नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन (आइपिओ) र दोस्रो बजारको सेयर किनबेचमा लाग्ने शुल्क घटाउने आश्वासन दिएको छ । मंगलबार लगानीकर्ताले कार्यालय घेराउ गरी विरोधमा उत्रिएपछि बोर्डले विज्ञप्ति जारी गर्दै यस्तो आश्वासन दिएको हो ।
‘लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक (आइपिओ) तथा दोस्रो बजारमा लाग्ने विभिन्न शुल्कमा समसामयिक पुनरवलोकन गरी सर्वसाधारणलाई राहत दिइनेछ,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
बजारमा सूचीकरण भइसकेपछि धितोपत्रको माग र आपूर्तिबिच उचित सन्तुलन कायम राख्नका लागि सामूहिक लगानी कोष (म्युचुअल फन्ड)को लकइन अवधि र सेयर बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थामा पनि आवश्यक पुनरवलोकन गर्ने बोर्डले उल्लेख गरेको छ । बोर्डले बजारको संस्थागत विकास, प्रविधिको प्रयोग र लगानीकर्ताको हित संरक्षणलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
धितोपत्र बजारमा हुने कसुर र अनियमितताको प्रारम्भिक जाँचबुझ कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन सामान्य बलियो बनाउने तथा बजारलाई गलत ढंगले प्रभावित पार्ने गरी सूचना फैलाउने गरी सामाजिक सञ्जालमा सक्रिय रहने फिन्फ्लुएन्सर्स (वित्तीय क्षेत्र प्रभाव पार्ने व्यक्तिहरू)का गतिविधिमाथि कडा निगरानी राखिने बोर्डले जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत रूपमा लगानीको परामर्श दिने, भ्रामक प्रचार गर्ने र सामाजिक सञ्जालमार्फत वित्तीय ठगी गर्ने कार्यविरुद्ध प्रभावकारी नियामकीय कदम चालिनेछ ।’
अबदेखि कुनै पनि कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति दिनुअघि उक्त कम्पनीको वित्तीय स्थिति र व्यवस्थापकीय पक्षको वस्तुपरक र गम्भीर अध्ययन गरिने व्यवस्था मिलाइने तथा सामाजिक सञ्जालको प्रयोग गरेर आइपिओ आउनुअघि नै संगठित संस्थाहरूले सर्वसाधारणबाट पुँजी संकलन गर्ने प्रवृत्ति बढ्दै गएकाले त्यस प्रकारका व्यवहारलाई नियन्त्रण र नियमन गरिने बोर्डले उल्लेख गरेको छ ।
पुँजीबजारको दोस्रो बजारलाई चलायमान बनाउन यसअघि नै जारी भइसकेको मार्जिन कारोबार निर्देशिकाको कार्यान्वयन अवस्थाको समीक्षा गरिने, मार्जिन कारोबार सञ्चालनमा देखिएका सीमितता र व्यवधानलाई हटाउन सम्बन्धित निकायबिच आपसी समन्वय गरी यसलाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने पनि बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
नेप्सेको सूचकांक गणना विधिलाई अझ वैज्ञानिक बनाउनका लागि हालको नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सका रूपमा कायम राख्ने, बजारमा वास्तविक रूपमा कारोबारयोग्य रहेका सेयरहरू (फ्री फ्लोट सेयर)का आधारमा नयाँ सूचकांक विकास गरिने र त्यसैलाई मुख्य बेन्चमार्क सूचकांक मानेर गणना गर्ने व्यवस्था मिलाउनेसमेत बोर्डले जानकारी गराएको छ ।
यी तत्काल गरिने सुधारका अलावा समग्र नेपाली पुँजीबजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउँदै राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न बोर्डले दीर्घकालीन योजनासमेत बनाएको छ । यसै सिलसिलामा बोर्डले आगामी दशकका लागि तयार पारेको नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८३ का साथै आर्थिक वर्ष ०८३/८४ को पुँजीबजार नीति र यसको कार्यान्वयन कार्ययोजनासम्बन्धी विस्तृत दस्तावेजहरू सार्वजनिक गर्ने प्रेस नोटमा उल्लेख गरिएको छ ।