स्पेनका गोलरक्षक सिमोनले फिफा विश्वकप फुटबल प्रतियोगितामा विश्व रेकर्ड बनाएको छ । विश्वकपमा लगातार ६ खेलमा गोल नखाने गोलरक्षकका रूपमा उनी शीर्ष रहेको फिफाले जनाएको छ । स्पेनले पनि सोमबार राति पोर्चुगललाई १–० ले हराउँदै लगातार ६ खेलसम्म प्रतिद्वन्द्वीलाई गोल गर्न नदिने रेकर्ड बनाएको हो । सिमोनविरुद्ध ६०९ मिनेटसम्म विपक्षी खेलाडीले गोल गर्न सकेका छैनन् ।
यसअघि इटालीका वल्टर जेन्गाले विश्वकपमा लगातार ५१७ मिनेटसम्म गोल खाएका थिएनन् । स्पेनका गोलरक्षक कासिलासले पनि विश्वकपमा ४७६ मिनेटसम्म आफ्नो पोस्टमा गोल गर्न दिएनन् । चालू विश्वकपमा स्पेनले केप भार्डसँग ०–० को बराबरीको नतिजा निकालेको थियो । साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले हराएको स्पेनले राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गर्दै लगातार पाँचौँ क्लिन सिट राखेको हो । यसअघि सन् २०२२ को कतार विश्वकपमा स्पेनले अन्तिम–१६ मा मोरोक्कोसँग निर्धारित समयमा ०–० को बराबरी खेलेको थियो । पेनाल्टी सुटआउटमा स्पेन पराजित भए पनि निर्धारित समयको खेललाई पनि क्लिन सिटका रूपमा फिफाले लिएको छ । विश्वकपमा सहभागी टोलीमध्ये स्पेनले डिफेन्सदेखि फिनिसिङ पक्षसम्म दरिलो प्रदर्शन गरेको छ । स्पेनले सन् २००८ देखि टिकिटाका शैलीको विकास गरेको थियो ।
यो शैली भनेको आधुनिक फुटबलमा बल पोसेसन राखेर विपक्षीविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनु हो । तत्कालीन प्रशिक्षक भिसेन्ट डेल बोस्कीले स्पेनको फुटबलको पुनरुत्थान गर्ने क्रममा टिकिटाका शैलीलाई अपनाएका थिए । प्रशिक्षक भिसेन्टले त्यसवेला स्पेनिस लिगमा आबद्ध खेलाडीलाई पहिलो प्राथमिकतामा राखे । यसमा बार्सिलोनाका खेलाडीहरूको बाहुल्य रहेको थियो । नयाँ शैलीमा स्पेनले सन् २००८ मा युरोकप, सन् २०१० मा विश्वकप तथा सन् २०१२ मा युरोकप उपाधि जितेको थियो ।
टिकिटाका शैलीको प्रभाव
स्पेनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नुपछाडि नै टिकिटाका शैली हो । यो शैलीलाई मजबुत बनाउन सुरुवाती प्रारम्भिक चरणमा साबी हर्नान्डे तथा एन्ड्रेन्स इनिस्टाजस्ता खेलाडीको योगदान प्रमुख मानिन्छ । स्पेनले युरोपियन राष्ट्र पोर्चुगललाई १–० ले हराउँदा टिकिटाका रणनीतिमै दबाब राखेको थियो । सन् २०१० को विश्वकप फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई १–० ले हराउँदाको झझल्को सोमबार राति पोर्चुगलविरुद्ध देखिएको थियो ।
‘स्पेनले जसरी १६ वर्षअघि दक्षिण अफ्रिकाको विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो । त्यही शैलीमा पोर्चुगललाई पनि यसपटक पाखा लगायो,’ स्पेनिस फुटबल एक्सपर्ट गुलेम वालागुले भने, ‘यस टिकिटाका शैलीको विशेषता नै बलियो टोलीलाई सहजै पोसेसनमा राखेर हराउनु हो । अहिले स्पेनको आक्रमण, मिडफिल्ड र डिफेन्स सबैभन्दा बलियो देखिएको छ ।’