बर्खा लागेसँगै प्रायः अवरुद्ध हुने तातोपानी नाका यसपालि असार अन्तिममा बन्द भएको छ। मनसुन ढिलो सुरु भएको र वर्षा पनि कम भएाले २७ असारसम्म कोदारी सडक सञ्चालन थियो । दुई दिनदेखि परेको सिमसिम वर्षाले सीमानजिक लिपिङमा पहिरो खसेको छ । वर्षा भएपछि नियमित रोकिने चर्चित ठाउँ इको पहिरोमा सडक भासिएर भोटेकोशी नदीमा झरेको छ ।
लामो समयको मिहिनेतपछि रोकिएको डाक्लाङ पहिरो पुनः झरेको छ। सडकको धेरै ठाउँ भासिएका छन् । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले दिएको जानकारीअनुसार कोदारी सडक तीन ठाउँमा अवरुद्ध भएकाे छ । लिपिङमा पहिरोले सडक छोपेको छ भने इको र डाक्लाङमा सडक भासिएका छन्। दुई दिनदेखि निरन्तर वर्षा भएकाले पन्छाउन नसकिएकाे र वर्षा रोकिनसाथ पहिरो पन्छाउने उनले बताए ।
यता बर्खाभर इको पहिरो नियन्त्रण कार्य सुरु नहुने निश्चित भएको छ। चीन सरकारको सहयोगमा हुन लागेको इको पहिरो नियन्त्रण कार्यका लागि नेपाल–चीन सरकारबिच दुई चरणको सम्झौता भएको र अब कार्यान्वयन सम्झौता बाँकी रहेको भण्डारीले बताए । बर्खालगत्तै चिनियाँ कम्पनी काम गर्न तातोपानी आउने उनले बताए ।
खासामा नेपाली व्यापारीले ल्याएको लसुन, ओखर, फलफूल, रेडिमेड र विद्युत् आयोजनाका उपकरण छन् । सडक बन्द हुँदा ट्रान्सपोर्ट कम्पनीलाई थप व्ययभार बढ्छ । हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीले दिएको जानकारीअनुसार तातोपानी नाकामा प्रायः सडक अवरुद्ध हुने गरेकोले स्याउ बोकेका धेरै कन्टेनर केरुङ पुगेका छन् ।
‘वर्षाको भेलमा उर्लेको भोटेकोशी नदीले भन्सार यार्ड पनि धमाधम बगाइरहेको छ । यो नाकामा सरकारले ध्यान दिएन,’ पराजुलीले भने । सडकभरि पहिरो आउँदा सम्बन्धित निकायले समयमै नपन्छाएकोले विगतदेखि नै व्यापारी वर्ग मिलेर सडक बनाउन खर्च गर्दै आएको उनले सुनाए ।