अन्नपूर्ण पुग्ने पर्यटकको संख्यामा कीर्तिमान

गत आवमा पाँच लाखभन्दा बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र पुगे, सबैभन्दा धेरै भारतीय

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८२/८३ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमनले कीर्तिमान बनाएको छ । गत आवमा पाँच लाख आठ हजार चार सय ७६ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । यो हालसम्मकै उच्च संख्या हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार यो संख्या अघिल्लो आव ०८१/८२ को तुलनामा उल्लेखनीय वृद्धि हो । अघिल्लो आवमा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका थिए ।

गत वर्षको पर्यटक आगमनमा भारतीय पर्यटकको संख्या उल्लेखनीय देखिएको छ । कुल तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका छन् । त्यस्तै, चीनबाट १२ हजार पाँच सय ३९ र अमेरिकाबाट नौ हजार आठ सय ८४ पर्यटकले अन्नपूर्ण भ्रमण गरेको बताइएको छ । 

आयोजनाका प्रमुख रविन कँडरियाका अनुसार गत आवमा एक सय ६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । तीमध्ये तीन लाख ८४ हजार एक सय ४५ पर्यटक दक्षिण एसियाली मुलुकका थिए भने अन्य मुलुकबाट एक लाख २४ हजार तीन सय ३१ पर्यटक आएका थिए । विशेषगरी जेठ महिनामा भारतसहित दक्षिण एसियाबाट आउने पर्यटकको संख्या करिब तीन सय प्रतिशतले बढेको उनको भनाइ छ । 

पोखरा, मुक्तिनाथलगायत गन्तव्यको भारतमा भएको प्रभावकारी प्रवर्द्धन, सहज सडक तथा हवाई पहुँच र सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रसारले भारतीय पर्यटकको संख्या बढेको कँडरियाको भनाइ छ । उनका अनुसार पोखरा पुग्ने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ दर्शनका लागि पुग्छन् भने अन्य विदेशी पर्यटक अन्नपूर्णको प्रसिद्ध पदमार्ग हुँदै हिमाली गन्तव्यको यात्रा गर्छन् ।

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमार्फत पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ र घोडेपानीलगायतका गन्तव्यमा पुग्ने गरेका छन् । आयोजनाले यी क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको जनाएको छ ।

सात हजार ६ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र पदयात्रा पर्यटनका कारण विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको यस क्षेत्रमा छोटादेखि लामा दूरीसम्मका पदयात्रा छन् । 

See More On

सुझावित समाचार