जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटना लोकतान्त्रिक एवं कानुनी राज्यका लागि गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन्।
शुक्रबार जारी शोक वक्तव्यमा अध्यक्ष यादवले गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। कुनै पनि नागरिक आफ्नो पीडा, निराशा वा अन्यायको अनुभूतिलाई आत्मदाहजस्तो अन्तिम निर्णयमार्फत अभिव्यक्त गर्न बाध्य हुनु कानुनी राज्यका लागि अत्यन्त गम्भीर चेतावनी भएको उनले बताएका हुन्।
‘एउटा व्यक्तिको मृत्युमा परिवारले आफ्नो सदस्य मात्र गुमाउँदैन, समाजले एउटा सक्रिय नागरिक गुमाउँछ र राज्यले आफ्ना नागरिकप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्नको सामना गर्नुपर्छ,’ अध्यक्ष यादवको वक्तव्यमा उल्लेख छ। अध्यक्ष यादवले उक्त घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगका रूपमा टार्न नहुने उल्लेख गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि तथा त्यसतर्फ पुर्याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन्। घटनामा कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरबाही, अन्याय वा गैरजिम्मेवारी देखिए कानुनबमोजिम कडा कारबाही हुनुपर्ने उनको भनाइ छ।
यादवले सरकारले दिवंगत गणेश नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोग तत्काल उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्। यस्तै, श्रमिक वर्ग, कामदार, युवा तथा आमनागरिकका गुनासा समयमै सम्बोधन गर्ने, न्यायमा सहज पहुँच सुनिश्चित गर्ने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
‘मानव जीवनभन्दा ठुलो कुनै पनि विषय हुन सक्दैन। राज्यको पहिलो दायित्व नागरिकको जीवन, सम्मान र न्यायको संरक्षण गर्नु हो। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,’ यादवले वक्तव्यमा उल्लेख गरेका छन्। यस प्रकारका दु:खद घटनालाई राज्य, समाज र सम्बन्धित सबै पक्षका लागि गम्भीर आत्मसमीक्षा र जिम्मेवारीबोधको विषय बनाउनुपर्ने उनले बताएका छन्।
