जबर्जस्ती करणी गर्न खोज्ने पुरुषलाई महिलाले गरिन् खुकुरी प्रहार

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

आफ्नै घरमा सुतिरहेकी एक एकल महिलामाथि मध्यरातमा घरको ढोका तोडेर भित्र प्रवेश गरी जबर्जस्ती करणी गर्न खोज्ने एक पुरुषलाई महिलाले खुकुरी प्रहार गरेर घाइते बनाएकी छिन् । खाँडादेवी गाउँपालिका– ५, पकरवास घर भएकी परिवर्तित नाम १८९१० भएकी एक एकल महिलालाई सोही गाउँपालिकाका तिलकबहादुर नेपालीले जबर्जस्ती करणीको प्रयास गरेका थिए । महिला एक्लै रहेको थाहा पाएका नेपालीले सोमबार राति २ बजेको समयमा ती महिलाको घरमा पुगी घरको ढोका तोडी भित्र प्रवेश गरेर महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । 

अकस्मात् ढोका फोडी भित्र प्रवेश गरेर महिलामाथि जबर्जस्ती करणी गर्न खोजेपछि ती महिलाले प्रतिकार गर्ने क्रममा खुकुरीले नेपालीमाथि प्रहार गर्दा उनको बायाँ हातको पाखुरामा चोट लागेपछि भागेर फरार भएका थिए । उक्त घटनापछि ती महिलाले छिमेकीहरूसँग घटनाको विषयमा जानकारी गराएपछि स्थानीयले इलाका प्रहरी कार्यालय चोप्राङमा खबर गरेका थिए । 

घटनापछि फरार रहेका नेपालीलाई खोजतलास गर्न खटिएको प्रहरीको टोलीले बुधबार मन्थली नगरपालिका– १ बाट पक्राउ गरेको छ । नेपालीलाई जबर्जस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी निजलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी  दिए ।

सुझावित समाचार