राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान केन्द्रीय महामन्त्री कवीन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएपछि पार्टीको बृहत् एकता, समझदारी र संगठनको हितलाई सर्वोच्च प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
बुर्लाकोटीले एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवारबिच प्रतिस्पर्धामा रहनु आफ्नो चाहनाको विषय नभएको उल्लेख गर्दै राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने वेला पार्टीभित्र विभाजनको अवस्था सिर्जना हुन नदिन आफू पछि हटेको बताएका छन्।
उनले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी केन्द्रीय पदाधिकारी निर्वाचनमा समझदारी कायम होस् र पार्टीमा सकारात्मक तथा बृहत् एकताको चिन्तन प्रवर्द्धन होस् भन्ने उद्देश्यले व्यक्तिगत तथा पार्टीका शुभचिन्तकहरूसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
बुर्लाकोटीले आफू पार्टीको संस्थापक सदस्य रहेको स्मरण गराउँदै करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री र एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गरेका छन्।
आगामी कार्यकालमा पनि पार्टी सभापतिको नेतृत्वमा निर्वाचित हुने केन्द्रीय समितिमार्फत पार्टी निर्माणका दीर्घकालीन योजनालाई कार्यान्वयन गर्न सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।