- सन् १९९८ को विश्वकपमा फ्रान्ससँग १–० ले पराजित भएको पाराग्वेलाई २८ वर्षअघिको बदला लिने मौका
सन् १९९८ को विश्वकप फुटबल प्रतियोगितामा आयोजक फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र पाराग्वेलाई हराएको थियो । विश्वकपमा त्यसयता पाराग्वे र फ्रान्सबिच प्रतिस्पर्धा हुन लागेको यो नै हो । चालू २३औँ संस्करणको विश्वकपअन्तर्गत प्रिक्वार्टरफाइनलमा यी दुई टोलीले क्वार्टरफाइनल प्रवेशका लागि शनिबार प्रतिस्पर्धा गर्दै छन् । समूहदेखि राउन्ड अफ ३२ सम्म फ्रान्स र पाराग्वेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यद्यपि, तुलनात्मक रूपमा पाराग्वेभन्दा फ्रान्स डिफेन्सदेखि फिनिसिङसम्म बलियो देखिन्छ ।
फ्रान्स आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ । पाराग्वे २८ वर्षअघिको हारको बदला लिने योजनामा छ । दक्षिण अमेरिकी र युरोपियन शैलीमा हुने प्रतिस्पर्धा रोमाञ्चक बन्नेमा दुई मत नहोला । प्रशिक्षक डिडियर डेस्च्याम्पले पाराग्वेविरुद्ध खेलाडीलाई सतर्क रहन निर्देशन दिएका छन् । पाराग्वेले पनि प्रतियोगितामा डिफेन्ससँगै फिनिसिङमा सुधारिएको प्रदर्शन गरेको छ । यस्तोमा बदला लिने अवसर पाउँदा पाराग्वे थप सशक्त हुन सक्छ । यसकारण नै प्रशिक्षक डिडिएरले खेलाडीलाई गल्ती नगर्न निर्देशन दिएका हुन् ।
फ्रान्सले लगातार चार खेलमा जित निकाल्दा १३ गोल गरिसकेको छ । उसले दुई गोल व्यहोरेको छ । कप्तान केलियन एम्बाप्पेसँगै औसमाने डेम्बेले, ब्राड्ली बार्कोला र माइकल ओलिसेले उच्च फर्ममा छन् । प्रशिक्षक डिडिएरले समूह चरणको अन्तिम खेलमा उनीहरूलाई विश्राम दिएका थिए । त्यसवेला फ्रान्सको अट्याकिङमा रायन चेर्की, डेसायर डोउ, जेआन फिलिपले अवसर पाएका थिए । डिडिएर पाराग्वेको खेलसँग राम्रो जानकार छन् ।
‘मैले पाराग्वेको खेल हेरेको छु । उनीहरू मिहिनेतपूर्वक यहाँसम्म आइपुगेका छन् । हामीले विपक्षीलाई सामान्य सोच्नु गलत हुनेछ,’ उनले भने, ‘दक्षिण अमेरिकी टिम शारीरिक रूपमा बलियो छ । उनीहरूका खेलाडीमा पनि धेरै क्षमता छ ।’ फ्रान्सको जित नै अट्याकिङ खेल र स्कोरिङ पावर हो । पाराग्वेले फ्रान्सको यो पक्षलाई नजरअन्दाज गर्न मिल्दैन । सन् १९९८ को विश्वकपमा पाराग्वे र फ्रान्सबिचको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । खेलको ११४औँ मिनेटमा लौरेन्ट ब्लान्सले गोल्डेन गोल गर्दा पाराग्वे स्तब्ध भयो ।
दक्षिण अमेरिकी टोली पाराग्वेको मुख्य शक्ति नै विपक्षीमाथि काउन्टर र आक्रामक रूपमा प्रस्तुत हुनु हो । विशेषतः उनीहरूको यो क्षमता चारपटकको विजेता जर्मनीविरुद्ध देखिएको थियो । पेनाल्टीमा खेल जाँदा पाराग्वेसँग फ्रान्स सतर्क रहनुपर्छ । पाराग्वेका खेलाडी तथा गोलरक्षक यसमा पोख्त छन् ।
प्लेयर्स टु वाच
केलियन एम्बाप्पे (फ्रान्स)
फ्रान्सका कप्तान केलियन एम्बाप्पे पाराग्वेविरुद्ध सबैको नजरमा छन् । एम्बाप्पेले लगातार चारै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले प्रतियोगितामा ६ गोल संख्या पुर्याउँदै गोल्डेन बुटको दाबेदारमा अर्जेन्टिनी कप्तान लियोनल मेसीमाथि दबाब दिइरहेका छन् । एम्बाप्पेले सेनेगल, इराक र स्विडेनविरुद्ध समान दुई गोल गरेका थिए । रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका उनी विश्वकपकै सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो स्थानमा छन् । यसमा पनि उनले मेसीलाई चर्को दबाब दिएका छन् । मेसीको नाममा १९ र एम्बाप्पेले १८ गोल संख्या पुर्याएका छन् । फ्रान्सले लगातार क्वार्टरफाइनलमा स्थान बनाउँदा एम्बाप्पेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । विश्वकपमा एम्बाप्पेको खेल प्रदर्शन फरक हुने गर्छ । उनी विपक्षी खेलाडीलाई मौका नदिएर गोल गर्न सक्छन् ।
जुलिओ एन्सिसो (पाराग्वे)
फ्रान्सविरुद्ध खेल्दा मिडफिल्डर जुलिओ एन्सिसो महत्वपूर्ण खेलाडी हुनेछन् । प्रशिक्षक गुस्टाभो अल्भारोले एन्सिसोलाई विश्वास गरेका छन् । पछिल्ला चारै खेलमा उनी सहभागी भएका छन् । जर्मनीलाई स्तब्ध बनाउँदा एन्सिसोले नै पहिलो गोल गरेका थिए । उनले ४२औँ मिनेटमा गरेको गोलसँगै पाराग्वेले अग्रता बनाएको थियो । दोस्रो हाफमा जर्मनीले गोल गरेपछि पेनाल्टीमा पाराग्वे नै विजयी भएको थियो । एन्सिसोले टर्कीविरुद्ध र अमेरिकाविरुद्ध एक असिस्ट गरेका थिए । २२ वर्षीय मिडफिल्ड एन्सिसोले फ्रान्सको अट्याकिङ खेल रोक्ने क्षमता राख्छन् । मिडफिल्डबाट उत्कृष्ट ड्रिब्लिङ गरी साथीहरूलाई सटीक पास दिन उनी खप्पिस छन् । फ्रान्सको आक्रामक खेल रोक्ने र आफ्ना साथीहरूलाई गोल गर्न प्रेरित गर्ने एन्सिसोको भूमिका रहनेछ ।