वैदेशिक रोजगारीका लागि दुबई जान राहदानी बनाउने चक्करमा लागेका मुगुका गणेश नेपाली यतिवेला वीर अस्पतालको आइसियूमा उपचाररत छन् । बिहीबार दिउँसो त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका नेपालीको ६० प्रतिशत शरीरका भाग जलेका छन् । प्रहरीका अनुसार धेरै चोट छाती, घाँटी, अनुहार र हातमा लागेको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइसियूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुरको कमलविनायक बस्दै आएका २५ वर्षीय नेपाली बिहीबार मोटरसाइकलमा यात्रु बोकेर त्रिपुरेश्वर उत्रिए । यात्रु आफ्नो बाटो लागेपछि उनले मोटरसाइकल सडक किनारमा पार्क गरे । र, राहदानी बनाउने सम्बन्धमा जानकारी लिन विभाग प्रवेश गरे । विभागबाट बाहिरिएका गणेश मोटरसाइकलनजिक पुगे । त्यसवेलासम्म काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलको चक्कामा लक लगाइसकेको थियो । उनले दायाँबायाँ हेरे, नजिकै नगर प्रहरी उभिएको देखे । उनी नगर प्रहरीनजिक पुगे । लक खोल्न आग्रह गरे । तर, नगर प्रहरीले हजार रुपैयाँ जरिवाना नतिरी लक नखोल्ने बताए । र, चिट काटे ।
जरिवाना तोकिएपछि गणेश प्रतिवादमा उत्रिए । दुई पक्षबिच केहीबेर भनाभन चल्यो । गणेश कारबाहीबापतको शुल्क नतिर्ने भन्दै घटनास्थलबाट निस्किए । नगर प्रहरी भने उनको मोटरसाइकललाई बग्गीखाना लैजान गाडी मगाउने प्रयत्नमा जुट्यो । केही घण्टापछि गणेश पुनः मोटरसाइकलनजिक देखिए । मोटरसाइकलबाट प्लस्टिकको बोतलमा पेट्रोल झिके । शरीरमा खन्याए । र, आफैँलाई आगो लगाए । सडकमा जल्दै गरेको युवाको दृश्यले नजिकै रहेको प्रहरीको ध्यान खिच्यो । उद्धारका लागि प्रहरी घटनास्थल पुग्यो । प्रहरीले उनको शरीरमा सल्किएको आगो निभायो । र, उनलाई उपचारका लागि वीर अस्पताल लिएर गयो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले गणेश आफैँले मोटरसाइकलबाट पेट्रोल झिकेर आगो लगाएको बताए । ‘गणेश राइडर रहेछन् । उनी बिहीबार बिहान यात्रु लिएरै त्रिपुरेश्वर पुगेको देखिन्छ । त्यसपछि पार्किङ गरिराखेको उनको मोटरसाइकलमा नगर प्रहरीले लक गरेको रहेछ । सोही विषयमा दुई पक्षबिच विवाद भएको रहेछ । त्यसपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आगो लगाएको देखिन्छ,’ उनले भने ।
मुगुको सोरु गाउँपालिका– १ का गणेश नेपाली दुई वर्षदेखि पठाओमा सेयर राइडिङ गर्दै आएका थिए । ६ वर्षअघि विवाह गरेका उनी लगत्तै रोजगारीका लागि काठमाडौं आएका थिए । कृषिमा जेटिए पास गरेका उनले गाउँमा रोजगार पाउन सकेका थिएनन् । दुई वर्षकी छोरी, श्रीमती र बुबाआमाको खर्च जोहो गर्ने जिम्मेवारी उनीमाथि थियो । पठाओबाट प्राप्त भएको आम्दानीले उनले खर्चको जोहो गर्दै थिए । पछिल्लोपटक भने उनी दुबई जाने योजनामा थिए । सोही सम्बन्धमा बुझ्न उनी बिहीबार विभाग प्रवेश गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले गणेश राहदानी बनाउने चक्करमा रहेको र सोही क्रममा विभाग प्रवेश गरेको बताए । उनले भने, ‘बिहीबार त्रिपुरेश्वरमा अप्रत्याशित घटना भयो । आत्मदाहको प्रयास गर्ने युवा राहदानी बनाउने चक्करमा रहेछन् । सोही विषयमा बुझ्न उनी विभाग गएका रहेछन् । फर्केर आउँदा मोटरसाइकलमा नगर प्रहरीले लक लगाएको रहेछ । सोही विषयमा विवाद हुँदा उसले आत्मदाहको प्रयास गरेजस्तो देखिन्छ । विभागबाट उनी ‘मेरो राहदानी नबन्ने भयो’ भन्दै बाहिरिएका रहेछन् ।’