मनसुनका २० दिन, वर्षा ८२.५ प्रतिशत मात्र : कोशी र गण्डकीबाहेकका प्रदेशमा कम वर्षा, मधेशमा खडेरी

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण
मनसुनका २० दिन, वर्षा ८२.५ प्रतिशत मात्र : कोशी र गण्डकीबाहेकका प्रदेशमा कम वर्षा, मधेशमा खडेरी

कैलाली गौरीगंगा नगरपालिका– १०, नुक्लीपुरको रोपो ।

नेपालमा मनसुन भित्रिएको २० दिनमा औसत ८२.५ प्रतिशत मात्र वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त तथ्यांकअनुसार सरदरभन्दा ६ दिन ढिलो ४ असारमा भित्रिएको मनसुनी वायुका कारण मंगलबारसम्म औसतको १९९.२ मिमि मात्र वर्षा रेकर्ड भएको छ । ३० वर्षको औसत तथ्यांकअनुसार यो अवधिमा २४१.४ मिमि वर्षा हुनुपर्ने हो ।

‘मनसुन नै ढिलो गरी भित्रियो । त्यसमा पनि कमजोर थियो,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् अशोक बख्रेलले भने, ‘समग्रमा देशभर नै कम पानी परेको छ । अन्यत्रको तुलनामा कोशी र गण्डकीमा राम्रो वर्षा भएको छ । तर, मधेशमा कम पानी परेको छ ।’ विभागका अनुसार नेपालको अन्न भण्डार मानिने मधेशमा २३१.५ मिमि वर्षा हुनुपर्नेमा मात्र १६१ मिमि (६९.५ प्रतिशत) वर्षा भएको छ । मधेशको गौरलगायत क्षेत्रमा २४४ मिमि हुनुपर्नेमा ६८.२ मिमि मात्र पानी परेको छ । वर्षा कम हुँदा देशभर रोपाइँ पनि ४५ प्रतिशत ७० हजार हेक्टरमध्ये ४४ लाख ३५ हजार हेक्टरमा मात्र भएको छ । यसमा पनि सबैभन्दा कम मधेशमा १५.६ प्रतिशत (तीन लाख ८५ हजार हेक्टरमध्ये ६० हजार हेक्टरमा) मात्र रोपाइँ भएको छ । यसले धान उत्पादनमा समेत असर पुर्‍याउने देखिन्छ ।

तर, कोशीमा भने ९७.१ प्रतिशत पानी परेको छ । यो अवधिमा कोशीमा २६६.६ मिमि पानीलाई औसत मानिएकामा २५८.८ मिमि परेको छ । संखुवासभाको नुम स्टेसनमा देशकै सर्वाधिक ७८३.४ मिमि वर्षा रेकर्ड भएको छ । जबकि त्यहाँ ५८७.२ मिमि सरदर हो ।

बागमतीमा औसतको ७२.१ प्रतिशत र लुम्बिनीमा ७६.३ प्रतिशत मात्र पानी परेको छ । यो अवधिमा बागमतीमा २४३. मिमि पानी पर्नुपर्नेमा १७५.५ र लुम्बिनीमा २२३.९ मिमि पर्नुपर्नेमा १७०.९ मिमि मात्र परेको छ ।

गण्डकीमा भने सरदरको ८९.९ प्रतिशत अर्थात् २६९ मिमि पानी परेको छ । यो अवधिमा गण्डकीको औसत वर्षा २९९.१ मिमि हो ।

कर्णाली र सुदूरपश्चिममा पनि पर्याप्त पानी पर्न सकेको छैन । कर्णालीमा ७७.२ प्रतिशत अर्थात् १५४.२ मात्र पानी परेको छ । यो अवधिमा कर्णालीमा १९९.८ मिमि पानी पर्नुपर्ने हो । डेढ साताअघि चरम खडेरीमा रहेको सुदूरपश्चिममा पछिल्लोपटक पानी परेको छ । तर, अझै सरदर पानी परेको छैन । यहाँ ८९.९ प्रतिशत अर्थात् १९१.५ मिमि पानी परेको छ । यहाँको औसत वर्षा २१३ मिमि हो ।

अब देखिनेछ शक्तिशाली एलनिनोको असर
ढिलो मनसुन भित्रिनु तथा कमजोर प्रणालीका कारण नेपालमा पछिल्लो २० दिनमा कम वर्षा भएको छ । तर, प्रशान्त महासागरको तटीय क्षेत्र तात्ने प्रणाली (एलनिनो)को असर भने नेपालमा अझै देखिन बाँकी छ ।

‘एलनिनोको एक महिनापछि मात्र नेपालमा असर देखिन थाल्छ । यसको अर्थ नेपालमा जुलाई १५ पछि मात्र प्रभाव पर्ने देखिन्छ,’ त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले भने, ‘यो साता त देशभर नै वर्षाका गतिविधि हुने देखिन्छन् । त्यसपछि ब्रेक हुन सक्छ ।’

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले पनि १९ असारमा विज्ञप्ति जारी गर्दै प्रशान्त महासागरमा विकसित भएको एलनिनो जुलाईदेखि सेप्टेम्बरको अवधिमा अझ शक्तिशाली हुनेछ । जसकारण दक्षिण एसियाली उपमहाद्वीपसहित विश्वका धेरै भागमा खडेरी र असामान्य मौसमको जोखिम बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार एलनिनोले जमिनमा तातो हावाको लहर, समुद्रको तापक्रम वृद्धि तथा खडेरीको जोखिमलाई अत्यधिक बढाउँछ । विशेष गरी ‘३.४’ क्षेत्र (मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागर) को तापक्रम सामान्यभन्दा २ डिग्री सेल्सियसभन्दा बढीले तातिने जोखिम भएकाले यस वर्ष यसको प्रभाव अझ धेरै हुने मोडेलहरूले देखाएका छन् ।

