फिफाले चालू फिफा विश्वकप फुटबल प्रतियोगितामा खेल सञ्चालन गर्ने रेफ्रीलाई बलियो बनाएको छ । तनावपूर्ण र खेललाई नियन्त्रणमा लिन उनीहरूलाई धेरै अधिकार दिइएको यसै विश्वकपमा हो । विश्वकपका समूहदेखि नकआउट चरणसम्म रेफ्रीहरूले सीधा १२ रेड कार्ड (रातो) देखाएका छन् । सन् २०१८ र २०२२ को विश्वकपका तुलनामा यसपटक धेरै हो । चालू विश्वकपमा अझै प्रिक्वार्टरफाइनलदेखि फाइनल खेल बाँकी नै छन् । फुटबल विशेषज्ञहरूले रेफ्रीले रेर्ड कार्ड देखाउँदै जाँदा फाइनल खेलपछि यसले नयाँ रेकर्ड बनाउन सक्ने दाबी गर्छन् ।
विश्वकपको इतिहासमा सन् २००६ को संस्करणमा धेरै रेड कार्ड देखाइएका थिए । त्यसवेला रेफ्रीहरूले समग्रमा २८ रेड कार्ड देखाए । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपको उद्घाटन खेलमै रेड कार्डको वर्षा भएको थियो । फुटबल विश्लेषक मार्क क्लाटेनबर्गले डिबक्सभित्र खेलाडीले गल्ती गरिरहँदा रातो कार्ड पाएको बताउँछन् । यसपटक खेलाडीले मुख छोपेर विपक्षी खेलाडीसँग वार्ता गर्दा पनि रेफ्रीले सिधै रेड कार्ड देखाएका छन् । यसले पनि यसपटक कार्डको संख्या बढ्न सक्ने विश्लेषक मार्कको भनाइ छ ।
‘दुई संस्करणको तुलनामा यसपालि रातो कार्डको संख्या अस्वाभाविक रूपमा बढ्न सक्छ । रेफ्रीलाई इतिहासमै बलियो बनाइएको छ,’ उनले भने, ‘पहिला डाइरेक्ट फल गर्दा वा खेलाडीबिच हात हालाहाल हुँदा कार्ड प्रदर्शन हुन्थ्यो । अहिले मुख छोप्दा वा अनावश्यक विवाद गर्दा रेफ्रीलाई रेर्ड कार्ड देखाउने अधिकार दिइएको छ ।’ विश्लेषक मार्कले खेलाडी सचेत रहँदा पनि सामान्य गल्तीमा रेर्ड कार्ड पाउँदा अन्याय भएको बताए ।
‘सबै रातो कार्ड पाएको खेल हेरौँ भने खेलाडीले खराब व्यवहार गरेका छैनन् । तर, पेनाल्टी क्षेत्रवरिपरि दबाबमा गल्ती गरिरहेका छन्,’ उनले भने, ‘अहिले टोलीमा २६ खेलाडी भएकाले एक खेल प्रतिबन्ध भोग्नुपरे पनि त्यसको विकल्प सजिलै छ ।’ यसपटक रेफ्रीहरूको कडाइ, भिडियो समीक्षा प्रणालीको सक्रिय प्रयोग र नयाँ नियमको कडा कार्यान्वयनले गर्दा पनि रेड कार्ड संख्या बढ्न सक्ने उनले बताए । विश्वकपमा नकआउट चरणमा पहिलो रेड कार्ड अमेरिकाका फोलारिन बालोगनले पाएका थिए ।
उनले बोस्निया हर्जगोभिनाविरुद्ध पहिलो गोल गरेका थिए । ६४औँ मिनेटमा विपक्षी खेलाडीको खुट्टामा कुल्चिएपछि भिएआरको सहयोगमा रेफ्रीले उनलाई रेड कार्ड देखाए । विश्वकपमा गोल गर्ने र रेर्ड कार्ड पाउने उनी दोस्रो खेलाडी हुन् । सन् २००६ को विश्वकप फाइनलमा फ्रान्सका जिनेदिन जिदानले इटालीविरुद्ध गोल गरेका थिए । पछि उनले रेर्ड कार्ड पाए ।
तीन देशले आयोजना गरिरहेको विश्वकपमा पिएरो हिन्कापिए (इक्वेडर), अगुस्टिन कानोब्बियो (उरुग्वे), रेबिन सुलाका (इराक), नाथन एन्गोय (बेल्जियम), मिगेल अल्मिरोन (पाराग्वे), असिम मादिबो (कतार), होमाम अहमद (कतार), तारिक मुहरेमोभिच (बोस्निया हर्जगोभिना), सेसार मोन्टेस (मेक्सिको), थेम्बा ज्वाने (दक्षिण अफ्रिका) र स्फेफेलो सिथो (दक्षिण अफ्रिका)ले सीधा रेर्ड कार्ड पाएका थिए ।
फाइनलमा रेड कार्ड
