घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत् महसुल लगाउने तयारी

दिन, साँझ र रातका लागि छट्टाछुट्टै दर

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकका लागि पनि मौसमी महसुल दर (सिजनल ट्यारिफ) लगाउने तयारी गरेको छ । १५ जेठमा आगामी आव ०८३/८४ को बजेट ल्याउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० युनिटमाथिको विद्युत् खपतमा भ्याट लगाउने व्यवस्था गरेका छन् । त्यसको चर्को आलोचना भएपछि उनले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताएका थिए । त्यसलाई सम्बोधन हुने गरी अब घरायसी उपझोक्तालाई पनि हिउँद र बर्खाका लागि फरक–फरक महसुल दर लगाउन लागिएको हो । त्यसमा पनि दिन (बिहान ५ देखि साँझ ५ बजेसम्म), साँझ (पिक आवर ५ देखि ११ बजेसम्म) र रात (११ देखि ५ बजेसम्म)का लागि फरक–फरक महसुल दर लगाउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको हो ।

हाल व्यापारिक तथा उद्योगहरूका लागि मौसमी दर कार्यान्वयन भइरहेको छ । उनीहरूका लागि हिउँद र बर्खामा फरक–फरक महसुल दर छ । त्यसमा पनि साँझ पिक आवर, राति र दिनका लागि फरक–फरक दर छ । अब सोही मोडलमा घरायसी ग्राहकलाई पनि मौसमी दर लागू गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीले बताए । यो मोडेलमा उपभोक्ताको विद्युत् लागत केही सस्तो हुन जाने दाबी गरिएको छ । औद्योगिक ग्राहकलाई समय र क्षमताअनुसार प्रतियुनिट ४.६५ रुपैयाँदेखि १३.२० रुपैयाँसम्म महसुलदर लाग्दै आएको प्राधिकरणको तथ्यांक छ ।

‘घरायसी उपभोक्ताका लागि पनि मौसमी दर लागू गर्ने गरी छलफल भइरहेको छ । हाल विद्युत् नियमन आयोगको नेतृत्व रिक्त अवस्थामा छ । सम्भवतः यही साता विद्युत् नियमन आयोगको अध्यक्षलगायतका पदाधिकारी नियुक्त हुन्छन्,’ स्रोतले भन्यो, ‘त्यसपछि यसको प्रक्रिया अघि बढ्छ ।’

प्रस्तावअनुसार हिउँदको दर उच्च र बर्खाको दर कम हुनेछ । समयअनुसार साँझ पिक आवरका लागि दर उच्च हुनेछ । दिनका लागि भने त्योभन्दा सस्तो दर लागू गरिनेछ । रातका लागि निर्धारण गरिने दर झन् सस्तो हुनेछ । यो मोडेल लागू गर्दा घरायसी उपभोक्ताको लागत कम पर्ने दाबी गरिएको हो । नेपालमा विद्युत् महसुल निर्धारण गर्ने अधिकार आयोगलाई छ । सामान्यत नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा आयोगले यस्तो दर निर्धारण गर्दै आएको छ । आयोगमा पदपूर्ति भएसँगै यसको प्रस्ताव प्राधिकरणमार्फत लैजाने तयारी छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि उपभोक्तालाई मौसमी दर लागू गर्ने विषयमा छलफल अघि बढेको बताए । ‘यो व्यवस्थापछि हिउँदमा भन्दा बर्खामा विद्युत् सस्तो हुन्छ । पिक आवरमा भन्दा दिनमा सस्तो हुन्छ । रातमा झन् सस्तो हुन्छ । यो भएपछि पिक आवरमा हुने विद्युत्को माग दिन र रातमा पनि डाइभर्ट हुन्छ । त्यसले गर्दा विद्युत्को आपूर्ति व्यवस्थापनमा पनि सहज हुन्छ,’ उनले भने, ‘उपभोक्तालाई पनि सस्तो पर्न जान्छ ।’

नेपालमा विद्युत्को ठुलो स्रोतका रूपमा जलविद्युत् रहेको छ । त्यसमा पनि अधिकांश नदी प्रवाहमा आधारित परियोजना छन् । त्यसले गर्दा बर्खामा खोलामा पानी धेरै हुँदा विद्युत् उत्पादन पनि पूर्ण रूपमा हुन्छ । फलस्वरूप बर्खामा विद्युत् उत्पादन धेरै हुन्छ  । जुन बेला निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा खोलामा पानीको सतह कम हुँदा उत्पादन पनि क्षमताको ३० प्रतिशत हाराहारीमा सीमित हुन्छ । त्यसवेला विद्युत्को माग धान्न आयात गर्नुपर्छ । प्राधिकरणले विद्युत् किन्दा पनि बर्खामा सस्तो र हिउँदमा महँगो पर्न जान्छ ।

