६९ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको आइपिओ पाइपलाइनमा

४७ करोड २८ लाख ९४ हजार कित्ता निष्कासन गर्न बोर्डसमक्ष प्रस्ताव, उत्पादनमूलक क्षेत्रको हिस्सा धेरै

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण
  • नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति भएको एक साता बित्दा पनि पदबहाली हुन सकेन, नीतिगत कामकारबाही प्रभावित

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ६९ अर्ब ३० करोड ७७ लाख रुपैयाँबराबरको प्राथमिक सेयर (आइपिओ) निष्कासन अनुमतिका लागि पाइपलाइनमा देखिएका छन् । सेबोनको पछिल्लो तथ्यांकअनुसार एक सय चार कम्पनीको ४७ करोड २८ लाख ९४ हजार एक सय ६३ कित्ता सेयर सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

आइपिओ निष्कासनका लागि आवेदन दिनेमध्ये सबैभन्दा ठुलो हिस्सा उत्पादन तथा प्रशोधन क्षेत्रको छ । यस क्षेत्रका ३० कम्पनीले ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार रुपैयाँबराबरको १६ करोड ६४ लाख २५ हजार ५३ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । यो सूचीमा जगदम्बा स्टिल्स, अम्बे स्टिल्स, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, लक्ष्मी टेक्नोप्लास्टिक, श्री डिस्टिलरी, महाशक्ति मिसेन्ट, भूगर्भ सिमेन्टलगायत कम्पनी छन् ।

उत्पादनमूलक क्षेत्रपछि दोस्रो स्थानमा जलविद्युत् क्षेत्र छ । सेबोनका अनुसार जलविद्युत् क्षेत्रका ३४ कम्पनीले १७ अर्ब ५० करोड ३१ लाख रुपैयाँबराबरको १७ करोड १४ लाख ८३ हजार सात सय ३६ कित्ता सेयर निष्कासन गर्न सेबोनसमक्ष प्रस्ताव गरेका छन् । त्यसैगरी, होटेल तथा पर्यटन समूहबाट १८ वटा कम्पनीले ६ अर्ब ४५ करोड १३ लाख रुपैयाँबराबरको पाँच करोड ८२ लाख १३ हजार नौ सय ३० कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको सेबोनले जनाएको छ । 

त्यस्तै, अन्य समूहतर्फ १४ वटा विभिन्न व्यावसायिक कम्पनीहरूले पाँच अर्ब ९० करोड ९९ लाख रुपैयाँबराबरको चार करोड ८६ लाख २१ हजार ६९ कित्ता आइपिओ निष्कासनको अनुमति मागेका छन् । यस्तै, लगानी क्षेत्रबाट पाँच कम्पनीले तीन अर्ब ४१ करोड ६० लाख रुपैयाँबराबरको दुई करोड १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन् । माइक्रो इन्स्योरेन्सअन्तर्गत तीन कम्पनीले ६७ करोड ५० लाख रुपैयाँबराबरको ६७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न निवेदन दिएका छन् । अनुमोदन हुन बाँकी बोर्डले यो सूची दर्ता तथा प्रारम्भिक सार्वजनिक निष्कासनको स्वीकृतिका लागि प्राप्त निवेदनहरूको सूची मात्र भएको प्रस्ट पारेको छ ।

प्रस्तावित आइपिओमध्ये रकमका आधारमा केही ठुला आवेदनहरूमा जगदम्बा स्टिल्सको ६ अर्ब ६२ करोड रुपैयाँ, सौर्य सिमेन्टको पाँच अर्ब ३२ करोड रुपैयाँ, मारुती सिमेन्ट्सको चार अर्ब ९४ करोड रुपैयाँ, सिउरी न्यादी पावरको तीन अर्ब तीन करोड रुपैयाँ तथा रिद्धिसिद्धि सिमेन्टको करिब दुई अर्ब ९९ करोड रुपैयाँबराबरको निष्कासन प्रस्ताव रहेका छन् । यस्तै, होटेल क्षेत्रमा श्री एयरलाइन्सले एक अर्ब २६ करोड रुपैयाँबराबरको आइपिओ प्रस्ताव गरेको छ भने अन्य सेवा क्षेत्रमा डिस मिडिया नेटवर्कले एक अर्ब ९७ करोड रुपैयाँबराबरको आइपिओ निष्कासनका लागि आवेदन दिएको छ ।

यी हुन् प्रिमियममा आइपिओ निष्कासन माग गर्ने कम्पनी
तथ्यांकअनुसार हालसम्म प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न कम्पनीले आवेदन दिएका छन् । जसमा मारुती सिमेन्ट्स, सौर्य सिमेन्ट इन्डस्ट्रिज, जगदम्बा स्टिल्स, हुलास इन्फ्रा, अम्बे स्टिल्स रहेका छन् । साथसाथै, हुलास आइरन इन्डस्ट्रिज, रिद्धिसिद्धि सिमेन्ट, भगवती स्टिल इन्डस्ट्रिज, छायादेवी कम्प्लेक्स, हुलास फिनसर्भ हायर पर्चेज, कैलाश हेलिकोप्टरले पनि प्रिमियम मूल्यमा सेयर निष्कासनका लागि आवेदन दिएका छन् । यता, श्री एयरलाइन्स, नुम्बुर हिमालय हाइड्रोपावर, शिवम् होल्डिङ्सले पनि प्रिमियम मूल्यमा आइपिओ निष्कासनको प्रस्ताव गरेका छन् ।

अध्यक्षको पदबहालीमा ढिलाइ
सरकारले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टलाई बोर्डको अध्यक्षमा नियुक्ति दिएको छ । तर, नियुक्तिको निर्णय भएको एक साता बितिसक्दासमेत उनको पदबहाली हुन सकेको छैन । नयाँ अध्यक्षको पदबहालीमा ढिलाइ हुँदा सेबोनका नीतिगत तहका काम प्रभावित भएका छन् ।

बोर्डमा लामो समयदेखि आइपिओ पाइपलाइनमा छन् । तर, अनुमति पाउन सकेका छैनन् । बोर्डको नेतृत्व रिक्त हुँदा र अस्थिरताका कारण पनि आइपिओ निष्कासनको अनुमति दिन ढिलाइ हुँदै आएको छ । बोर्डका नवनियुक्त अध्यक्षले पदबहाली गरेपछि आइपिओले अनुमति पाउने अपेक्षा गरिएको पाइपलाइनमा रहेका कम्पनीका सञ्चालकहरूले बताएका छन् । विगतमा आइपिओ निष्कासनका लागि कमिसन खुवाउनुपरेको आरोप लागेको थियो । नयाँ अध्यक्ष भट्टलाई त्यो आरोप चिर्नुपर्ने दबाब पनि छ । 

See More On

सुझावित समाचार