उपाधि भिडन्तमा खेलाडीले गल्ती गर्न चाहँदैनन् । सानो गल्तीले पनि उपाधि गुम्न सक्छ । उपाधिमा भिडिरहेका खेलाडीहरू यस पक्षसँग राम्रो जानकार हुन्छन् । तर, कहिलेकाहीँ होस गुमाउँदा प्रमुख खेलाडी नै रेड कार्डको सिकार हुन्छन् । विश्वकप इतिहासमा सन् २००६ र १९९० को फाइनलमा प्रमुख खेलाडीले रेड कार्ड पाउँदा उपाधिविमुख भए । सन् १९९० को फाइनलमा अर्जेन्टिनाले पश्चिम जर्मनीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा अर्जेन्टिनाका पेड्रो मोन्जोन र गुस्टावो डेजोटीले कार्ड पाए । पश्चिम जर्मनीले अर्जेन्टिनामाथि दबाब बनाउँदै फाइनल १–० ले जित्यो । सन् २००६ मा जर्मनीमा आयोजना भएको संस्करणको उपाधि भिडन्त फ्रान्स र इटालीबिच भएको थियो । फ्रान्सलाई फाइनलसम्म पुर्याउन प्रमुख योगदान दिएका जिनेदिन जिदानले विपक्षी खेलाडीलाई टाउकाले प्रहार गर्दा रेड कार्ड पाए । फ्रान्सले जिदानलाई मात्र गुमाएन, उपाधिविमुखसमेत भयो । यसैगरी, सन् १९९८ को फाइनलमा फ्रान्सका मार्सेल डेसेलीले रेड कार्ड पाएका थिए । तर, फ्रान्सले ब्राजिललाई हराउँदै विश्वकप ट्रफी जित्यो । सन् २०१० को स्पेनविरुद्धको फाइनलमा नेदरल्यान्ड्सका जोहन हेटिगाले पनि रातो कार्ड पाएका थिए ।
एक खेलमा चार रेड
जर्मनीले आयोजना गरेको विश्वकपमा रेफ्रीहरूले खेलाडीमाथि धेरै अन्याय गरेको मान्छन् । विश्वकपअन्तर्गत २५ जुनमा पोर्चुगल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरेका थिए । यस खेलमा पोर्चुगल र नेदरल्यान्ड्सका खेलाडीले निकै रफ खेले । रेफ्रीले खेल नियन्त्रण गर्न चार रेर्ड कार्ड देखाए । विश्वकपमा ६ खेलमा रेफ्रीले तीन रेड कार्ड देखाएका छन् । सन् १९३८ को विश्वकपमा ब्राजिल र चेकोस्लोभाकियाबिचको खेलमा तीन रेड कार्ड रेफ्रीले देखाए । यसैगरी, १९५४ मा हंगेरी र ब्राजिलबिचको भिडन्तमा तीनवटै रेर्ड कार्ड देखाइएको थियो । सन् २००६ मा इटाली र अमेरिकाबिच भएको खेलमा पनि तीनवटै रेड कार्ड रेफ्रीले देखाए । यसैगरी, सन् २००६ मा क्रोएसिया र अस्ट्रेलियाबिचको खेलमा पनि यस्तै भयो । चालू विश्वकपको उद्घाटन खेलमा रेड कार्डको वर्षा भयो । मेक्सिको र दक्षिण अफ्रिकाबिच खेल भएको थियो । जसमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रेर्ड कार्ड पाए ।
जिदान र सोङका खराब रेकर्ड
विश्वकपमा फ्रान्सका जिदान सर्वकालीन महान् खेलाडी हुन् । उनले आफ्नो प्ले मेकर भूमिकामा फ्रान्सलाई सन् १९९८ को विश्वकपको उपाधि दिलाए । उत्कृष्ट प्रदर्शन गरी उनले सन् २००६ को विश्वकपमा फ्रान्सलाई फाइनलसम्म पुर्याए । तर, उनको नाममा रेड कार्डको खराब रेकर्ड छ । विश्वकपमा अहिलेसम्म दुईजना खेलाडीले मात्र दुईपटक रेड कार्ड पाएका छन् । जिदान र क्यामरुनका रिगोवर्ट सोङ हुन् । सोङले सन् १९९४ मा ब्राजिल र सन् १९९८ मा चिलीविरुद्धको प्रतिस्पर्धामा खराब फल गर्दा यस्तो कारबाहीमा परेका थिए । जिदानले भने सन् १९९८ मा घरमै आयोजना भएको विश्वकपमा साउदी अरेबियाविरुद्ध सिधा रेड कार्ड पाएका थिए । त्यसपछि सन् २००६ को फाइनलमा उनले रेड कार्ड पाए ।
– एजेन्सीको सहयोगमा