- सामाजिक सञ्जाललाई कतिपयले अध्ययनको सहयोगी टुल्स बनाएका छन् भने कतिपयले करिअरको सुरुवाती पाइला नै बनाएका छन्
आजका जेन–जीको जीवन मोबाइल स्क्रिनसँग गहिरो रूपमा जोडिएको छ । विद्यार्थी, कलाकार, व्यवसायी, डेलिभरी राइडरलगायत हरेक पेसामा लागेका जेन–जीको दिनचर्या सामाजिक सञ्जाल वरिपरि घुमिरहेको छ भन्दा फरक नपर्ला । जेन–जीको धेरैजसो समय मोबाइल स्क्रिनमै बित्छ । उनीहरूको संसार अब कलेज, कार्यालय वा घरमा सीमित छैन, सामाजिक सञ्जाल, गेम, भिडियो प्लाटफर्म र अनलाइन प्लाटफर्मभित्र पनि फैलिएको छ ।
जेन–जीले सबैभन्दा बढी प्रयोग हुने प्लाटफर्ममा टिकटक, इस्टाग्राम र फेसबुक रिल्स पर्छन् । १५ सेकेन्डदेखि एक मिनेटसम्मका भिडियोहरू युवाले निरन्तर स्क्रोल गराइरहेका हुन्छन् । नृत्य, कमेडी, फेसन, मोटिभेसन, समाचार सबै एउटै स्क्रिनमा आउँछ । म्यासेन्जर, ह्वाट्एप जस्ता एपमा साथी, परिवार र सहकर्मीसँग जोडिन्छन् । आजकल उनीहरू धेरैको दैनिकी मोबाइल ‘नोटिफिकेसन’बाट सुरु हुन्छ ।
जेन–जीले सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको रूपमा मात्रै लिएका छैनन् । उनीहरूमध्ये कतिपयले सामाजिक सञ्जाललाई व्यवसाय विस्तारको टुल्स बनाएका छन्, कतिपयले अध्ययनको सहयोगी टुल्स बनाएका छन्, कतिपयले विश्रामस्थल बनाएका छन् भने कतिपयले करिअरको सुरुवाती पाइला नै बनाएका छन् ।
करिअर विस्तार गर्ने चौतारी
जेन–जी पुस्ताका लागि सामाजिक सञ्जाल केवल उपकरण होइन । काम, मनोरञ्जन, सम्बन्ध, आम्दानी र पहिचानको केन्द्र बनेको छ । धेरैले सञ्जाललाई व्यवसाय विस्तारको माध्यम पनि बनाएका छन् । भक्तपुरका प्रवीन थापा धेरैजस्तो अनलाइनमै हुन्छन् । उनले इन्स्टाग्राम, फेसबुक र टिकटकजस्ता प्लाटफर्म चलाउँछन् । उनी सामाजिक सञ्जाल मनोरञ्जनका लागि मात्र नभई नेटवर्किङ र व्यावसायिक कामका लागि प्रयोग गर्छन् । प्रवीन कन्सल्टेन्सीमा काम गर्ने भएकाले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनको अधिकतम समय फोनमै बित्ने गर्छ । विशेषगरी, अफिसको कामले उनी सधैँ अनलाइनमै रहनुपर्छ । प्रवीनका अनुसार अहिलेको समयमा सामाजिक सञ्जालविना कामै चल्दैन ।
काठमाडौंको टोखा बस्ने २१ वर्षीय आदर्श खतिवडा आजभोलि सामाजिक सञ्जालमा ‘फुड ब्लगर’का रूपमा परिचित छन् । इन्स्टाग्राम, टिकटक, युट्युब र फेसबुकजस्ता डिजिटल प्लाटफर्ममा खानेकुराका आकर्षक भिडियोहरू पस्किने आदर्शले दुई वर्षमै राम्रो पहिचान र आम्दानी कमाउन सफल भएका छन् । सानैदेखि युट्युब र सामाजिक सञ्जालमा रुचि राख्ने उनले फुड ब्लगिङलाई आफ्नो करिअरको रूपमा अगाडि बढाएका छन् । एउटा रेस्टुरेन्टमा आफैँले पैसा तिरेर खाएको भिडियोमा ‘मिलियन भ्युज’ आएपछि यस क्षेत्रमा निरन्तर अगाडि बढ्ने उनले हौसला पाए । सामाजिक सञ्जालको कामबाटै उनले आफ्नो पढाइ र व्यक्तिगत खर्च सजिलै धानिरहेका छन् । अहिले उनी कतिपय रेस्टुरेन्टको ब्रान्डिङका कन्टेन्ट क्रिएटरको रूपमा समेत कार्यरत छन् । डिजिटल संसारमा रमाउने आदर्शको दिन मोबाइलको नोटिफिकेसनबाटै सुरु हुन्छ । दिनमा १० देखि १२ घण्टासम्म सामाजिक सञ्जालमा बिताउँछन् ।
