मंसिर ११ देखि १५ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन घोषणा गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका तल्ला तहका कमिटी र जनसंगठनहरूको समायोजनसँगै डिजिटल सदस्यता नवीकरणलाई तीव्रता दिएको छ । साबिकको माओवादी, एकीकृत समाजवादीसहित विभिन्न २७ पार्टी–समूह मिलेर बनेको नेकपाले एकता प्रक्रियामा सहभागी दलका संगठन समायोजन अघि बढाउँदै प्रदेशगत रूपमा जिल्ला, पालिका र वडाको अधिवेशनको तयारी गरेको हो ।
कोशीमा इन्चार्ज राजेन्द्र राई, सहइन्चार्ज सावित्रीकुमार काफ्ले र परशुराम बस्नेत, संयोजक हर्कबहादुर नेम्वाङ र सहसंयोजक सरिता खड्का तथा राजेन्द्र किराँतीको नेतृत्वमा समायोजनको काम अघि बढेको छ । इन्चार्ज राईले तल्ला तहको समायोजनको काम भइरहेको र १० असारभित्र सक्ने लक्ष्य रहेको बताए ।
मधेशमा इन्चार्ज महेन्द्रराय यादव, सहइन्चार्ज मातृका यादव, रामकुमार भट्टराई, विश्वनाथ शाह र श्रीप्रसाद शाह तथा संयोजक राजु खड्का र सहसंयोजक सुधीर शाहको नेतृत्वमा समायोजनको काम सुरु भएको छ ।त्यस्तै, बागमतीमा इन्चार्ज गंगालाल तुलाधर, सहइन्चार्ज लालबहादुर तामाङ, सूर्यप्रकाश सुवेदी, हितबहादुर तामाङ र सालिकराम जम्कट्टेल, संयोजक सरल सहयात्री र सहसंयोजक भीम दाहाल र बन्दना सुवेदीको नेतृत्वका समायोजनको काम अघि बढेको छ ।
गण्डकीमा पनि इन्चार्ज देवेन्द्र पौडेल, सहइन्चार्ज अमृता थापामगर, श्रीनाथ बराल र हरिराज अधिकारी तथा संयोजक कृष्ण नेपाली र सहसंयोजक गायत्री गुरुङको नेतृत्वमा तल्ला तहसम्म समायोजनको काम भइरहेको छ ।लुम्बनीमा इन्चार्ज चक्रपाणि खनाल, सहइन्चार्ज मेटमणि चौधरी र पूर्णकुमारी सुवेदी, संयोजक अब्दुल हुसेन खाँ र सहसंयोजक कृष्ण अधिकारी छन् ।
त्यस्तै, समायोजन प्रक्रियाका लागि कर्णालीमा इन्चार्ज चन्द्रबहादुर शाही, सहइन्चार्ज टेकबहादुर बस्नेत, संयोजक विमला केसी र सहसंयोजक ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा काम भइरहेको छ । सुदूरपश्चिममा पनि इन्चार्ज भानुभक्त जोशी र सहइन्चार्ज खगराज भट्ट तथा संयोजक हरिराम चौधरी र सहसंयोजक लालबहादुर खड्काको नेतृत्वमा तल्लो तहसम्म समायोजनको काम भइरहेको छ ।
उपत्यका विशेष प्रदेशमा इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विश्वनाथ प्याकुरेल तथा संयोजक विष्णु लामिछाने र सहसंयोजकमा जगत सिंखडालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, सम्पर्क प्रदेशमा इन्चार्ज यशोदा सुवेदी र सहइन्चार्ज वीरबलकाजी राई, संयोजकमा तारानाथ दाहाल र सहसंयोजकमा श्रीकृष्ण अधिकारी छन् । भारत प्रवासमा इन्चार्ज शेरबहादुर कुँवर, सहइन्चार्जमा ईश्वरीप्रसाद भण्डारी र जगतबहादुर रसाइली, संयोजकमा राजेन्द्र शर्मा र सहसंयोजकमा रामबहादुर डाँगी छन् ।
एसिया प्रवासमा इन्चार्ज डिबी क्षेत्री, सहइन्चार्ज द्रोण सिलवाल र मो. मुक्तदा मुसलमान, संयोजक शनिकुमार वली र सहसंयोजक भूपाल श्रेष्ठ छन् । त्यस्तै, पश्चिम प्रवासमा इन्चार्ज श्रीराम ढकाल, सहइन्चार्ज सुरेन्द्र भुसाल, सुवास पोखरेल र सीता खरेल, संयोजकमा शंकर पन्त र सहसंयोजकमा उदयराज गौतम, तिलक केसी र ध्रुव सुवेदी छन् ।
प्रदेश, जिल्ला हुँदै पालिका र वडा तहमा समायोजनको काम भइरहेको प्रचार विभाग प्रमुख रेखा शर्माले जानकारी दिइन् । ‘जिल्लासम्मको समायोजन प्रायः सम्पन्न भइसकेका छन् । अहिले पालिका र वडा तहमा समायोजनको काम भइरहेको छ । समायोजन सकेर भदौभित्र वडा, पालिका र जिल्ला अधिवेशन सक्ने लक्ष्य छ,’ उनले भनिन् । जनसंगठनको समायोजन पनि धमाधम अघि बढेको उनले बताइन् ।
साबिक माओवादी, एकीकृत समाजवादीसहित १९ कात्तिकमा एकता घोषणा हुँदा १० घटक आबद्ध थिए । त्यसपछि विभिन्न समूह थपिँदै २७ पुगेको छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने र सडकदेखि संसद्सम्म प्रभावशाली उपस्थिति जनाउने प्रतिबद्धतासहित पार्टी एकता भएको थियो । नेकपाले आगामी मंसिर दोस्रो साता एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसअघि सबै जिल्ला र पालिकामा कमिटीका साथै जनसंगठनहरू पनि समायोजन गर्नुपर्नेछ । समायोजनपछि अधिवेशन गर्ने तयारी छ ।
