विश्वकपमा अप्रत्याशित नतिजाहरू

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

चालू २३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह चरणमा चारपटकको विजेता जर्मनीमाथि इक्वेडरको २–१ को नतिजा नै अप्रत्याशित रूपमा रह्यो । यद्यपि, स्पेनलाई केप भार्डेले गोलरहित बराबरीमा रोक्नु पनि स्तब्ध नै थियो । कमजोरले बलियो राष्ट्रविरुद्ध निकाल्ने जितलाई अप्रत्याशित भनिएको छ । विश्वकपमा यस्ता उदारणीय नतिजा पनि छन् ।

अमेरिका १–०, इंग्ल्यान्ड (१९५०)
सन् १९५० विश्वकपमा इंग्ल्यान्ड र अमेरिकाबिचको खेल एकपक्षीय हुने आकल थियो । इंग्ल्यान्डले अमेरिकालाई १०–० को फराकिलोअन्तरले हराउने प्रचारबाजी भयो । इंग्ल्यान्ड विश्वकप दाबेदार टिम थियो । अमेरिकासँग विश्वकप अनुभव त्यति थिएन । स्टार खेलाडीले भरिएको इंग्ल्यान्डमाथि अमेरिकाले अप्रत्याशित १–० को जित निकाल्यो । खेलमा अमेरिकाबाट जोए जाएजेनसले गरेका थिए ।

पश्चिम जर्मनी ३–२, हंगेरी (१९५४)
सन् १९५४ को विश्वकपमा हंगेरी उत्कृष्ट फर्ममा थियो । विश्वकपमा सहभागी हुनुअघिसम्म हंगेरी चार वर्षसम्म अपराजित टोली थियो । फेरेन्स पुस्कासजस्ता विश्वप्रसिद्ध फुटबलरको साथ रहेको हंगेरीले फाइनलमा पश्चिम जर्मनी विपक्षी पायो । हंगेरीले पहिलो आठ मिनेटभित्र २–० को अग्रता लिँदै विश्व च्याम्पियन बन्ने छाँट देखायो । जर्मनीले तीन गोल गर्दै हंगेरीलाई ३–२ ले स्तब्ध पार्दै पहिलोपटक विश्व च्याम्पियन उपाधि जित्यो ।

उत्तर कोरिया १–०, इटाली (१९६६)
इंग्ल्यान्डले पहिलोपटक विश्वकप फुटबल आयोजना गरेको थियो । त्यही संस्करणमा उत्तर कोरियाले पनि भाग लियो । उत्तर कोरियाको फुटबल टिमले सनसनी नतिजा निकाल्ने कसैले अनुमान गरेका थिएनन् । पहिलो खेलमा सोभियत युनियनसँग ३–० ले हारेको उत्तर कोरियाले नकआउट चरणमा पूर्वच्याम्पियन इटालीलाई १–० ले हराउँदै क्वार्टरफाइनल पुग्यो । उत्तर कोरिया विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो एसियन राष्ट्र बन्यो । कोरियाका लागि एक मात्र गोल पाक डो इकले गरेका थिए ।

स्कटल्यान्ड ३–२, नेदरल्यान्ड्स (१९७८)
नेदरल्यान्ड्सले सन् १९७०–८० को दशकमा टोटल फुटबलको विकास गरेको थियो । फुटबल इतिहासमा नेदरल्यान्ड्सको यो शैली अहिलेसम्मकै आकर्षक मानिन्छ । समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डसँग खेलेको थियो । स्कटल्यान्डले नेदरल्यान्ड्सविरुद्ध अचम्मसँग खेल्यो । खेलको ६८ मिनेटमा स्कटल्यान्ड ३–१ ले अगाडि रह्यो । खेलको ७१ मिनेटमा नेदरल्यान्ड्सले एक गोल फर्कायो ।

५ स्पेन ०–१, उत्तर आयरल्यान्ड (१९८२)
विश्वकपमा पहिलोपटक उत्तर आयरल्यान्ड छनोट भयो । उत्तर आयरल्यान्डले विश्वकपमा आयोजक राष्ट्र स्पेनविरुद्ध सनसनी नतिजा निकाल्यो । समूह चरणमा आयरल्यान्डले १–० को अग्रता लियो । गेरी आर्मस्ट्रोगले एक मात्र निर्णायक गोल गरेका थिए । उनको त्यही एक गोलले उत्तर आयरल्यान्ड क्वार्टरफाइनलमा पुग्यो ।