सुरुमा भिडियोमा भ्युज नआउँदा र नराम्रा कमेन्ट आउँदा उनी निराश हुन्थे । तर, अहिले दुई वर्षको अनुभवले उनलाई परिपक्व बनाएको छ । ‘सुरुवाती दिनमा भिडियोमा भ्युज नआउँदा डिप्रेस्ड हुन्थेँ । त्यसमाथि मान्छेले नकारात्मक कमेन्ट गर्थे, त्यसलाई ब्लक पनि गर्थेँ । तर, अहिले यस्ता कुराले खासै फरक पार्दैन,’ उनी भन्छन् । कामबाट राम्रो आम्दानी हुन थालेपछि घरमा पैसा माग्नु नपरेको उनी सुनाउँछन् । ‘सामाजिक सञ्जालको विभिन्न प्लाटफर्ममा भिडियो राख्न सक्यो भने धेरै राम्रो सम्भावना छ,’ उनी भन्छन्, ‘मैले खटेर काम गर्दा महिनाको एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ ।’
दुःखसुखको साथी
भक्तपुरका सुरेश तिमिल्सिना सामाजिक सञ्जालमार्फत ओझेलमा परेका मानिसका प्रेरणादायी कथा खोज्छन्, संकलन र प्रचार गर्छन् । उनले टिकटक र फेसबुकजस्ता माध्यमलाई मनोरञ्जनका लागि नभई संघर्ष र सफलताका वास्तविक कथा खोज्न प्रयोग गर्ने गरेका छन् । ती कथालाई ‘रुटिन अफ नेपाल बन्द’जस्ता प्लाटफर्ममा पोस्ट गर्छन् । सार्वजनिक गर्दा कतिपय असहायले आर्थिक र शैक्षिक सहयोगसमेत पाएका छन् । उनी आफ्नो अधिकतम समय सकारात्मक सन्देश प्रवाह गर्ने सामग्रीको खोजी र लेखनमा बिताउँछन् । यो काम उनले कुनै पारिश्रमिकविना स्वयंसेवकको रूपमा काम गर्छन् ।
उनले डिजिटल प्लाटफर्मलाई समाजसेवा र मानवीय भावना जोड्ने बलियो सेतुका रूपमा स्थापित गरेका छन् । ‘टिकटक, फेसबुक र इन्स्टाग्राम प्रयोग गर्छु । टिकटकमा मनोरञ्जनका भिडियोभन्दा बढी मोटिभेट हुने खालका सामग्री खोज्छु । किनभने, आफैँ पनि स्टोरी लेख्ने गर्छु,’ उनी भन्छन् । टिकटकमा कृषिमा केही गरिरहेका मान्छेको कथा, वैदेशिक रोजगारीबाट फर्केर गाउँमै उद्यम गरिरहेका व्यक्तिका प्रेरक कथा हेर्न मन पराउँछन् । फेसबुकमा पनि उनले मान्छेलाई सकारात्मक ऊर्जा दिने पेजलाई मात्र फलो गरेका छन् । कुनै प्रेरक प्रसंग भेट्नेबित्तिकै उनी त्यसको खोजीनीतिमा लाग्छन् । उनी भन्छन्, ‘कुनै अनलाइनले एकदम मोटिभेट हुने टाइपको कन्टेन्ट हालेको देखेपछि त्यसलाई पढ्छु, त्यसपछि त्योसँग सम्बन्धित मान्छेको नम्बर पत्ता लाउँछु र कुराकानी गरेर फेरि उसको अर्को स्टोरी बनाउँछु ।’