जनसंगठनमा अखिल नेपाल महिला संगठन, जनसांस्कृतिक महासंघ, नेपाल दलित मोर्चा, बुद्धिजीवी संगठनको एकता सम्पन्न भएको छ । अन्य जनसंगठनको समायोजनको काम भइरहेको नेकपाले जनाएको छ । नेकपाले ३२ जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोकेर समायोजन प्रक्रिया टुंग्याउने जिम्मेवारी दिएको छ । महिला संगठनको इन्चार्जमा जयन्ती राई र सहइन्चार्ज कमला रोका, अखिल नेपाल किसान महासंघको इन्चार्जमा बलदेव चौधरी र सहइन्चार्जमा कुमार पौडेल छन् ।
प्रेस संगठनको इन्चार्ज प्रकाश ज्वाला तथा सहइन्चार्ज शम्भु श्रेष्ठ र विष्णु सापकोटा, विद्यार्थी संगठनको इन्चार्ज रत्न ढकाल र सहइन्चार्ज सुदेश पराजुली, शिक्षक संगठनको इन्चार्ज माधव सापकोटा र सहइन्चार्ज केदार सञ्जेल, युवा संगठनको इन्चार्ज लक्ष्मण केसी तथा सहइन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ छन् ।
सहिद, बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्ज हितराज पाण्डे तथा सहइन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे, आदिवासी जनजाति महासंघको इन्चार्जमा सुरेश आलेमगर र सहइन्चार्ज पासाङ शेर्पा छन् । इन्जिनियर्स एसोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने र सहइन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज विरोध खतिवडा र सहइन्चार्ज कृष्ण आचार्य, कानुन व्यवसायी संगठनको इन्चार्जमा पूर्णबहादुर घर्ती र सहइन्चार्ज रामकुमार ज्ञवाली छन् ।
खेलकुद महासंघको इन्चार्ज केशव विष्ट र सहइन्चार्ज शिव कोइराला, जनसांस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन तथा सहइन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ, ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य र सहइन्चार्ज विष्णु लम्साल, दलित संगठनको इन्चार्ज गणेश विक र सहइन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एसोसिएसनको
इन्चार्ज देवेन्द्र पराजुली र सहइन्चार्ज भवानी खड्का छन् ।
पर्यटन फाँटको इन्चार्ज पुष्पविक्रम मल्ल र सहइन्चार्ज अन्जन थापा, पेसागत महासंघको इन्चार्ज कृष्णध्वज खड्का र सहइन्चार्ज प्रेमलकुमार खनाल, पूर्वसुरक्षाकर्मी संगठनको इन्चार्ज सन्तु दराई, प्राध्यापक फाँटको इन्चार्ज दीननाथ शर्मा र सहइन्चार्ज प्राडा इन्दु आचार्य, मधेसी संगठनको इन्चार्ज जोगकुमार बरबरिया र सहइन्चार्ज रामचन्द्र साह तेली, मुस्लिम संगठनको इन्चार्ज महेश्वर गहतराज र सहइन्चार्ज हकिकुल्ला खाँ तथा ताज मोहम्मद मियाँ छन् । वैदेशिक रोजगार व्यवसायी संगठनको इन्चार्ज नागेन्द्र चौधरी र सहइन्चार्ज समिता कार्की छन् ।
असार र साउनमा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने नेकपाको निर्णय छ । १५ भदौसम्म वडा तह, १६ भदौदेखि भदौ मसान्तसम्म पालिका तहका र असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । १५ कात्तिकसम्म प्रदेश अधिवेशन र ११–१५ मंसिरमा एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय नेकपाको छ ।
डिजिटल सदस्यता नवीकरण अभियान चल्दै
महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले केही दिनअघि पार्टी कार्यालय पेरिसडाँडाबाट संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । डिजिटल प्रणालीमार्फत सदस्यता नवीकरण प्रक्रियालाई सरल, छरितो, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
अभियानअन्तर्गत पार्टी सदस्यहरूले अनलाइन माध्यमबाट सहज रूपमा सदस्यता नवीकरण गर्न सक्ने नेकपाले जनाएको छ । सदस्यहरूको विवरण तथा अभिलेखलाई एकीकृत डिजिटल प्रणालीमा सुरक्षित राखिने व्यवस्था गरिएको छ । प्रविधिको पहुँच कम भएका क्षेत्रलाई ध्यानमा राख्दै आवश्यकताअनुसार वैकल्पिक सहजीकरणको व्यवस्था पनि गरिएको ज्वालाले बताए ।डिजिटल सदस्यता नवीकरण अभियानले पार्टीको सदस्यता अभिलेखलाई अद्यावधिक, व्यवस्थित र तथ्यमा आधारित बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।
प्रचार विभाग प्रमुख रेखा शर्मा भन्छिन्– जिल्लासम्मको समायोजन प्रायः सम्पन्न भइसकेको छ । अहिले पालिका र वडा तहमा समायोजनको काम भइरहेको छ । समायोजन सकेर भदौभित्र वडा, पालिका र जिल्ला अधिवेशन सक्ने लक्ष्य छ ।