भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या ३२ पुग्यो, सात सयभन्दा बढी घाइते

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने सात सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आधिकारिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन्।

केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएपछि राजधानी काराकास तथा आसपासका क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ। भूकम्पले सयौँ भवनमा क्षति पुर्याएको छ भने धेरै संरचना भत्किएका छन्।

भत्किएका भवनका भग्नावशेषमा पुरिएका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ। उद्धारकर्मीका अनुसार भग्नावशेषभित्रबाट जीवित व्यक्तिहरूको सहयोगका लागि पुकार सुनिएकाले खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले प्रारम्भिक मूल्यांकनमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिएको छ। संस्थाले मृतकको संख्या हजारौँसम्म पुग्न सक्ने उच्च जोखिम औँल्याएको छ।

भूकम्पका कारण राजधानी काराकासका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ। राष्ट्रिय बिदाको दिन धेरै नागरिक घरभित्रै रहेका वेला भूकम्प गएको कारण क्षति थप बढेको अनुमान गरिएको छ।

यस भूकम्पको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको बताइएको छ।

सुझावित समाचार