रौतहटको गरुडा नगरपालिका– ५, झाझपुलस्थित एक मदिरा पसलबाट प्रहरीले एक राउन्ड गोली लोड गरिएको कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गरुडा नगरपालिका– ९, गम्हरिया बिर्तानिवासी गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा खानतलासीका क्रममा गरुडा नगरपालिका– ९, बिर्ताका अन्दाजी ४२ वर्षीय सदरे आलमको कम्मरमा भिरेको अवस्थामा एक राउन्ड गोली लोड गरिएको एकनाले कटुवा पेस्तोल फेला परेको थियो।
पक्राउपछि असार २३ गते गरिएको सोधपुछका क्रममा सदरे आलमले मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा थप गोली र नगद लुकाएर राखेको बताएका थिए। त्यसपछि उनलाई साथमा लिएर उक्त स्थानमा गरिएको खानतलासीबाट कटुवा पेस्तोलमा प्रयोग हुने चार थान लाइभ राउन्ड गोली, एक थान ब्ल्यांक राउन्ड, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार पाँच सय, नेपाली रुपैयाँ ३२ हजार पाँच सय तथा नाइट्राभेट ट्याबलेट दुई पिस बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।