अर्जेन्टिना ०–१, क्यामरुन (१९९०) 
विश्वकपको साबिक विजेता राष्ट्र अर्जेन्टिना डिएगो म्याराडोनाको प्रेरणामा फाइनलसम्म पुग्यो । समूह ‘बी’को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अप्रत्याशित नतिजा व्यहोर्यो । अफ्रिकन राष्ट्र क्यामरुनले अर्जेन्टिनालाई १–० ले हरायो । क्यामरुनका लागि एक मात्र गोल फ्रान्सिस्को वियिकले गरेका थिए । क्यामरुनका दुई खेलाडीले रातो कार्ड पाएका थिए । 
दक्षिण कोरिया २–१ इटाली (२००२)
आयोजक राष्ट्र दक्षिण कोरिया पहिलोपटक प्रिक्वार्टरफाइनलमा पुगेको थियो । कोरियाले नकआउट चरणमा पूर्वच्याम्पियन इटालीविरुद्ध प्रतिस्पर्धा गर्यो । खेलको ८८औँ मिनेटमा की हेयोङको गोलसँगै दक्षिण कोरिया १–१ को बराबरीमा पुग्यो । खेलको ११७औँ मिनेटमा आन जुङले कोरियालाई २–१ को जित दिलाए । त्यसवेला अतिरिक्त समय गोल्डेन गोलका रूपमा थियो । अतिरिक्त समयमा जसले पहिलो गोल गर्छ, जित उसैको हुन्थ्यो ।

सेनेगल १–०, फ्रान्स (२००२) 
साबिक विजेता फ्रान्सले समूह ‘ए’मा अफ्रिकन टोली सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्यो । प्लेमेकर जिनेदिन जिदान घाइते हुँदा सेनेगलविरुद्धको खेल प्रभावित बनेको थियो । सेनेगलले विश्वकपकै आफ्नो पहिलो खेलमा फ्रान्समाथि १–० को जित निकाल्यो । सेनेगलका पापा बाउपा डिओपले विजयी गोल गरेका थिए ।

जर्मनी ७–१, ब्राजिल (२०१४)
पाँचपटकको विजेता ब्राजिलले सेमिफाइनलमा खराब नतिजा आत्मसात् गर्यो । जर्मनीले पाँचपटकको विश्व च्याम्पियन र उनीहरूको घरमै ७–१ को सानदार जित दर्ता गर्यो । विश्वकप इतिहासमा यो नतिजा अहिलेसम्मकै अप्रत्याशित मानिएको छ । जर्मनीले पहिलो हाफमा ३–० र दोस्रो हाफमा ४ गोल गरेको थियो । यसै खेलमा जर्मनीका मिरोस्लाभ क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल संख्या पुर्याए । चालू विश्वकपमा क्लोजको रेकर्ड अर्जेन्टिनी कप्तान लियोनल मेसीले तोडेका छन् ।

नेदरल्यान्ड्स ५–१, स्पेन (२०१४)
सन् २०१४ को विश्वकपअन्तर्गत समूह ‘बी’को पहिलो खेलमा साबिक विजेता स्पेनले नेदरल्यान्ड्सको सामना गरेको थियो । संयोग कस्तो रह्यो भने सन् २०१० को विश्वकप फाइनलमा यी दुवै टोलीबिच भिडन्त भएको थियो । नेदरल्यान्ड्सले चार वर्षअघिको मिठो बदला लिँदै विश्व च्याम्पियन स्पेनमाथि ५–१ को जित निकाल्यो । साबिक विजेता पाँच गोलअन्तरले पराजित भएको यो नै पहिलोपटक थियो । खेलको २७औँ मिनेटमा साब अलोन्सोले अग्रता लिएका थिए । तर, त्यसपछि स्पेनको केही लागेन । नेदरल्यान्ड्सले एकपछि गोल गर्दै गयो । सो खेलमा नेदरल्यान्ड्सका रोबिन भान पर्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

साउदी अरेबिया २–१, अर्जेन्टिना (२०२२)
कतारले आयोजना गरेको विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुनुअघि अर्जेन्टिना ३६ खेलसम्म अपराजित थियो । विश्वकपमा आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध खेल्यो । कप्तान लियोनल मेसीले दसौँ मिनेटमा अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । पहिलो हाफमा अर्जेन्टिनाको थप एक गोल भारले परिवर्तन गर्यो । मध्यान्तरपछि साउदी अरेबियाले दुई गोल गर्दै अर्जेन्टिनालाई २–१ ले स्तब्ध पार्यो । सालेम अलले विजयी गोल गर्दा अर्जेन्टिनी समर्थक स्तब्ध भयो ।

इक्वेडर २–१, जर्मनी (२०२६) 
चालू विश्वकपको समूह चरणमा इक्वेडरले चारपटकको विजेता जर्मनीलाई २–१ ले हराउनु नै अप्रत्याशित नतिजा रह्यो । अमेरिकाको न्युयोर्क न्यु जर्सी रंगशालामा उपाधि दाबेदार जर्मनीविरुद्ध सनसनी नतिजा निकाली इक्वेडरले नकआउट चरण स्थान पक्का गर्यो । जर्मनीले दोस्रो मिनेटमै अग्रता लिएको थियो । लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा निल्सनले इक्वेडरलाई बराबरीमा फर्काए । खेलको ७७औँ मिनेटमा इक्वेडरका लागि गोन्जालो प्लाटाले २–१ को अग्रता दिलाए । यसै गोलमा इक्वेडरले जर्मनीलाई हरायो । 

See More On

सुझावित समाचार