उनले हालसम्म हजारभन्दा बढी यस्ता लुकेका कथा लेखिसकेका छन् । उनी यो काम कुनै तलबका लागि नभई विशुद्ध स्वयंसेवकका रूपमा गर्छन् । उनका लागि सामाजिक सञ्जाल केवल समय कटाउने माध्यम मात्र नभई समाजका लुकेका सकारात्मक कथा बाहिर ल्याउने एउटा कर्मथलो बनेको छ । उनी भन्छन्, ‘मेरो कर्म नै सामाजिक सञ्जालमा छ । लुकेका कथा बाहिर ल्याइरहेको छु । कसैका दुःखको कथा ल्याएको छु, कसैका सुखका कथा । सामाजिक सञ्जाल मेरो सुखदुःखको साथी बनिरहेको छ ।’
सम्बन्धको माध्यम
हुलाकमार्फत चिठी आदानप्रदान गर्ने समय छैन अहिले । फोन गरेर हालखबर सोध्ने, सम्बन्ध कायम राख्ने समय पनि गुज्रिन लागेको महसुस हुन्छ । पोस्टबक्स नम्बर, इमेल आइडीसमेत साटफेर गर्ने समय गुज्रिँदै गएको देखिन्छ । आजका जेन–जी सामाजिक सञ्जालमा सक्रिय हुँदा सम्बन्धका पुराना माध्यम क्रमशः पुरानो हुँदै गएको देखिन्छ । अहिले सम्बन्धहरू फलोअर्स, सब्स्क्राइबरमा बदलिन थालेका छन् । जेन–जीका सम्बन्ध सामाजिक सञ्जालभित्र छन् । उदाहरणका रूपमा गेम स्ट्रिमिङलाई लिन सकिन्छ । जेन–जी अघिल्लो पुस्ताजस्तो राति अबेरसम्म भेटेर गेम खेलेर बस्दैनन् । उनीहरू अनलाइनमा भेट्छन् । अनलाइनमै टिम बनाउँछन् र अनलाइनमै राति अबेरसम्म गेम खेलेर बस्छन् । गेममा ‘टिम अप’ गर्ने चलन बढेको छ । काठमाडौंको कपनमा बस्ने २३ वर्षीय रोशन मगरले यसरी गेम खेल्ने गरेको सुनाउँछन् । ‘सामाजिक सञ्जालको सबैभन्दा ठुलो फाइदा नै ‘कनेक्सन’ कायम राख्नु हो । यसबाट केही नयाँ साथी पनि जोडिएका छन् । आफन्तसँग यसले नजिक पनि बनाउँछ । फुर्सद भएसम्म सामाजिक सञ्जाल चलारहेको हुन्छु,’ रोशन भन्छन् ।
ललितपुरका आधार सुनार उच्च माध्यमिक शिक्षा पूरा गरेर हाल घरमै छन् । उनी आफ्नो दैनिक जीवनमा मोबाइल फोनलाई अभिन्न अंगका रूपमा लिन्छन् । बिहान उठेदेखि बेलुकासम्म फुर्सदको समयमा फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको उनी बताउँछन् । उनका लागि सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभई साथीभाइ र आफन्तसँग सम्पर्कमा रहने प्रभावकारी साधन पनि हो । दैनिक रूपमा सन्देश आदानप्रदान गर्ने, साथीहरूको हालखबर बुझ्ने तथा विभिन्न विषयमा कुराकानी गर्ने काम सामाजिक सञ्जालमार्फत हुने गरेको उनी बताउँछन् ।
थकान मेटाउने डिजिटल छहारी
अघिल्लो पुस्ता थकाइ मेट्न चौतारा, पाटीपौवा जान्थे, साथीहरू मिलेर गफिन्थे । अहिलेको जेन–जी थकाइ मेटाउन सामाजिक सञ्जालमा बस्छन् । रिपोर्टिङका क्रममा भेटिएका अधिकांश जेन–जीको एउटै भनाइ थियो, हाम्रो थकाइ मेटाउने माध्यम सामाजिक सञ्जाल हो । ललितपुरकी सपना तामाङका लागि पनि सामाजिक सञ्जाल कलेजको व्यस्ततापछिको ‘रिल्याक्सेसन’को प्रमुख स्रोत हो । कलेजको पढाइले दिने मानसिक प्रेसरबाट केही समयका लागि टाढा रहन उनी सामाजिक सञ्जालको सहारा लिने गर्छिन् । उनी भन्छिन्, ‘कलेजबाट थाकेर आएपछि इन्टरटेनमेन्टका लागि मात्र सामाजिक सञ्जाल हेर्ने गर्छु ।’
