डोल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, चारजना घाइते

बाढी-पहिरोले एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

डोल्पामा आइतबार बिहान आएको हिलोसहितको पहिरोमा पुरिँदा एकजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् । जगदुल्ला गाउँपालिका– ५, गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

हिलोसहित आएको बाढीपहिरो घरमा पस्दा आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा परेर ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सीता विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ भने अन्य तीनजना उपचारपछि डिस्चार्ज भएका छन् ।

मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनाको तनावका कारण बेहोस भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ । प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण संकलन तथा घटनाबारे अनुसन्धान गरिरहेको छ ।

See More On

सुझावित समाचार