१६ जेठदेखि १५ मंसिरसम्म वर्षात् र १६ मंसिरदेखि १५ जेठसम्म सुक्खायाम मानिन्छ । प्राधिकरणले पनि परियोजनासँग हिउँद र बर्खामा फरक–फरक दरमा विद्युत् खरिद गर्छ । नदी प्रवाहमा आधारित जलविद्युत्सँग बर्खामा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ प्रतियुनिटमा विजुली खरिद गरिन्छ ।

अर्ध जलाशययुक्त आयोजनाका लागि भने हिउँदमा पिक आवरका लागि प्रतियुनिट ८.५० रुपैयाँदेखि १०.५५ रुपैयाँसम्म पिपिए दर तोकिएको छ । यसमा आयोजनाले दिने पिक आवरअनुसार दर निर्धारण गरिन्छ । अफ पिक आवरका लागि भने ८.४० रुपैयाँ दर तोकिएको छ । बर्खायामका लागि भने ४.८० रुपैयाँ प्रतियुनिट नै पिपिए दर छ । यस्तै, जलाशययुक्त । आयोजकका लागि बर्खामा ७.१० रुपैयाँ र हिउँदमा १२.४० रुपैयाँ पिपिए दर तोकिएको छ ।

यसरी प्राधिकरणले परियोजनासँग मौसमअनुसार फरक–फरक दरमा विद्युत् खरिद गर्दै आएको छ । तर, महसुल संकलनमा झन्डै ६० प्रतिशत हिस्सा रहेको उपभोक्तालाई भने १२ महिना र २४ घण्टा नै एउटै दरमा विद्युत् बिक्री गरिँदै आएको छ ।

जुन वेला पनि एउटै दरमा विद्युत् पाइने भएपछि उपभोक्ताले आफ्नो अनुकूलको समयमा विद्युत् खपत बढी गर्छन् । सामान्य बिहान र साँझ पिक आवरमा उपभोक्ताले विद्युत् खपत धेरै गर्छन् । त्यसले गर्दा विद्युत् खपत हुने समयमा विविधीकरण हुन सकेको छैन । सामान्यत बिहान र साँझ पिक आवरमा विद्युत्को माग उच्च हुने र अन्य समयमा कम हुने भइरहेको छ । त्यसले विद्युत्को आपूर्तिलाई व्यवस्थापन गर्न पनि चुनौती भइरहेको छ ।

अब सिजन र समयअनुसार फरक–फरक दर लागू गर्दा विद्युत्को माग व्यवस्थापन पनि सहज हुने अपेक्षा गरिएको छ । सामान्यत अहिले साँझ पिक आवर र बिहानको समयमा घरायसी क्षेत्रबाट उच्च विद्युत् माग हुने गर्छ । तर, अन्य समयमा विद्युत् माग कम हुने गर्छ । कतिपय अवस्थामा विद्युत्समेत खेर जाने गरेको छ । त्यो अवस्थामा उपभोक्ता पिक आवरमा हुने विद्युत्को मागलाई रात र दिनको समयमा ‘डाईभर्ट’ गर्न पनि मौसमी दर लागू गर्न लागिएको हो ।

तर, परम्परागत मिटर चुनौती बन्दै 
मौसम र समयअनुसार विद्युत् महसुल दर लागु गर्न भने मिटरले भने चुनौती देखिन्छ । हाल घरायसी ग्राहकमा भएको मिटरले समयअनुसार विद्युत् खपतको तथ्यांक राखेर बिलिङ गर्न सक्दैन । त्यसका लागि टाइम अफ डे (टिओडी) मिटर चाहिन्छ । लाखौँ संख्यामा तत्काल टिओडी मिटर जडान हुने सम्भावना देखिँदैन । त्यो अवस्थामा मौसमी दर लागू गर्न परम्परागत मिटर चुनौतीका रूपमा आउन सक्ने प्राधिकरणका एक अधिकारीले बताए ।

सुझावित समाचार