यात्रु सवार गाडी भिरबाट खस्यो कर्णालीमा : एकजनाको मृत्यु, अन्य यात्रु र गाडी बेपत्ता

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

यात्रुवाहक गाडी बिहीबार कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका– ७, सांगेतरामा भिरबाट कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.२–००१ ख १०५५ नम्बरको गाडी भिरबाट चार सय मिटर तल नदीमा खसे पनि एकजनाबाहेक अन्य यात्रु र गाडी फेला पर्न सकेका छैनन् । भिरमा अचेत फेला परेका ३५ वर्षीय एक युवाको उद्धार गरेर दुल्लु अस्पताल पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

दैलेखका प्रहरी प्रमुख (डिएसपी) श्रवणकुमार विकले सुर्खेतबाट बिहान ८ बजे गाडी छुट्दा तीनजनाको चलानी काटेको खबर प्राप्त भएको आधारमा गाडीमा कम्तीमा पाँचजना सवार रहेको आकलन गरिएको बताए ।

यद्यपि, बिचबाटोमा अन्य यात्रु थपिएकाबारे खुलेको छैन । ‘एकजनाको ज्यान गएको छ । बाँकी कति जना थिए भनेर खुल्न सकेको छैन,’ उनले भने, ‘पानी परिरहेको थियो । खोँच र भिरबाट गाडी खसेको छ । बिहीबार दिनभर खोज्दा पनि भेट्टाउन सकेनौँ । अब शुक्रबार फेरि खोज्छौँ ।’ कर्णालीमा बाढी आएकाले खोजबिनमा समस्या भएको उनले बताए । 

सुर्खेतबाट सशस्त्र प्रहरी बलको विशेष गोताखोर टोली दुर्घटनास्थलमा पुगेर खोजी सुरु गरिसकेको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले नदीको बहाव निकै उच्च रहेको र पानी धमिलो भएकाले गोताखोर र सुरक्षाकर्मीलाई खोजतलास गर्न कठिन भइरहेको बताए । ‘भौगोलिक विकटताका कारण पनि उद्धारमा चुनौती छ,’ उनले भने । 

जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी बल दैलेख र माथिल्लो कर्णाली सुरक्षा बेसक्याम्पको टोलीसहित ३५ जनाभन्दा बढी सुरक्षाकर्मी उद्धार सामग्रीसहित संयुक्त रूपमा परिचालन भएका छन् ।
 

See More On

सुझावित समाचार