- फिफाले आर्थिक पक्षसँग जोडेर तेस्रो र चौथो स्थानलाई प्राथमिकतामा राखेको छ । साथै विश्वकपपछि निकालिने वरीयता निर्धारण सहज बनाउन यो खेल महत्वपूर्ण रहेको छ ।
विश्वकपमा उपाधि भिडन्तअघि थप एक खेल पनि हुन्छ । त्यो हो, सेमिफाइनलमा पराजित भएका दुई टोलीबिचको प्रतिस्पर्धा । यी दुवै टोली तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फिफाले यसलाई फाइनलजस्तै प्राथमिकतामा राखेको छ । विश्वकपमा कुनै पनि स्थान प्राप्त गर्नु सहभागी टोलीले त्यत्तिकै महत्वपूर्ण रूपमा लिने गरेको छ । चालू विश्वकपमा फ्रान्स र इंग्ल्यान्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फिफाले वरीयता निर्धारण गर्न पनि स्थान छुट्याउँदा इतिहास नै बन्ने गर्छ । विश्वकप इतिहासमा अफ्रिकाबाट मोरोक्को र एसियाबाट दक्षिण कोरियाले एकपटक मात्र स्थान बनाएका छन् । सन् १९३० देखि सुरु भएको विश्वकपमा फिफाले आधिकारिक रूपमा १९५४ देखि मात्र तेस्रो र चौथो स्थानको प्लेअफ अवधारणा ल्याएको हो ।
कुनै पनि खेलाडी कांस्य पदकका लागि हुने खेल खेल्न चाहँदैनन् । फिफाको प्रक्रिया र वरीयता निकाल्न तीन खेलाडी तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै आइरहेका छन् । ‘सेमिफाइनलमा पराजित हुने टोली कांस्य पदकका लागि खेल्न चाहँदैनन्, यो स्थान नभएर पदकको भिडन्त हो,’ फिफाले जनाएको छ, ‘फुटबल समर्थकले यसको विरोध वेला–वेलामा गर्छन् ।’ दुई सेमिफाइनलिस्टबिचको खेल अर्थहीन पनि भनिएको छ ।
फिफाले आर्थिक पक्षसँग जोडेर पनि तेस्रो र चौथो स्थानलाई प्राथमिकतामा राखेको हो । स्पेनिस आउटलेट डिआरियो एसको एक रिपोर्टअनुसार फिफाले विश्वकप आयोजना गर्दा विज्ञापनदातासँग समूह चरणदेखि फाइनलसम्मको सम्झौता गरेको हुन्छ । सेमिफाइनलमा पराजित टोलीलाई संयुक्त रूपमा स्थान दिन गाह्रो छ । ‘दुवै टोलीलाई सेमिफाइनलिस्ट घोषणा गर्दा प्रायोजकको थप रकम खर्च हुन्छ । फिफाले आफ्ना विज्ञापनदाताको थप रकम बचाउन पनि तेस्रो र चौथो स्थान राखेको हो,’ आउटलेटले जनाएको छ ।
अतिरिक्त समयमा धकेलियो खेल
सन् १९८६ को विश्वकपमा बेल्जियम र फ्रान्सले तेस्रो स्थानका लागि खेलेका थिए । विश्वकपमा पहिलोपटक अतिरिक्त समयमा तेस्रो टोलीको छिनोफानो भयो । बेल्जियममाथि फ्रान्सले ४–२ को नतिजा निकाल्यो । सेमिफाइनलमा पराजित दुई टोली केवल औपचारिकता पूरा गर्न मात्र भूमिका निर्वाह गरेको आउटलेटको भनाइ छ । तर, अहिले तेस्रो स्थानमा पनि हाई स्कोरिङ खेल हुन थालेको छ । विश्वकपमा तेस्रो स्थान प्राप्त गर्दै प्रतियोगिता सुखद बनाउने प्रयासमै खेलाडीहरू स्कोरिङ गर्न निस्कने गरेका छन् । विश्वकपमा सन् १९७४ को संस्करण निकै नीरस थियो । यस खेलमा तेस्रो स्थान हात पार्ने टोली १–० ले विजयी भएको थियो ।
सन् १९९० को संस्करण इटालीले इंग्ल्यान्डलाई २–१ ले हरायो । सन् २००२ मा टर्कीका हाकन सुकरले तेस्रो स्थानका लागि भएको खेलमा इतिहास बनाए । उनले दक्षिण कोरियाविरुद्ध खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । सन् २०१८ को विश्वकपमा बेल्जियमले इंग्ल्यान्डलाई २–० ले हराउँदै तेस्रो स्थान रक्षा गरेको थियो । सन् २०२२ को विश्वकपमा क्रोएसियाले मोरोक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान हात पारेको थियो ।
जर्मनी सर्वाधिक चारपटक तेस्रो
विश्वकपमा जर्मनीले धेरैपटक तेस्रो स्थान रक्षा गरेको छ । सन् १९३४ र सन् १९७० को संस्करणमा जर्मनी तेस्रो भएको थियो । सन् २००६ र २०१० को संस्करणमा जर्मनीले ब्याक टु ब्याक तेस्रो स्थान रक्षा गर्यो । सर्वाधिक पाँचपटकको विजेता ब्राजिल, फ्रान्स, स्विडेन र पोल्यान्डले दुई–दुईपटक तेस्रो स्थानमा चित्त बुझाएका छन् ।
चारपटकको विजेता इटाली, नेदरल्यान्ड्स, क्रोएसिया, अस्ट्रिया, पोर्चुगल, बेल्जियम, अमेरिका, चिली र टर्की समान एकपटक तेस्रो स्थान भएका छन् । दुईपटकको विजेता उरुग्वे तीनपटक चौथो भएको छ । सन् १९७४, १९७० र २०१४ मा उरुग्वेले चौथो स्थानमा विश्वकप सकाएको थियो । ब्राजिल र इंग्ल्यान्ड दुई–दुईपटक चौथो भए । जर्मनी, फ्रान्स, स्पेन, नेदरल्यान्ड्स, स्विडेन, अस्ट्रिया, पोर्चुगल, बेल्जियम, सोभियत युनियन, बुल्गेरिया र दक्षिण कोरियाले एक–एकचोटि विश्वकपमा चौथो स्थान हात पारे ।
–एजेन्सीको सहयोगमा