सामाजिक सञ्जालले आत्मविश्वास घटाउने वा मानसिक रूपमा नकारात्मक प्रभाव पार्ने आमधारणा छ । तर, सपनाले त्यस्तो नकारात्मकता महसुस गरेकी छैनन् । उनी भन्छिन्, ‘म सामाजिक सञ्जालमा धेरै पोस्ट गर्ने वा सधैँ सक्रिय रहने सोच राख्दिनँ, त्यसैले मलाई यसले मेन्टल्ली इफेक्ट गर्दैन ।’ उनका लागि सामाजिक सञ्जाल एउटा ‘पर्सनल स्पेस’ हो, जहाँ उनी आफ्नो अनुकूलतामा रमाउने गर्छिन् ।
काठमाडौं रानीवन बस्ने प्राञ्जल दुवाडीका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको साधन मात्र नभई सूचनाको मुख्य स्रोत बनेको छ । उनी फेसबुकमार्फत खेलकुद, वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय घटनाक्रम नियाल्ने गर्छन् । प्राञ्जलका लागि सामाजिक सञ्जाल विश्वसँग जोडिने र समसामयिक विषयमा जानकार रहने एउटा महत्वपूर्ण डिजिटल मञ्च बनेको छ । कहिलेकाहीँ धेरै समय सामाजिक सञ्जालमा बिताउँदा अल्छी लाग्ने उनको अनुभव छ । उनले पढाइको तनाव कम गर्ने माध्यम सामाजिक सञ्जाललाई बनाएका छन् । उनी भन्छन्, ‘पढाइको तनाव कम गर्न मोबाइल चलाउँछु ।’
प्रतिभा मौलाउने बगैँचा
जेन–जी पुस्ताकी चर्चित गायिक हुन्, सलिना विक । उनको ‘चाइनो जो जिन्दगानी’जस्ता धेरै गीत चर्चित छन् । उनी पनि फेसबुक, इन्स्टाग्राम र टिकटकमा सक्रिय छिन् । उनले आफ्नो कलाकारिताको सुरुवात र प्रतिभा प्रस्फुटन गर्न टिकटकजस्ता सामाजिक सञ्जालले ठुलो सहयोग गर्यो । यी सञ्जालले उनलाई धेरै श्रोतामाझ पुग्न मद्दत गर्यो । अहिलेको समयमा कलाकारका लागि सामाजिक सञ्जालमा देखिनु अनिवार्यजस्तै भएको उनी बताउँछिन् । म्युजिक अध्ययन गरिरहेको हुनाले कुनै कुराको रिसर्च गर्न वा जानकारी लिन पनि उनले अनलाइन र सामाजिक सञ्जालको प्रयोग गर्छिन् । आफ्नो कामको अपडेट दिन पनि फेसबुक, इस्टाग्रामजस्ता प्लाटफर्ममा उनले पोस्ट राख्ने गर्छिन् । उनी प्रायः अनलाइन नै रहन्छिन् । सलिना भन्छिन्, ‘मैले सुरुवाती दिनमा आफ्नो ट्यालेन्ट सामाजिक सञ्जालमा देखाउन पाएँ । सञ्जाल नै मेरो प्रतिभा बाहिर ल्याउने माध्यम बन्यो ।’
अध्ययनको साथी
कानुन पढ्दै गरेकी अस्मिता विश्वकर्माको दिनको सुरुवात कुनै पुस्तकको पानाबाट होइन, मोबाइलमा आउने ‘नोटिफिकेसन’बाट हुन्छ । उनी मुख्यतया इन्स्टाग्राम र टिकटकमा बढी समय बिताउँछिन् । कानुनको विद्यार्थी भएकाले उनलाई नयाँ सूचना र विश्वका घटनाक्रमसँग जानकार हुन सामाजिक सञ्जाल साथी भएको छ । पुस्तकालय धाएर ठेली पल्टाउनुभन्दा इन्टरनेटमा एक ‘सर्च’को भरमा जानकारी पाउनु उनलाई सहज लाग्छ । उनी भन्छिन्, ‘लामो भिडियोभन्दा एक–दुई मिनेटको रिल्सबाट कुनै पनि कुराको सारांश बुझ्न सजिलो हुन्छ, जसले अध्ययनमा पनि सहयोग पुग्छ ।’