‘एलनिनो भएका वेला दक्षिण एसियाली मनसुन कमजोर हुने ट्रेन्ड नै छ । यसपालि पनि आगमन ढिलो भयो ।  समयमा पानी परेको छैन ।  खडेरीको अवधि लम्बिन पनि सक्छ,’ उनले भने, ‘अहिले एलनिनोको अवस्था हो । समुद्रको तटीय क्षेत्रको तापक्रम ०.१ डिग्री सेल्सियसले बढिसकेको छ । समुद्र तात्दा वायुमण्डलमा असर देखिन एक महिना लाग्छ । त्यहाँको तापक्रम २ डिग्री सेल्सियससम्मले बढ्ने आकलन छ ।’

यो प्रणालीले नेपालमा कम वर्षा हुनुका साथै तापक्रम सरदरभन्दा धेरै हुने आकलन छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै ऋतुगत आकलन जारी गर्दै मनसुनी अवधिमा सामान्यभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको थियो । जुन अहिले नेपालको वास्तविक मौसमसँग मिल्दोजुल्दो देखिएको छ । यसअघि सन् २०१५ र २०२३ मा पनि एलनिनोको प्रभाव थियो । एलनिनो भएका बर्खामा नेपालमा कम पानी परेको आकडा छ ।

मापन केन्द्रअनुसार फरक–फरक हुने भए पनि नेपालमा मनसुन ऋतुमा एक हजार ३६९.१ मिलिमिटर वर्षा हुनुलाई औसत वर्षा मानिन्छ । गत वर्ष बर्खामा सरदरको ८७.५ प्रतिशत अर्थात् एक हजार २९५.४० मिलिमिटर पानी परेको थियो । त्यसभन्दा अघिल्लो वर्ष भने सरदरभन्दा धेरै अर्थात् ११५.३ मिलिमिटर पानी परेको थियो ।

एलनिनो भएको वर्ष कम परेको छ नेपालमा पानी, यी हुन् १० सुक्खा बर्खा

  • इतिहासकै कम वर्षा भएका १० मनसुनी अवधिमध्ये ६ वटा पछिल्ला डेढ दशकभित्र

एलनिनो अर्थात् मनसुनी अवधिमा प्रशान्त महासागरको सरदर तापक्रम बढी भएको वर्ष नेपालमा पनि पानी कम परेको तथ्यांक छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा कम वर्षा भएका १० वटा बर्खा (मनसुन)मा एलनिनो भएका पाँचवटा छन् । जसमा सन् २०२३, २०१५, २००९, १९९२ र १९८२ रहेका छन् । कम वर्षामा सन् २००९ यताकै ६ बर्खा छन् ।

प्राप्त तथ्यांकअनुसार मनसुन अवधि (जुन–सेप्टेम्बर) मा सन् २०१५ मा इतिहासकै सबैभन्दा कम एक हजार १६९ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको थियो । यो वर्ष प्रशान्त महासागरमा एलनिनो चक्र सक्रिय रहेको थियो । नेपालमा मनसुन ऋतुमा औसत एक हजार ३८२ मिलिमिटर वर्षा हुने गर्छ ।

सबैभन्दा कम वर्षा भएका वर्षको सूचीमा सन् १९९२ दोस्रो स्थानमा रहेको छ, त्यतिखेर एक हजार १७१.३ मिलिमिटर वर्षा भएको थियो ।

त्यसपछि २००६ मा एक हजार १७६.६ मिलिमिटर, २००५ मा एक हजार १७८.३ मिलिमिटर, २००९ मा एक हजार २२१.८ मिलिमिटर, २०२५ मा एक हजार २६२.५ मिलिमिटर, १९८२ मा एक हजार २८१. ८ मिलिमिटर, २०२३ मा एक हजार २८७.७ मिलिमिटर, २०१४ मा एक हजार २८९.६ मिलिमिटर र २०१२ मा एक हजार २९७.३ मिलिमिटर मात्र वर्षा रेकर्ड छ । विशेष गरी सन् २००९, २०१२, २०१४, २०१५, २०२३ र २०२५ हालैका वर्ष लगातार कम वर्षाको सूचीमा छन् ।

जलवायुविद्हरूका अनुसार जलवायु परिवर्तनका कारण वर्षाको वितरण, समय र तीव्रतामा परिवर्तन भइरहेको छ । मनसुन कमजोर हुँदा कृषि उत्पादन, खानेपानी आपूर्ति, जलविद्युत् उत्पादन तथा समग्र जलस्रोत व्यवस्थापनमा प्रत्यक्ष असर पर्छ । कृषि र वर्षामुखी अर्थतन्त्र भएको मुलुकका लागि बढ्दो सुक्खापन केवल मौसमीय घटना नभई खाद्य सुरक्षा, ऊर्जा सुरक्षा र आर्थिक स्थायित्वसँग जोडिएको दीर्घकालीन चुनौतीका रूपमा उभिएको छ ।
 

See More On

सुझावित समाचार