नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसैसाता अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणको कार्यतालिका अघि बढाउने भएको छ। मन्त्रालयका अनुसार सम्भवतः भोलि सोमबार पदपूर्ति समितिको बैठक बसेर कार्यतालिका बन्नेछ।
मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनाेटको प्रक्रिया सँगसँगै अघि बढाउन लागेको छ। मन्त्रालय स्रोतको अनुसार सुरुमा खाद्य कम्पनीको सिइओ छनाेट प्रक्रिया सक्ने र त्यसपछि आयल निगमको कार्यकारी निर्देशक छनाेट प्रक्रिया अघि बढाउने योजना छ।
खाद्य कम्पनीको सिइओका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ। मन्त्रालयको पदपूर्ति समितिले यी सबैको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण लिनेछ। स्वीकृत भएका आवेदनहरूमा विष्णुबाबु मिश्र, डिल्लीराज लम्साल, मित्रमणि पोखरेल, गोपाल घिमिरे, कामेश्वर यादव, सचिनकुमार अर्याल, होमनाथ न्यौपाने, कौशल केसी, प्रकाशमान बज्राचार्य, रमेश आचार्य, रामकृष्ण पन्थी, डा. हरि शंकरप्रसाद साह, संगीता यादव, दीपेन्द्रकुमार देव, भेषराम पोखरेल र टीकानिधि लोहनी रहेका छन्।
आयल निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिएकाहरूमध्येबाट सुरुमै सर्टलिस्ट गरेर छविराज पोखरेल, कौशल केसी, सञ्जीवकुमार देव, सिए नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव गरी ६ जना छनाेट भएका छन्।
अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणपछि आयल निगम कार्यकारी निर्देशक र खाद्य कम्पनीको सिइओको लागि तीन–तीनजनाको नाम पदपूर्ति समितिले सिफारिस गर्ने प्रावधान छ। तीमध्ये एकजनालाई मन्त्रिपरिषद्ले नियुक्ति गर्ने प्रावधान छ।
कार्ययोजना र अन्तर्वार्ता सकिनासाथ दुवै संस्थानले कार्यकारी प्रमुख नियुक्ति गरिहाल्ने मन्त्रालयको योजना छ। कार्यकारी प्रमुखविहीन हुँदा दुवै संस्थानको आर्थिक वर्ष ०८३/८४ को बजेट निर्माण र आर्थिक वर्षको सुरुवातमा गर्नुपर्ने कर्मचारी सरुवा प्रभावित भएको छ।