प्रेरक प्रसंग : मद्दत कसलाई गर्ने ?

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

एउटा जंगलमा दुई वयस्क सिंहको बिचमा बडो निर्भयतापूर्वक एक मुडुली (पोथी मृग) हिँडिरहेकी थिई । यस्तो अनौठो दृश्य देख्दा एक साधु अचम्ममा परे । उनले मुडुलीसित प्रश्न गरे– यति डरलाग्दा हिंस्रक सिंहको माझमा हिँड्दा तिमीलाई डर लाग्दैन ? मुडुलीले मुसुक्क हाँसेर जवाफ दिई– साधु महाराज, वर्षौंपहिले यस जंगलमा एक पोथी सिंहको अचानक मृत्यु भयो ।

आमाको मृत्युपछि उनका दुई शिशु दुध खान नपाएर भोकले छट्पटिएर जीवन–मरणको दोसाँधमा पुगेका थिए । त्यतिवेला मैले तिनलाई सन्तानलाई जस्तै आफ्नो दुध पिलाएर बचाएँ । आज तिनै दुई शिशु यस जंगलमा मेरा दुई सन्तानका रूपमा चिनिन्छन् । यिनै दुई प्यारा सन्तानका कारण आज यस जंगलमा मलाई कसैले ठाडो शिरले हेर्ने हिम्मतसम्म गर्दैन ।

मुडुली र सन्तको संवाद रुखको हाँगामा बसेको सुगाले सुनिरहेको थियो । उसले मनमनै सोच्यो– ओहो ! मैले पनि त्यसैगरी कसैलाई मद्दत गर्न पाए जंगलमा मेरो पनि सबैले इज्जत गर्ने थिए । त्यति नै वेला सुगाले त्यहीँ नजिकै मुखमा काँडो बिझेर छटपटाइरहेको एउटा सर्पलाई देख्यो । सुगाले तत्काल जमिनमा उत्रिएर सर्पको मुखको काँडो निकालिदियो । तर, जब सर्प केही ठिक भयो, तब उसले नजिकै बसेर उसैको देखभाल गरिरहेको सुगालाई डसेर आफ्नो विष छाडिदियो । विषको प्रभावले सुगा छट्पटिन थाल्यो । यस्तो दृश्य देखेपछि तिनै साधुले सुगालाई सोधे– आखिर तिमीले विषालु सर्पको देखभाल गर्ने मूर्खता किन गर्यौ ? विषको प्रभावले छट्पटिइरहेको सुगाले भन्यो– मैले मुडुलीले जस्तै इज्जत पाउने लोभमा यसको सेवा गरेको थिएँ, उल्टै यसले मलाई यस्तो हालतमा पुर्यायो ।

साधुले भने– कसैको मद्दत गर्नु नै छ भने सिंहका बच्चाहरूको गर, विषालु सर्पको होइन । मद्दत त्यसको गर, जसले तिम्रो मद्दतको कदर गर्न सकोस् । अन्यथा, गलत व्यक्तिको मद्दत गरियो भने तिम्रैजस्तो हालत सबैको हुनेछ ।

सुझावित समाचार