सामाजिक सञ्जाल उनका लागि नयाँ खोज र अध्ययनको सारथी बनेको छ । राजनीति र अन्य गम्भीर विषयमा अल्गोरिदमले मानिसलाई अर्को पक्षको कुरा सुन्न वा बुझ्न नै नदिने अवस्था सिर्जना गरेको उनको अनुभव छ । ‘अरूको जीवन सफल देख्दा आफूलाई कम ठान्ने र आफूलाई अरूसँग तुलना गर्ने प्रवृत्तिले गर्दा कतिपय युवा डिप्रेसनको सिकार भइरहेका हुन्छन्,’ उनी भन्छिन्, ‘यसको बानी परेपछि समय खेर गएको महसुस नहुने र अनहेल्दी प्रतिस्पर्धा बढ्ने हुँदा यसलाई सचेत भएर प्रयोग गर्छ ।’
विज्ञहरू भन्छन्– डिजिटल प्लाटफर्मलाई जिम्मेवार बनाउनुपर्छ
अधिवक्ता एंव डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलका अनुसार सामाजिक सञ्जालको ‘अल्गोरिदम’ मानिसलाई हुक गर्ने तरिकाले डिजाइन गरिएको हुन्छ । उनको बुझाइमा सामाजिक सञ्जालको बढ्दो लत (एडिक्सन) प्रयोगकर्ताको व्यवहारसँग मात्र सम्बन्धित विषय होइन । ‘कम्पनीले प्रयोगकर्तालाई सकेसम्म धेरै समय आफ्नो प्लाटफर्ममा राख्ने उद्देश्यले विभिन्न प्रणाली र अल्गोरिदम विकास गरेका हुन्छन्, जसको प्रभाव विशेषगरी किशोरकिशोरी र जेन–जीमा बढी देखिन्छन्,’ उनी भन्छन् ।
सिग्देलका अनुसार पछिल्ला वर्षमा सामाजिक सञ्जाल कम्पनीले बालबालिका र किशोरकिशोरीको सुरक्षा तथा मानसिक स्वास्थ्यमा ध्यान दिएका छन् कि छैनन् भन्ने विषयमा विभिन्न देशका अदालत र नीतिनिर्माण तहमा गम्भीर बहस भइरहेको छ । ‘प्लाटफर्म बनाउने क्रममा प्रयोगकर्ताको सुरक्षा, विशेषगरी बालबालिका र किशोरकिशोरीको हितलाई प्राथमिकता दिइएको छ कि छैन भन्ने बहस अहिले विश्वव्यापी रूपमा उठिरहेको छ,’ उनले भने ।
उदाहरणका रूपमा उनले अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाले केही सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनी व्यवस्था अघि सारेको उल्लेख गरे । सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर तोक्ने विषयमा पनि विभिन्न देशले नीतिगत छलफल अघि बढाएका छन् । तर, सिग्देलका अनुसार सामाजिक सञ्जाल उमेरका आधारमा प्रतिबन्ध लगाउनु मात्र समाधान होइन । ‘सबै जिम्मेवारी प्रयोगकर्तामाथि थोपर्ने कि सामाजिक सञ्जाल निर्माण कम्पनीलाई सुरक्षित प्लाटफर्म बनाउन बाध्य पार्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालमा पहुँच रोक्ने विषयले बालबालिका र किशोरकिशोरीको सूचनामा पहुँच, अभिव्यक्ति स्वतन्त्रता र सहभागिताको अधिकारसँग पनि सम्बन्ध राख्ने भएकाले यसलाई सन्तुलित ढंगले हेर्न आवश्यक छ ।’
नेपालमा भने यस विषयमा पर्याप्त बहस हुन नसकेको उनको धारणा छ । सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माणको प्रयास भइरहे पनि त्यसले पार्ने सामाजिक, शैक्षिक र मनोवैज्ञानिक प्रभावका विषयमा पर्याप्त अध्ययन र छलफल आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिलेको पुस्तालाई सामाजिक सञ्जालबाट पूर्ण रूपमा अलग गर्न सम्भव छैन । त्यसैले प्रतिबन्धभन्दा पनि डिजिटल साक्षरता र डिजिटल सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।’
