हंगेरीका सांसदले देशको प्रधानमन्त्रीले आठ वर्षभन्दा बढी शासन गर्न नपाउने संवैधानि संशोधन पारित गरेका छन् । यो संशोधनले देशमा लामो समय शासन गरेका पूर्वप्रधानमन्त्री भिक्टर ओर्बानको सत्ता फिर्तीलाई प्रभावकारी रूपमा रोक्छ ।
ओर्बानको नेतृत्वमा रहेको फिडेज पार्टीको विरोधका बाबजुद आवश्यक सांसद सदस्यले सोमबार संशोधनको पक्षमा मतदान गरे । एक सय पचास सांसदले संशोधनको पक्षमा मतदान गर्दा ५० जनाले विपक्षमा मतदान गरेका थिए । ६ जना भने अनुपस्थित रहे ।
प्रधानमन्त्री पिटर मग्यार र उनको टिस्जा पार्टीको गत चुनावी अभियानका क्रममा गरेका प्रमुख वाचामध्ये प्रधानमन्त्रीको कार्यकालमा सीमा तोक्ने विषय पनि प्रमुख थियो । गत अप्रिलमा सम्पन्न संसदीय चुनावमा टिस्जा पार्टी दुईतिहाइभन्दा बढी मत हासिल गर्दै ओर्बानको १६ वर्ष शासन अन्त्य गरेको थियो । मग्यारले योलगायत विभिन्न सुधारमार्फत युरोपेली संघसँग बिग्रिएको बुडापेस्टको सम्बन्ध सुधार गर्ने बताएका छन् ।
यसअघि कार्यकाल सम्हालेपछिका सुरुवाती दिनमा प्रधानमन्त्री मग्यारले देशमा युरो मुद्रा चलाउने बताएका थिए । गत साता मात्रै मग्यारको सरकारले युरोपेली संघमा सामेल हुने युक्रेनको प्रवेश प्रक्रियालाई बुढापेस्टले लामो समयदेखि लगाउँदै आएको भिटो हटाउन सहमति जनाएको थियो । लगत्तै गत सोमबारदेखि किभले संघमा प्रवेश गर्ने प्रक्रिया सुरु गरेको छ ।