तीन वर्षअघि पहिरोले बगाएको सडक कालोपत्रे भएन

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिमको तराई र पहाडलाई जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग स्तरोन्नतिको काम ठप्प भएको छ । इन्धनको मूल्य बढेको र कालोपत्रेका लागि बिटुमिन (अलकत्रा)को अभाव भएको भन्दै एक महिनायता काम रोकिएको हो ।

स्तरोन्नतिअन्तर्गत कैलालीको गोदावरीदेखि सहजपुरसम्म ३१ किलोमिटर सडकमा कालोपत्रे थप्न थालिएकामा २५ प्रतिशत मात्र काम भएको छ । यही ३१ किलोमिटरभित्र गोदावरी नगरपालिकाको बुढीतोलामा पहिरोले बगाएको ३४० मिटर सडक कालोपत्रे गर्नुपर्नेछ ।

राजमार्गअन्तर्ग गोदावरी नगरपालिको बुढीतोलामा पहिरोले तीन वर्षअघि बगाएको ३४० मिटर सडक अझै कालोपत्रे भएको छैन । राजमार्ग स्तरोन्नतिको ठेक्काअन्तर्गत यो खण्ड पनि कालोपत्रे गरिनुपर्ने हो । तर, निर्माण सामग्रीको अभाव भएको भन्दै काम रोकिएकाले यो खण्ड यस वर्ष पनि कालोपत्रे नहुने देखिएको छ ।

साउन ०८० मा बुढीतोलामा ठुलो पहिरो आएर सडक बगाएपछि केही दिन राजमार्ग नै बन्द भएको थियो । त्यसयता उक्त खण्डमा बर्खामा हिलो र अरू वेला धुलोले यात्रुले सास्ती खेप्दै आएका छन् । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पहिरोपछि प्राविधिकले गरेको अध्ययनमा जमिनमुनि पानीको मूल रहेकाले उक्त क्षेत्रमा सडक बनाउनु उपयुक्त देखिएको थिएन ।

अहिले जमिनमुनि पोखरी बनाएर उक्त क्षेत्रमा सडक बनाउन मिल्ने बनाइएको डिभिजन प्रमुख राकेशकुमार यादवले बताए । पानीको चुहावट नहोस् भनेर मूलको पानी संकलन गर्न जमिनमुनि ५० फिट गहिराइका पाँचवटा इनार बनाइएका छन् । इनारमा जम्मा हुने पानी पाइपबाट भित्रभित्रै तल फालिएको उनले बताए ।

त्यस्तै, उक्त क्षेत्रमा पहिरो नियन्त्रणका काम पनि गरिएको सडक डिभिजनले जनाएको छ । पाँच करोड रुपैयाँ लागतमा इनार निर्माण र पहिरो नियन्त्रणका काम गत वर्ष सकिएको डिभिजन प्रमुख यादवले बताए । यही बाटो भएर कैलाली, कञ्चनपुरबाट पहाडी जिल्ला डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, दार्चुला र बझाङ जान तथा त्यहाँबाट तराई आउन दैनिक दर्जनौँ सवारीसाधन सञ्चालन हुन्छन् । 

सुझावित समाचार