सुदूरपश्चिममा सरकार पुनर्गठनअघि मन्त्रिपरिषद् बैठक बसेको छ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारबाट फिर्ता हुन लागेका सबै मन्त्रीलाई धन्यवाद दिए भने मन्त्रीहरु विदाइ भएर निस्किएका छन्।
सामाजिक विकास मन्त्री मेघराज खड्काले सरकारबाट विदाइ हुनुअघि मन्त्रिपरिषद् बैठक बसेको बताए। ‘मुख्यमन्त्रीज्यूले अहिलेसम्म मिलेर काम ग¥यौँ, तपाइँहरुले सहयोग गर्नुभो भनेर धन्यवाद दिनु भयो। हामी विदाइ भएर निस्कियौँ’ मन्त्री खड्काले भने, ‘विदा हुनुअघि धन्यवाद आदानप्रदान भयो।’
पार्टीले सरकारमा पठाउने र फिर्ता गर्ने विषय सामान्य भएकाले आफूहरु खुशीका साथ विदा भएर निस्किएको उनले बताए। बैठकले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड २०८३ को मस्यौदा स्विकृत गर्ने निर्णयसमेत मन्त्री खड्काले जानकारी दिए।
बैठकमा छजनै मन्त्री सहभागी थिए। मुख्यमन्त्री शाहले सबै मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। सरकारमा सत्ताको नेतृत्व गरिरहेको काँग्रेस र सत्ता साझेदार नेपाली काँग्रेसका तीन÷तीन मन्त्री छन्। त्यस्तै काँग्रेसबाट दुई र एमालेबाट एक राज्यमन्त्री छन्।
काँग्रेस संसदीय दलमा देखिएको विवाद मिलाउन काँग्रेसले सबै मन्त्रीहरु फेरबदल गर्ने निर्णय गरेपछि एमालेले पनि आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको छ। काँग्रेसमा असन्तुष्ट पक्षले नाम दिए आजै मन्त्री नियुक्त गरिने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।