रमणको जोखिम घटाउन सकिन्छ ।’

सुझावित समाचार