मनोविद् विजय ज्ञवालीका अनुसार जेन–जीहरू अहिले सामाजिक सञ्जालमा अधिकतम समय बिताइरहेका हुन्छन् । उनको बुझाइ यो पुस्ताले सामाजिक सञ्जाललाई केवल नेटवर्किङका लागि मात्र नभई सूचना संकलन, समाचार, नयाँ ट्रेन्ड र विचार बनाउने माध्यमका रूपमा प्रयोग गरिरहेका छन् । ‘पहिले सामाजिक सञ्जाललाई मुख्यतः मानिसबिच सम्पर्क र नेटवर्क विस्तार गर्ने साधनका रूपमा हेरिन्थ्यो । नयाँ पुस्ताले यसलाई सूचना संकलन गर्ने माध्यमका रूपमा समेत उपयोग गरेको छ,’ उनी भन्छन्, ‘कुनै विषयमा धारणा बनाउनुपर्यो भने टिकटक, इन्स्टाग्राम, युट्युब, फेसबुकमा आएका सामग्री र त्यहाँ आएको सेयर र प्रतिक्रियाका आधारमा विचार निर्माण गरिरहेका छन् । सामाजिक सञ्जाल उनीहरूका लागि पढ्ने किताबजस्तै बनेको छ ।’
उनका अनुसार पहिले पुस्तक पढेर प्राप्त गरिने सूचना अहिले सामाजिक सञ्जालमार्फत प्राप्त हुन थालेको छ । नयाँ पुस्ता सामाजिक सञ्जालमा धेरै समय बिताइरहेका छन् । तर, सामाजिक सञ्जालको प्रयोगसँग चुनौती पनि जोडिएको मनोविद् ज्ञावाली बताउँछन् । उनका अनुसार यहाँ सेन्सर वा तथ्य परीक्षणको प्रभावकारी व्यवस्था नहुँदा गलत सूचना र भ्रामक सामग्री सजिलै फैलिन सक्छ । ‘कसैले आफ्नो निश्चित उद्देश्य राखेर गलत सूचना सेयर गरिरहेको पनि हुन सक्छ,’ उनी भन्छन्, ‘यस्ता सामग्री फिल्टर गर्ने प्रभावकारी संयन्त्र नहुँदा सामाजिक सञ्जालमा आएका सामग्रीले गलत बुझाइ विकास हुन सक्छ । जसले भ्रम सिर्जना गर्न सक्छ ।’
ज्ञवाली सामाजिक सञ्जालको प्रभावलाई मनोवैज्ञानिक दृष्टिकोणबाट पनि हेर्नुपर्ने धारण राख्छन् । उनी यसलाई ‘डिजिटल सुस्वास्थ्य’को सन्दर्भमा चर्चा गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । डिजिटल सुस्वास्थ्य भन्नाले सामाजिक सञ्जाललाई यस्तो तरिकाले प्रयोग गर्नु हो, जसले व्यक्तिको मनोसामाजिक स्वास्थ्यमा नकारात्मक असर नगरोस् ।
विकसित देशमा डिजिटल माध्यम धेरै पहिलेदेखि प्रयोगमा आएको र त्यहाँ डिजिटल साक्षरता पनि बढी भएको उनको बुझाइ छ । तर, नेपालजस्तो विकासोन्मुख देशमा डिजिटल साक्षरता कम रहेको उनले सुनाए । ज्ञवालीका अनुसार नयाँ पुस्ता सामाजिक सञ्जालभित्र गहिरोसँग प्रवेश गरिसकेको छ । ‘त्यसबाट पूर्ण रूपमा बाहिरिन सम्भव छैन । त्यसैले, सामाजिक सञ्जाललाई सन्तुलित ढंगले प्रयोग गर्नुपर्ने आवश्यकता छ,’ उनी भन्छन् ।
