युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देशका सेना प्रमुख ओलेक्ज्यान्डर सिर्स्कीलाई बर्खास्त गरेका छन् । यसअघि हटाइएका रक्षामन्त्री मिखाइलो फेदोरोभको बर्खास्तीमा सिर्स्कीको नाम जोडिएपछि ठुलो विरोध उठेको थियो ।
जुलाई १९६५ मा सोभियत रुसमा जन्मिएका ६० वर्षीय सिर्स्कीले मस्कोको रेड आर्मी एकेडेमीमा अध्ययन गरेका थिए । सन् १९८० को दशकमा उनी युक्रेनमा तैनाथ गरिएका थिए । त्यहाँ तैनाथ रहँदा सोभियत संघको विघटनपछि उनी युक्रेनमै रहे । पछि उनले किभस्थित युक्रेनको राष्ट्रिय रक्षा विश्वविद्यालयमा अध्ययन गरेर नयाँ बनेको युक्रेनी सेनाको श्रेणीमा जोडिए ।
सन् २०१४ मा उनले पूर्वीडोनेत्स्क क्षेत्रमा मस्को समर्थित सशस्त्र फौजले चलाएको विद्रोहविरुद्ध युक्रेनी सेनाको कमान्ड गरेका थिए । सन् २०१९ मा उनी युक्रेनको स्थल सेनाको प्रमुख बने र फेब्रुअरी २०२२ मा रुसले आक्रमण गर्दा युक्रेनी युद्ध प्रयासको नेतृत्व गरे ।
जेलेन्स्कीले यसअघि रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाएपछि राजधानी किभमा प्रदर्शन उठ्दा सिर्स्कीको राजीनामा मागिएको थियो । विशेषतः फेदोरोभको राजीनामा सिर्स्कीसँगको विवाद कारण आएको बताइएको थियो । युक्रेनीहरू पछिल्लो समय युक्रेनले युद्धमोर्चामा हासिल गरेको सफलताका लागि फेदोरोभको नीतिले सघाएको मान्छन् ।
फेदोरोभले बर्खास्तीअघि सिर्स्कीले सैन्य सुधार प्रयासमा अवरोध पुर्याएको आरोप लगाएका थिए । अहिले सिर्स्कीलाई हटाएर जेलेन्स्कीले मिखाइलो ड्राप्तीलाई सेना प्रमुखमा नियुक्त गरेका छन् ।