युवामा डिजिटल साक्षरता अभाव भए आपराधिक मनोविज्ञान हाबी हुन सक्ने चिन्ता ज्ञवाली औँल्याउँछन् । उनका अनुसार डिजिटल माध्यम युवालाई एकांगी बनाउन प्रयोग भइरहेको हुन सक्छ । त्यसैले, डिजिटल साक्षरतामा सरकारले नै विशेष काम गर्नुपर्छ । उनले विद्यालय तहकै पाठ्यपुस्तकमा डिजिटल लिटरेसी समावेश गर्नुपर्ने आवश्यकता औँल्याए । जेन–जी पुस्ता डिजिटल प्लाटफर्ममा सक्रिय भइरहेको सन्दर्भ उल्लेख गर्दै उनी भन्छन्, ‘राम्रो–नराम्रो छुट्याउन सक्ने क्षमता विकास गर्नुपर्छ । अन्यथा समाजमा कट्टरपन्थी सोच हाबी हुन सक्छ ।’
मानवशास्त्री डा. डम्बर चेम्जोङका अनुसार जेनरेसन ग्यापलाई केवल पुस्ताबिचको दूरीका रूपमा मात्र बुझ्न मिल्दैन । समाज, परिवार र विश्व परिवेश निरन्तर परिवर्तन भइरहेका वेला नयाँ पुस्ताको व्यवहारलाई सतही दृष्टिले मूल्यांकन गर्नु उचित नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘हरेक पुस्ताले आफ्नो अनुभव र मान्यताका आधारमा अर्को पुस्तालाई हेर्ने गर्छ । मानिसले आफ्नै दृष्टिकोण र पूर्वाग्रह लिएर समाजलाई हेर्ने गर्छ ।’
चेम्जोङका अनुसार अहिलेका युवापुस्तालाई एकलकाँटे, व्यक्तिवादी वा सामाजिक सम्बन्धबाट टाढिएको भनेर आलोचना गरिन्छ । तर, उनीहरू समाजलाई फरक ढंगले बुझिरहेका छन् । उनी भन्छन्, ‘उनीहरूको समाज केवल घर, टोल वा गाउँमा सीमित छैन । साथीभाइको सञ्जाल, अनलाइन समुदाय र सामाजिक सञ्जालमार्फत उनीहरूले आफ्नो छुट्टै सामाजिक संसार निर्माण गरिरहेका छन् ।’
परिवारले बुझ्नुपर्छ, जेन–जीको समाज स्क्रिनभित्र पनि छ : डा. डम्बर चेम्जोङ, मानवशास्त्री
समाज हामीले देखेकोभन्दा धेरै टाढा पुगिसकेको छ । जेन–जी विश्वसँग प्रत्यक्ष जोडिएको पुस्ता हो । धेरै अभिभावक अझै पनि आफ्ना छोराछोरी घरमा पाहुना आउँदा बसेर गफ गरून्, परिवारसँग समय बिताऊन् भन्ने चाहना राख्छन् । तर, नयाँ पुस्ताले सिक्ने, बुझ्ने र विचार व्यक्त गर्ने नयाँ माध्यम फेला पारिसकेको छ । उनीहरूसँग आफ्ना कुरा राख्ने र संसारसँग जोडिने क्षमता छ, जुन पुरानो पुस्ताले पाएको थिएन । राज्यले डिजिटल साक्षरता र बालबालिकाको सुरक्षित प्रविधि प्रयोगका विषयमा प्रभावकारी नीति बनाउनुपर्ने आवश्यकता छ । तर, घरभित्रको अनुशासन, संवाद र पारिवारिक सम्बन्ध बलियो बनाउने जिम्मेवारी भने अभिभावककै काँधमा रहन्छ । विद्यालय र शिक्षकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विद्यालय केवल पढाइ हुने ठाउँ होइन, सामाजिकीकरण हुने थलो पनि हो । शिक्षकले दोस्रो अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । बालबालिकाको सामाजिक विकासमा हजुरबुबा–हजुरआमाको भूमिका विशेष हुन्छ । हजुरबुबा–हजुरआमासँग हुर्किएका बालबालिकामा सामाजिक घुलमिल, अनुभव र पुस्तान्तरणको अवसर बढी हुन्छ । तर, पढाउने बाहनामा धेरै जेन–जी हजुरबुबा–हजुरआमासँग बस्न पाएका छैनन् ।